१४ बैशाख २०८१, शुक्रबार

कैलालीमा मानसिक स्वास्थ्य समस्या जटिल



धनगढी / सुदूरपश्चिम प्रदेशको कैलालीमा मानसिक स्वास्थ्य समस्या जटिल बन्दै गएको सरोकारवालाहरुले बताएका छन । जिल्लामा बढ्दै गएको आत्महत्या र कोभिड महामारीपछि मानसिक स्वास्थ्य समस्याका विरामी बढ्दै गएको उनीहरुले बताएका हुन ।

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य कार्यालय कैलाली, टिपियो नेपाल, कोशिस नेपालको संयुक्त आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा प्रस्तुतिकरण गर्दै कैलालीका प्रमुख लालबहादुर धामीले जिल्लामा आर्थिक वर्ष २०७७/७८ मा आत्महत्या गर्नेको संख्या तेब्बर बढी भएको बताए ।

कैलालीमा आर्थिक वर्ष २०७६/७७ मा आत्महत्या गर्नेको संख्या १२२ रहेको थियो भने आर्थिक वर्ष २०७७/७८ मा बढेर तीन सय ५५ पुगेको सो तथ्यांकमा उल्लेख छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको अध्ययन प्रतिवेदन अनुसार सुदूरपश्चिम प्रदेशमा १८ वर्ष मुनिका मानसिक सन्तुलन प्रभावित विरामी नौ दशमलब पाँच प्रतिशत रहेको थियो ।

सो अध्ययन अनुसार देशभरी १० प्रतिशत युवाहरुमा कुनै न कुनै मानसिक स्वास्थ्य समस्या रहेको उल्लेख छ ।

यस्तै, डिप्रेसनबाट प्रभावित तीन प्रतिशत, आत्महत्या गर्ने तयारीमा पुगेका सात दशमलब दुई प्रतिशत, मदिरा सेवनका कारण मानसिक स्वास्थ्य प्रभावित चार दशमलब तीन प्रतिशत र अन्य कारणबाट प्रभावित शुन्य दशमलब दुई प्रतिशत रहेको तथ्यांक छ ।

उमेर अनुसार मानसिक स्वास्थ्य समस्या बढी ४० देखि ४९ उमेर समुहका १३ दशमलब तीन प्रतिशतमा देखिएको छ । लैङ्गिकताका आधारमा पुरुष बढी देखिएको छ । सो तथ्यांक अनुसार १२ दशमलब चार प्रतिशत पुरुषमा मानसिक स्वास्थ्य समस्या देखिएको थियो ।

मानसिक रोग विशेषज्ञ डा. गणेश खडकाले आर्थिक, सामाजिक, सांस्कृतिक, कानुनी अडचन, विपद् लगायतका कारण मानिसमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको बताए ।

उनले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिमा डराउने, राम्रोसंग सुत्न नसक्ने, एकहोरो टोलाउने, एकान्तमा बस्न रुचाउने लगायतका विभिन्न लक्षण देखिने गरेको बताए । उनले भने हाम्रो समाज मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुबाट झन टाढा बस्न चाहन्छन । यसले उनीहरुमा थप स्वास्थ्यमा समस्या बढाउँछ । हामीले विरामीलाई ठिक पार्न अझै पनि धामी झाँक्रीकामा लग्ने प्रचलन कायमै छ ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले प्रदेश सरकारले मानसिक स्वास्थ्य कार्यक्रम लागु गरेको बताए ।

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालयका कर्मचारी, मानसिक स्वास्थ्यमा काम गर्दै आइरहेका संघ/संस्थाका प्रतिनिधी, १३ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, अनमी, अहेव, महिला स्वयमसेविका सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय कैलालीका मीनबहादुर धामीले गरेका थिए । सो अवसरमा पिसवीन नेपालका कार्यकारी प्रतिनिधि हर्कबहादुर ओली, ट्रेस नेपालका पद्मा चन्द, पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशी, कोशिस नेपालका दिवाकर जोशी लगायतकाले मानसिक स्वास्थ्यका बारेमा आफ्ना राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार