५ जेष्ठ २०८१, शनिबार

सास्ती भोग्दै घर फर्किने नेपालीहरू



धनगढी / डोटीको बोगटान गाउँपालिकाका धीरेन्द्र बोगटी मंगलबार गौरिफण्टामा भेटिए । उनी भारतको लुधियानाबाट श्रीमती, भाउजु, छोरा, दाजुभाईसंगै घर फर्किने क्रममा उनी निकै सास्ती भोग्दै नेपाल भारत सिमानाका गौरिफन्टामा आइपुगेका थिए ।

उनी भारतमा भाउजुको उपचार गरेर फर्केका हुन ।उनी गौरिफन्टा आइपुगे पनि त्यहाँबाट कसरी घर पुग्ने भन्ने चिन्तामा थिए । उनले भने– हामीसंग घर जानका लागि टिकटको रकम नै छैन ।

धीरेन्द्रका अनुसार उनीहरूलाई एउटा ट्राभल्स एजेन्सीले भारतको लुधियानादेखि डोटीसम्म पुर्याउने आश्वासन दिएको थियो । ‘भारतको लुधियानादेखि डोटीको दीपायलसम्म पुगाउ“छु भनेको थियो । त्यसैले एक जनाको दुई हजार (भारु) (तीन हजार दुई सय नेरु) भाडा तिरे” उनले भने– तर बसले सिमापारी नै ओराल्यो ।

उनले थपे– भाउजुको उपचार गराउन गएको थिए । बचेको पैसा बस भाडामै सकियो । अब यहाबाट कसरी घर पुग्ने होला ?’

धीरेन्द्रहरू आइतबार लुधियानाबाट बस चढेका थिए । उनीहरू मंगलबार बिहानमात्र गौरिफन्टा पुगेका थिए । भारतको लखिमपुर सहितका क्षेत्रमा सोमबारदेखि हिंसात्मक गतिविधिबीच भारतीय प्रशासनले निषेधाज्ञा जारी गरेकोले सवारी साधनको सहज आवागमन अवरुद्ध भएको थियो । उनले भने– यहाँसम्म त जसोतसो पुगियो । अब घरसम्म कसरी जाने ?’

उनकी भाउजु पूर्णादेवीले आफुले चिनेको व्यक्तिको बस भएकोले महंगो भाडा तिरेर भए पनि आएको बताइन् । उनले भनिन्– तर, हामीलाई बीचमै अलपत्र छोडेर गयो । भारतीयहरूबाट ठगिने गरेको त सुनेको थिए, अहिले आफ्नैबाट पनि ठगियौं ।

धीरेन्द्रसंगै घर फर्किएका बोगटान गाउ“पालिकाका गज्जु क्षेत्रीले भने– हामीले सिमानाकामा कुनै समस्या बेहोर्नु नपरोस् भनेर ट्राभल एजेन्सीलाई महंगो भाडा दियौं । तर, आफनो देशसम्म पुग्न निकै सास्ती भोग्यौं ।

गज्जुले लुधियानादेखि गौरिफन्टासम्मको यात्राको अनुभव सुनाए– घरसम्म डेढ दिनमा पुग्छौं भन्ने सोचेका थियौं, तर बाटोमा ठाउठाउ“मा रोकावटका कारण बल्लतल्ल तीनदिनपछि यहा आइपुगयौं । बाटोमा न राम्ररी खाना पाइयो, न आराम गर्न पाइयो ।

उनले यात्राका क्रममा विभिन्न ठाउँमा यात्रा गरिरहेका यात्रुबाट पैसा उठाएर भारतीय प्रहरीलाई बुझाउनुपरेको बताए ।

‘लखिमपुर खिरीको पलियामा किसान आन्दोलन भइरहेको थियो । त्यहाँमात्रै हामी दुई घण्टा जाममा पर्यौं । भारतीय प्रहरीलाई केही रकम दिएर बल्ल गाडी अगाडी बढ्यो” उनले भने– अहिले बसवालाले हामीलाई यही गौरिफन्टामा अलपत्र छोडेर गयो ।
यात्रुहरूले ट्राभल्स एजेन्सीले सो सबैसंग भाडाको रकम लिए पनि टिकट नदिएको बताए । गज्जुले भने– ट्राभल एजेन्सीले हामीलाई टिकट नै दिएन । अब कसरी र कसका विरुद्ध उजुरी गरौ ? हामीले बसलाई बढी भाडा तिरेर पनि भनेको ठाउँमा पुग्न पाएको छैनौ ।

सो बसमा उनीसंगै ८१ जना यात्रु रहेका थिए ।

ट्राभल्स एजेन्सीका प्रतिनिधि शेरबहादुर महराले बाटोमा बढी खर्च भएका कारण सिमानाकामा मात्रै पुगाएको बताए । उनले भने– बाटोमा भारतीय प्रहरी तथा अन्यलाई पैसा दिनु परेकोले बढी खर्च भयो । यो ट्रिपमा मात्रै मैले एक लाख रुपैया नोक्सानी बेहोर्नु प¥यो ।

रोजगारी वा अन्य कामका लागि भारतका विभिन्न शहर जाने तथा फर्किने नेपालीहरूलाई भारतीय बस मालिकहरूबाट लुटिन र ठगिनबाट जोगाउन र सहज यात्रा गर्न पाउन भनेर पछिल्ला केही वर्षयता ट्राभल्स एजेन्सीहरूले भारतका विभिन्न ठाउँदेखि सुदूरपश्चिमका पहाडी जिल्लाहरूसम्म बस सेवा सञ्चालन गरिरहेका छन् ।

तर, अहिले ती ट्राभल एजेन्सीहरूले नै यात्रुहरूबाट महँगो भाडा लिने, बीच बाटोमा अलपत्र पार्ने, गरेको अनुभव यात्रुहरूले गरिरहेका छन् ।

कैलाली प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) विश्व अधिकारीले भारतबाट आउने र जाने ट्राभल्स एजेन्सीहरूमाथि निगरानी बढाइएकोे बताए ।

प्रहरी उपरीक्षक अधिकारीले भने– ट्राभल एजेन्सीहरूका कारण सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट भारत जाने तथा फर्किने यात्रुहरू बीच बाटोमा नै अलपत्र पर्ने गरेको र ठगिने गरेको गुनासो बढिरहेका छन् ।

उनले ट्राभल एजेन्सीका प्रतिनिधिहरूको खोजी गर्दा नभेटिने गरेको बताए । उनले भने– भारत जाने र फर्किने बस सेवा चलाउने ट्राभल्स एजेन्सीहरूको ठूलो जालो रहेको छ । कुन ठाउँमा बसेर टिकट काटिरहेका छन् भनेर खोज्दा पनि भेटिदैनन् । टिकट काट्नेहरूले पनि ठगिएपछिमात्र जानकारी गराउछन् । तर, प्रमाण केही हुँदैन ।

भारत जाने र फर्किने क्रममा ट्राभल्स एजेन्सीबाट मात्रै नभएर अहिले विद्युतीय रिक्सा (अटोरिक्सा) बाट पनि स्वदेश फर्किनेहरू ठगिने क्रम बढेको यात्रुहरूको गुनासो छ ।

सामान्यतया त्रिनगर भन्सारनाकादेखि धनगढी बसपार्कसम्म एक जनाको ३० रुपैयाँ भाडा कायम गरिएको छ । तर, भारतबाट स्वदेश फर्केकाहरूबाट एक सयदेखि एक हजार भारतीय रुपैयाँसम्म भाडा असुल गर्ने गरेको यात्रुहरूको अनुभव छ ।

सिमानाकामा विद्युतीय रिक्सा चालकहरूले स्वदेश फर्किने नेपालीहरूलाई तानातान गर्ने गरेका छन् । रिक्सा चालकहरूले गौरिफन्टाबाट नै यात्रुको सामान बोक्ने र चेकिङमा रहेका भारतीय प्रहरीहरूलाई रकम दिनुपरेका कारण बढी भाडा लिनुपर्ने बाध्यता रहेको दाबी गर्छन् ।

एक जना अटोरिक्सा चालकले भने– हामीले भारतबाट आउने नेपालीहरूको सरसामान पारी (गौरिफन्टा) बाटै बोकेर रिक्सामा हाल्छौं ।

प्रहरीले दुःख नदिउन भनेर उनीहरूलाई रकम दिन्छौं । हामीले अतिरिक्त भाडा लिएका होइनौ । यात्रुको सामान बोकेको र प्रहरीलाई घुस दिएको रकममात्र उनीहरूबाट लिएका हौं ।

अटोरिक्सा र ट्राभल्स एजेन्सीका कारण सिमानाकामा तनाव
सुदूरपश्चिम प्रदेशको भारतसंग जोडिएको गौरिफण्टा नाकामा विद्युतीय रिक्सा र ट्राभल्स एजेन्सीबीच पटकपटक झडप हुने गरेको छ । उनीहरू एकले अर्कामाथि यात्रुहरूलाई दुःख दिएको आरोप लगाउँदै आएका छन् ।

मंगलबार बिहान पनि यस्तै दृश्य दोहोरियो । अटोरिक्सा चालकहरूले आफुहरूले सिमानाका पारि गएर यात्रुहरू बोक्न पाउनुपर्ने माग राख्दै झण्डै एक घण्टा बढी समय सडक जाम गरे ।

सडकजामका क्रमा केही ट्राभल्स एजेन्सीका प्रतिनिधि आइपुगेपछि दुवै पक्षबीच झडप भएको थियो ।

यस्तै सामान बोक्ने मजदुरहरूले पनि विद्युतिय रिक्साचालकहरूलाई आवतजावतमा रोक लगाएका थिए ।

भारतमा ठाउँठाउँमा लुटिदै
‘हामी हिमाञ्चल प्रदेशबाट नेपाल आउनका लागि बसपार्कमा प्रतिक्षा गरिरहेका थियौं’ मंगलबार बिहान गौरिफन्टा आइपुगेका धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का दिपक जोशीले भने– त्यहाँको बसपार्कमा एक्लै भएको मौका पारी भारतीय लुटेराहरूको एक समुहले छुरी तेस्र्याउदै हामीसंग भएको पैसा लगे । कसैलाई खबर गर्यो भने मार्ने धम्की थिए ।

दीपकका अनुसार उनीहरू १९ जनाको समुह घर फर्किरहेका थिए । तीन जना एक्लै भएको मौका छोपेर लुटेरा समुहले खुकुरी देखाउँदै एक लाख ३० हजार भारु लुटेर लगेको उनले बताए ।

असोज १५ गते भारतबाट नेपाल फर्किदै गर्दा उनीहरू लुटिएका थिए ।

दीपकका अनुसार भारतको हिमाञ्चल प्रदेशबाट आएका अन्य दुई जना बस भित्रै लुटिएका थिए । बसमा यात्रा गरिरहेका वेला खल्ति काटेर दुई जनाबाट ६२ हजार भारु चोरेको उनले बताए । ‘हामीसंगै हिमाञ्चलबाट आएका दुई जनालाई बसभित्रै खल्ति काटेर चोरले लुटे’ उनले भने– दशैका लागि खर्च जुटाएर आएका उनीहरू रित्तो हात फर्किन बाध्य भए ।

उनले धेरै नेपालीहरू भारतबाट आउ“दा सावधानी नअपनाउने बताए । एक्लै हिड्ने, बाटोमै मदिरा सेवन गर्ने गरेका कारण पनि धेरै नेपालीहरू लुटिने गरेको उनले बताए ।

त्रिनगर प्रहरी चौकी धनगढीका अनुसार पछिल्लो समय नेपाल आउनेहरू धेरैजसोले आफूहरू लुटिएको ठगिएको गुनासो गर्ने गरेका छन् ।

त्रिनगर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक रमेश शाहीका अनुसार भारतमा लुटपाट भयो भन्दै धेरै नेपालीले गुनासो गर्ने गरेका छन् । भारतमा लुटिएकाको गुनासो आए पनि आफुहरूले केही गर्न नसक्ने अवस्था रहेको उनले बताए ।

दैनिक दुई हजारको हाराहारीमा स्वदेश फर्किदै
सुदूरपश्चिम प्रदेशका दुई प्रमुख सिमानाकाबाट पछिल्ला दिनहरूमा दैनिक झण्डै दुई हजारको हाराहारीमा नेपालीहरू घर फर्किरहेका छन् ।

दशैंतिहार नजिकिएसंगै भारतका विभिन्न स्थानमा रोजगारी गर्ने सुदूरपश्चिमबासीहरू त्रिनगर तथा गड्डाचौकी सिमानाका हुदै फर्किने क्रममा बृद्धि आएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार सोमबार गौरिफण्टा नाकाबाट चार सय ९६ र गड्डाचौकीबाट एक हजार नौ जना गरि एक हजार चार सय २५ जना नेपाल भित्रिएका थिए ।
त्यस्तै, मंगलबार गौरिफण्टा नाकाबाट नौ सय पाँच र गड्डाचौकी नाकाबाट नौ सय ४८ गरि एक हजार आठ सय ५३ जना नेपाली स्वदेश फर्किका छन् ।

कैलालीसंग सीमा जोडिएको भारतीयको उत्तर प्रदेशस्थित लखिमपुर खिरीमा हिंसात्मक घटनाका कारण समस्यामा परेका नेपालीहरू मंगलबारदेखि केही सहज रुपमा घर फर्किरहेका छन् । सोमबार दिनभरी पलियामा जाममा परेका उनीहरू मंगलबार बिहानदेखि गौरिफण्टा नाकाबाट सहज प्रवेश गरिरहेका हुन ।
‘हामी दुई घण्टा आन्दोलनका कारण रोकियौ’ मंगलबार नाकाबाट प्रवेश गरेका गज्जु क्षेत्रीले भने ।

सीमा बजार तिकुनिया नजिक जारी किसान आन्दोलनका क्रममा आठ जनाको मृत्यु भएपछि खक्रौला र गौरीफन्टा हुँदै स्वदेश फर्किने नेपालीहरू समस्यामा परेका थिए ।

विभिन्न क्षेत्रमा किसान आन्दोलित भएर बाटो अवरुद्ध गरेका थिए भने प्रशासनले पनि आवागनमा कडाई गरेको थियो । सोमबार रातीदेखि सडकमा आवतजावत सहज भएपछि मंगलबार गौरिफण्टा नाकाबाट धेरै स्वदेशी नेपालीहरूले प्रवेश गरेको कैलाली प्रहरी प्रमुख विश्व अधिकारीले बताए ।

लखिमपुरमा हिंसात्मक घटना
आइतबार भाारतीय केन्द्रीय गृह राज्यमन्त्री अजय मिश्रको बानवीर गाउँमा धेरै योजनाहरूको शिलान्यास गर्ने कार्यक्रम तय भएको थियो । उत्तरप्रदेशका उपमुख्यमन्त्री केशव प्रसाद मौर्य प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।

उपमुख्यमन्त्री केशव मौर्यको हेलिकोप्टरबाट आउने क्रममा बिहानदेखि किसानहरूले कालोझण्डा बोकेर धर्ना सुरु गरेका थिए ।

सोही समयमा भाजपा कार्यकर्ताहरू पनि पुगेपछि झडप सुरु भएको हो । केन्द्रीय गृह राज्यमन्त्री अजय मिश्राका छोराले कारले च्यापेर चार किसानको हत्या गरेको आरोप छ । अन्य चार जना भाजपा कार्यकर्ताको त्यसपछि हत्या भएको भारतीय संचार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार