१३ बैशाख २०८१, बिहीबार

सम्पादकीय : मंगलमय शुभकामना !




नेपालीहरुको महान धार्मिक सांस्कृतिक चाड वडा दशैं एकपटक फेरि घरआँगनमा आइपुगेको छ ।

गतवर्ष कोरोना महामारीको सन्त्रासमा परेको वडा दशैं यस वर्ष केही त्रासबीच मनाउने तरखर भइरहेको छ । गत वर्ष राम्ररी दशैं मनाउन नपाएकाहरु यस वर्ष धोको पुग्ने गरी मनाउने तयारीमा जुटेका होलान् ।वडादशैं नेपालीहरुका लागि धार्मिक चाड मात्रै होइन, यो सांस्कृतिक–सामाजिक पर्व पनि हो ।

हिन्दू धर्मालवम्बीहरुको विश्वास छ– वडादशैं असत्यमाथि सत्यको विजयको द्योतक हो । आसुरी शक्तिमाथि दैवीशक्तिको विजयको प्रतिक हो । वडादशैं मनाइरहँदा नौ दिनसम्म पराशक्ति अर्थात् आदिशक्ति माता भवानीका नौ रुपको बडो भक्तिभावपूर्वक पुजाआजा हुने गर्दछ ।

यी नौ दिनसम्म हरेक आसुरी शक्तिलाई देवी भगवतिले एकएक गरेर संहार गरेको गाथा स्मरण गरिन्छ । महिषासुर, चण्डमुण्ड, रक्तवीज, लगायतका असरहरुको संहारको रोमाञ्चक कथा स्मरण गरिन्छ । विभिन्न कालखण्डमा विभिन्न रुप धारण गरेर आसुरी शक्तिहरुको नाश गर्दै भक्तजनहरुको रक्षा गरेको गाथा स्मृतिमा आउने गर्दछ । आदिशक्तिप्रतिको अगाध आस्था र विश्वासमा झन् बृद्धि भएको अनुभव हुने गर्दछ ।

समय परिवर्तनसंगै धार्मिक, सांस्कृतिक प्रचलनहरुमा फेरवदल हुन्छ नै । वडा दशैैं, तिहार सहितका कुनै पनि धार्मिक, सांस्कृतिक चाडबाडमा धनसम्पत्तिको प्रदर्शन, अनावश्यक खर्च, आधुनिकताका नाममा विकृत संस्कृतिको आयात, आदि क्रियाकलाप पनि बृद्धि हुने गरेका छन् । हुने र नहुनेबीचको स्पष्ट अन्तर बडादशैं, तिहार लगायतका चाडबाडमा देखिने गर्दछ ।

तर, धनसम्पत्तिको मातमा वा आधुनिकताका नाममा चाडबाडमा जेसुकै विकृत संस्कृति र गतिविधि भित्राए पनि यी चाडपर्वको मुल धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व र पक्ष कहिल्यै कमजोर हुँदैन । किनकि यी चाडपर्व हामी नेपालीहरुको विशिष्ट मौलिक परिचय हो । हाम्रो विशिष्ट उपस्थितिको बलियो प्रमाण हो ।

यी यावत धार्मिक, सांस्कृतिक चाडपर्वले हामी सबै नेपालीहरुलाई एकतावद्ध रहन हरेक क्षण प्रेरित गरिरहेका हुन्छन् । असल मार्गमा लाग्न हरक्षण घच्घच्यारहेका हुन्छन् । सामाजिक सांस्कृतिक सद्भाव र एकताको स्रोत नै हाम्रा यिनै युगौदेखि अक्षुण्ण विश्वासका साथ प्रचलनमा रहेका धार्मिक चाडपर्वहरु नै हुन् । त्यसैले दशैं तिहारका बारेमा विभिन्न कोणबाट टिकाटिप्पणी हँदै आए पनि नेपाली समाजमा यी चाडपर्वप्रतिको आकर्षण तथा विश्वास कहिल्यै पनि रत्तीभर पनि कमी आएको छैन ।

वडादशैं २०७८ को पावन अवसरमा देशभित्र र बाहिर रहेका सबै नेपाली दिदीबहिनी दाजभाईहरुमा मंगलमय शुभकामना । यो पर्वले हामी संसारभरी छरिएर रहेका नेपालीहरुबीच भावनात्मक एकता बनाईराख्न महत्वपूर्ण काम गरिरहेको छ ।

पराशक्ति माता भवानीले जगतको भलाईका लागि हरेक पटक आसुरी शक्तिको बिनास गरेकी छिन् । हामी सम्पूर्ण प्राणी जगतको सिर्जनाको मुल स्रोतका रुपमा रहेकी आदिशक्ति माता भवानीले हामी सबैको मनोकांक्षा पुरा गरुन् । वितेका दुई वर्ष कोरोना महामारीले पुरै मान समाज आक्रान्त् बन्यो । नेपाल र नेपाली पनि यसबाट अछुतो रहेन ।

यस वर्ष हरेक नेपालीले वडो हर्षोल्लासका साथ दशैं मनाइरहेका छन् । सबैका जय होस् । माता भवानीले तपाईहामी सबैको भलो गरुन् । मंगलमय शुभकामना । अनुमोदन राष्ट्रिय दैनिक /अनुमोदन खवर डटकम

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार