२३ बैशाख २०८१, आईतवार

राप्रपा अधिवेशनः सुदूरपश्चिम प्रदेशको आठ जिल्लामा सम्पन्न



कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुदूरपश्चिम प्रदेशको आठ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ ।

नौ वटा जिल्ला रहेको प्रदेशमा डडेल्धुराबाहेक आठ वटा जिल्लामा वडादेखि जिल्ला अधिवेशन सम्पन्न भएको हो ।

डडेल्धुरामा पार्टीभित्रको आन्तरिक विवादका कारण अधिवेशन हुन नसकेको पार्टीका नेता ललित जोशीले जानकारी दिए ।

उनका अनुसार नौ वटौ जिल्लामा वडा र नगर अधिवेशन भइसकेको छ । डडेल्धुरामा पनि कार्तिक १५ गतेभित्रै जिल्ला अधिवेशन सम्पन्न हुने छ ।

पार्टीको कैलाली जिल्ला अध्यक्षमा होम बहादुर गुरुङ सर्वसम्मत रुपमा चयन भएका हुन । पार्टीका केन्द्रिय अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीको उपस्थितिमा असोज १६ गते भएको अधिवेशनबाट उनी सर्वसम्मत रुपमा चयन भएका हुन ।

यस्तै, राप्रपा कंचनपुर जिल्ला अध्यक्षमा गजेन्द्र बहादुर चन्द, राप्रपा बैतडी जिल्ला अध्यक्षमा इन्द्रदेव शरण भट्ट, राप्रपा दार्चुला जिल्ला अध्यक्षमा वीर सिह बडाल, राप्रपा अछाम जिल्ला अध्यक्षमा मीन बहादुर शाही, राप्रपा बाजुरा जिल्ला अध्यक्षमा जीत बहादुर शाही र राप्रपा बझाङ जिल्ला अध्यक्षमा धिरज विक्रम सिंह चयन भएका छन ।

डडेल्धुरा जिल्ला अधिवेशन लगत्तै प्रदेश अधिवेशन गर्ने तयारीमा पार्टी लागि रहेको जनाइएको छ ।

राप्रपाले सबै तहको अधिवेशन सम्पन्न गरेसंगै कात्तिक २७ गते महाधिवेशन गर्ने तयारी रहेको छ । प्रदेशको केही जिल्लामा अधिवेशन हुन नसकेपछि तय गरिएको महाधिवेशनको मिति प्रभावित हुने देखिएको छ ।

पार्टीले असोज २० गतेभित्र जिल्ला अधिवेशन गरिसक्ने तय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार