५ जेष्ठ २०८१, शनिबार

नेपाली काँग्रेस बाजुरा अधिवेशन : दोस्रो चरणको मतदान सकियो



धनगढी / पहिलो चरणको मतदानमा जिल्ला सभापति पदका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि बाजुरा काँग्रेसको बिहीबार दोस्रो चरणको मतदान भएको छ ।

बिहीबार दिउँसोबाट शुरु भएको दोस्रो चरणको मतदानमा एक हजार एक सय ८२ मत खसेको छ । जिल्ला निर्वाचन समितिका अनुसार पहिलो चरणको मतदानमा एक हजार दुई सय पाँच मत खसेको थियो ।

जिल्ला अधिवेशनका लागि बाजुरामा एक हजार दुई सय १२ मतदाता रहेका छन् । निर्वाचन समितिका अनुसार बिहीबार रातीदेखि नै मतगणना शुरु हुने छ ।

बाजुरा काँग्रेसको सभापतिका लागि वर्तमान सभापति कविराज पण्डित, नेता रामसिंह रावल र युवा नेता चक्रबहादुर शाह उम्मेदवार रहेका थिए । तर, पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन सकेनन् । बुधबार भएको मतदानमा पण्डितले चार सय ८९, रावलले चार सय ७४ र शाहले एक सय ५२ मत प्राप्त गरेका थिए ।

पहिलो चरणको मतदानमा पहिलो र दोस्रो स्थान प्राप्त गरेका पण्डित र रावलबीच दोस्रो चरणमा प्रतिस्पर्धा भइरहेको छ । काँग्रेसको विधान अनुसार जिल्ला सभापति पदका लागि खसेको मतको ५१ प्रतिशत मत ल्याउनै पर्ने हुन्छ ।

पण्डित देउवा पक्षका उम्मेदवार हुन भने रावल पौडेल–कोइराला–सिटौला पक्षका उम्मेदवार हुन् । पहिलो चरणबाट बाहिरिएका अर्का उम्मेदार शाहले आफूलाई मध्यमार्गिका रुपमा प्रस्तुत गरेका थिए ।

नेता शाहले दोस्रो चरणको निर्वाचनमा रावललाई सहयोग र समर्थन गरेका छन् ।

बिहीबार बिहान उनले पत्रकार सम्मेलनमार्फत आफूले नेता रावललाई सहयोग र समर्थन गर्ने घोषणा गरेका थिए । सो अवसरमा उनले भनेका थिए– मैले पुस्तान्तरण र नेतृत्व परिवर्तनका लागि रावलालई सहयोग र समर्थन गरेको छु ।

बुधबार भएको निर्वाचनमा जिल्ला पदाधिकारी तथा सदस्यहरुमा भने मिश्रित परिणाम आएको छ । निर्वाचनमा तीनै जना सभापतिका उम्मेदवारहरु प्यानलसहित मैदानमा उत्रिएका थिए ।

जिल्ला निर्वाचन समितिका अनुसार उपसभापतिमा पदमबहादुर बडुवाल र नारायण पाध्याय विजयी भएका छन् ।

त्यस्तै, सचिवमा तिलक पुरी र भरत बहादुर रोकाया तथा सहसचिवमा कृष्णराज पाध्याय, सुरेन्द्र बहादुर सिंह विजयी भए ।

जिल्ला सदस्यहरुमा कृष्णराज उपाध्याय, धनलाल पाध्याय, प्रेम बहादुर थापा, बल बहादुर थापा, जुद्व बहादुर अयडि, राजेन्द्र खत्री , छत्रबहादुर मल्ल, नृपराज खत्री, गणेशबहादुर थापा, खड्गमल धराला, भिमानन्द पाण्डे, कुम्भनाथ योगी र हिक्मतबहादुर बुढा निर्वाचित भए ।

त्यस्तै, महिला सदस्यमा सुर्जादेवि रावल, कलादेवि बडुवाल, करिष्मा ऐडी, रामु पाण्डे, धर्मा बुढा, पार्वती कुँवर, अप्सरा शाही, दानादेवि उपाध्याय र पद्मा सार्की निर्वाचित भए भने खसआर्यबाट गीताकुमारी गिरी, चन्द्रा देवि बुढा, जयन्तीसिंह हमाल, नर्मा रेग्मी, रमाकुमारी रावल, अन्तिमबहादुर शाहि, अशोककुमार दानी, कपुर अधिकारी, जयन्द्र शाह, देवबहादुर रोकाया र मोहनबहादुर भाट विजयी भए ।

त्यस्तै, जनजातीबाट तनी थापा भोटे, दलितबाट गिता नेपाली, विरभान ल्वार र साइमल ल्वार, अपाङ्गता भएका व्यक्तिबाट कृष्णकुमार गिरी निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार