५ जेष्ठ २०८१, शनिबार

कैलाली काँग्रेस अधिवेशन : अधिवेशनको मिति तय नहुँदा कार्यकर्तामा निराशा



  • कार्यकर्ताहरू भन्छन्– समय लम्बिँदै जाँदा गुटबाजी झन् मौलायो
  • केही नेताहरू गुटका आधारमा कार्यकर्तालाई विभाजित गर्ने खेलमा


धनगढी / नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ४ का क्षेत्रीय सदस्य हुन्, पुरनसिंह कठायत । भदौं १८ गते काँग्रेसले १४ औं महाधिवेशन अन्तर्गत देशभरी एकै दिन भदौ १८ गते वडा अधिवेशनको मिति तय गरेपछि उनी निकै उत्साहित थिए ।

कैलाली क्षेत्र नम्बर ४ मा हुने वडा अधिवेशनको ब्यग्रतापूर्वक प्रतिक्षामा थिए । तर, उनको उत्साह सेलायो, कारण भदौ १८ गते उनको वडा सहित कैलालीमा वडा अधिवेशनहरू भएनन् ।

नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह ‘मनु’ ले धेरैजसो वडामा यसअघि नै अनौपचारिक रुपमा सर्वसम्मतीमा वडाको नेतृत्व चयन गरिएको भए पनि ढिलो भएकाले वडामा सर्वसम्मतिका साटो चुनावमा धकेल्ने प्रयास भइरहेको आफूले पनि अनुभव गरेको बताए ।

सभापति शाहले भने– यसै पटक क्रियाशिल सदस्यता पाएका नयाँ साथीहरूलाई नगर, जिल्ला, क्षेत्र, प्रदेश कार्यसमितिमा ल्याउछौ भन्दै कतिपयले प्रलोभनमा पारिहेका छन् । यसले गर्दा सर्वसम्मत रुपमा नेतृत्व चयन हुने वडाहरू समेत प्रभावित भएका छन् ।

सभापति शाहले आफूहरूले जिल्लाका सबै वडामा सर्वसम्मत ढंगले नै नेतृत्व चयन गर्ने प्रयास जारी राखेको बताए । उनले भने– कैलालीमा थोरै मात्र वडामा मात्रै चुनाव गर्नुपर्ने अवस्था रहेको छ । धेरै वडामा सर्वसम्मत ढंगले चयन गर्नेगरी साथीहरूले काम गरिराखेका छन् ।

तर, पार्टीभित्रका केही नेताहरूले निहित स्वार्थ पूरा गर्न नया क्रियाशील सदस्यहरूलाई भड्काइरहेका छन् ।

उनले युवाहरूलाई कसैको प्रलोभन र झुटको खेतीमा नपर्न आग्रह गरे । उनले जिल्लाको वडा अधिवेशन सम्भवत कार्तिकको पहिलो सातादेखिनै शुरु गर्ने तयारी भएको बताए ।

उनले भने– अहिलेसम्म वडा अधिवेशनको टुङ्गो लागेको छैन, तर पनि हामीले सम्भवत कार्तिकको पहिलो सातामै गर्ने छौं । यसका लागि साथीहरूसंग छलफल भइरहेको छ ।

जिल्लामा गुटउपगुट अन्त्य गर्ने प्रयास


नेपाली काँग्रेस कैलालीको १४ औं महाधिवेशन नजिकिएसंगै जिल्लामा नयाँ अभ्यास सुरु गरिएको छ ।

केन्द्रको गुट उपगुट वडातहसम्मै देखिन थालेपछि जिल्लाका कुनै पनि तहमा गुटउपगुटलाई बढावा नदिने गरी अभ्यास अघि बढाइएको छ ।

नेपाली काग्रेस कैलालीका सभापति नरनारायण शाह सहित क्षेत्रीय सभापति, प्रदेश निर्वाचन क्षेत्र सभापति, नगर र वडाका सभापति, पार्टीका नेताहरू, भातृ संगठनका नेतृत्व आदि गुटउपगुटको राजनीति अन्त्यका लागि जिल्ला डौडाहमा छन् ।

सोमबार गौरिगंगा वडा नम्बर कार्यसमितिले आयोजना गरेको दशैंतिहार लक्षित शुभकामना आदान–प्रदान कार्यक्रममा सभापति शाह, पार्टी उपसभापति प्रकाश बहादुर बम, क्षेत्रीय सभापति दीनेशराज जोशी लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा पार्टी सभापति शाहले भने– केन्द्रमा रहेको गुटउपगुटको राजनीतिक विभाजन जिल्लामा ल्याउनु हुँदैन । गुटबन्दी र विचारका कुरा महाधिवेशन प्रतिनिधि चयन गर्दा लागु होला, तल्लो तहमा हुनुहुँदैन । त्यसैले हामी अहिले सबै गुटका साथीहरूलाई लिएर कार्यकर्ता भेटघाट कार्यक्रममा लागेका छौं ।

उनले अहिले सो अभियानमा पाँच वटा क्षेत्रीय सभापतिमध्ये चार जना, दशवटा प्रदेश निर्वाचन क्षेत्रीय सभापतिमध्ये आठ, १३ वटा स्थानीय तहका सभापतिहरूमध्ये दश र एक सय २६ वडा सभापतिहरूमध्ये ८२ जना सहभागी रहेको बताए ।

उनले भने– हामी हरेक वडा, नगर र जिल्लामा गुटउपगुट नभई सर्वसम्मत ढंगले योग्य व्यक्तिलाई जिम्मेवारी दिनुपर्छ भनिरहेका छौं । हामीले केन्द्रमा रहेका विभिन्न गुटगउपगुटको राजनीति यहा भित्राउन चाहदैनौ ।

उनले आफू सधैं पार्टीलाई एकतावद्ध र बलियो बनाउन क्रियाशील रहेको बताए ।

कार्यक्रममा उनले आफूमाथि केही अग्रज नेताहरूबाट पार्टीमा गुटबन्दी गरिरहेको आरोप लगाउने गरेको बताए । उनले भने– मैले कहिल्यै पनि पार्टीमा गुटबन्दीलाई प्रश्रय दिइन ।

उनले भने– मेरो बाजे, बुवाको कैलालीमा काँग्रेस पार्टी बलियो बनाउन निकै योगदान रहेको छ । म सबैभन्दा कान्छो उमेरमा जिल्ला सभापति बने । अहिले केही अग्रज नेताहरूले मैले पार्टीलाई फूटतर्फ लगेको भन्ने आरोप लगाएको सुनेको छु । मेरो बाजे, बुवा र मेरो नामलाई कायम गर्न पनि मैले पार्टीको अहित गर्नुहुँदैन, गर्न सक्दिन र गरेको पनि छैन ।

सभापति शाहले पार्टीको महाधिवेशन नजिकिएसंगै पार्टीभित्र गुटउपगुटको नारा लगाई कार्यकर्ता फुटाउने प्रयास भएको बताए । ‘यो वडा बनाउने जिम्मेवारी तपाईहरूको नै हो ।

यहाँ बाहिरिया मानिस आएर तपाईका लागि काम गर्ने होइनन । यदि तपाईहरू बाहिरिया हस्तक्षेप यहाँ निम्त्याउनुहुन्छ वा अरुको कुरा सुनेर काम गर्नुहुन्छ भने यसले संगठनलाई हानी मात्रै पुर्याउँछ’ उनले भने– हजुरहरूको आफनो विवेकले के भन्छ । निर्णय गर्नुहोस । केन्द्रको झगडा यहाँ ल्याउनु हुन्न ।

यसले पार्टीलाई प्रदेश, स्थानीय तह र संघिय निर्वाचनमा असर पुर्याउँछ । हामीले पार्टी बलियो बनाउनु छ र हरेक तहमा पार्टीकै नेतृत्व चाहनुहुन्छ भने गुटउपगुट नभनी सबै तहको सम्मानजन प्रतिनिधित्व संगठनमा ल्याउनुहोस ।’

उनले सबै वर्ग, समुदायलाई संगठनमा ल्याउन सबैलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार