१४ बैशाख २०८१, शुक्रबार

चाडबाडको मुखमा अचाक्ली महंगी : उपभोक्ताहरूको गुनासो– विश्वासै गर्न नसकिने गरी मुल्यबृद्धि



तस्बिर : गुगलबाट

धनगढी / दशैंतिहार नजिकिएको बेला धनगढीमा किनमेल गर्नेको ग्राहकहरूको भिडभाड बढेको छ । सामान्य समयभन्दा चाडपर्वको बेला ग्राहक संख्या बढ्नुका साथै बजार भाउ पनि अचाक्ली बढेको छ ।

खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा, खाने तेल, लगायतका दैनिक उपभोग्य वस्तुको बजार भाउ बढेको उपभोक्ताहरूले बताएका छन् । अहिले बजारमा चिनी प्रतिकिलो ९० रुपैया, मसुरोको दाल प्रतिकिलो १४०, मासको दाल प्रतिकिलो १८०, राजमा दाल प्रतिकिलो १९०, अरहर दाल प्रतिकिलो २००, तोरीको तेल प्रतिलिटर २८०, सनफ्लावर तेल प्रतिलिटर २९० रुपैया पुगेको छ ।

केही साता अघिसम्म यी वस्तुको मुल्य १० देखि २० रुपैया कम थियो । लत्ताकपडामा भने पसलैपिच्छे तीन सयदेखि एक हजार रुपैया“सम्म बृद्धि भएको उपभोक्ताहरूले बताएका छन्।

बाणिज्य कार्यालय कैलालीका प्रमुख ललितप्रसाद पन्तले दैनिक उपभोग्य वस्तुहरू (दाल, गेडागुडी, चामल, पिठो, चिनी, मसला, फलफूल लगायत) मा १० देखि २० रुपैया मुल्यबृद्धि भएको भेटिएको बताए । उनले दैनिक बजार अनुगमन गरिरहेको बताउदै तत्काललाई खाद्य पसलको अनुगमन गरिरहेको बताए ।

सोमबार धनगढी चौराहाका आठ वटा पसलमा अनुगमन गर्दा तीन वटा पसलमा मिति सकिएका सामान बरामद गरिएको उनले बताए । उनले हालसम्म पा“च जना व्यवसायीलाई जरिवाना गरी ६० हजार रुपैया“ राजश्व असुल गरिएको बताए ।

धनगढी स्थानीय श्यामराज जोशीले लत्ताकपडा र भाडाकुडाको भाउ समेत अचाक्ली बढेको बताए । उनले अघिल्ला वर्ष १५ सयदेखि दुई हजार रुपैया“मा पाइने जिन्स पाइन्ट यस वर्ष २५ सय रुपैयादेखि तीन हजार रुपैयामा किन्नुपरेको बताए । उनले प्रशासनले नियमित बजार अनुगमन गरे पनि मुल्य नियन्त्रणको काम नगर्दा सर्वसाधारणले महंगोमा परिरहेको बताए ।

उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय उपाध्यक्ष धनपति ढुंगेलले खाद्यान्न, लत्ताकपडा र फलफूलको मुल्य अचाक्ली बढेको बताए । उनले कोभिड १९ का कारण उपभोक्ताको क्रयशक्ति घटेको बेला बजारमा विश्वास गर्न नसकिने किसिमले मुल्यबृद्धि भएको बताए ।

व्यवसायीहरूले सामानको मुल्य बृद्धि गर्नुका साथै खाद्यान्नमा मिसावट र डेट एक्सपायर सामान विक्री गर्ने सम्भावना पनि दशैंतिहारको सामान किनमेल गर्ने भिडाभाडमै बढि हुने गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले मिसावट भएको र उपभोग्य मिति सकिएका सामान अनुगमन टोलीले जफत गरी नष्ट गरिरहेको बताए । उनले दैनिक ५ देखि ७ वटा पसलको अनुगमन गर्दै अनियमित ढंगले पसल सञ्चालन गर्नेलाई जरीवाना समेत गरिरहेको बताए ।

बेखबर छ, उपमहानगरपालिकाको अनुगमन समिति
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (ञ) ले स्थानीय बजार अनुगमन तथा व्यवस्थापनको जिम्मेबारी स्थानीय पालिकालाई दिएको छ । ऐन अनुसार बजार मुल्य नियन्त्रण गर्ने र बजार अगनुमन तथा व्यवस्थापन गर्ने जिम्मेवारी प्रदान गरिएको छ ।

धनगढीमा पछिल्ला दिनहरुमा दैनिक उपभोग्य वस्तुको मूल्य अचाक्ली बढेको छ । तर, धनगढी उपमहानगरपालिकाले अनुगमनमा चासो नै देखाएको छैन ।

धनगढी उमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले अनुगमबारे आफूलाई जानकारी नरहेको बताए । उनले जिल्ला प्रशासन कार्यालयले गर्ने अनुगमनमा उपमहानगरपालिकाले प्रतिनिधि पठाउने गरेको बताए ।

धनगढी उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाका अधिकृत योगेन्द्रबहादुर चन्दले तत्काल आफूले अनुगमनको विषयमा जानकारी दिन नसक्ने बताए ।

उपभोक्ता हित संरक्षण मञ्चका सुदूरपश्चिम प्रदेश सचिव भोजराज जोशीले धनगढी उपमहानगरपालिकाले बजार अनुगमन गरेको विषयमा आफूलाई जानकारी नरहेको बताए ।

उपभोक्ता अधिकार मञ्च कैलालीका अध्यक्ष हरि रेग्मीले बजारमा व्यवसायीहरूले मनोमानी रुपमा मुल्यबृद्धि गरिरहेको दाबी गर्दै सरकारी निकायले प्रभावकारी रुपमा अनुगमन गर्न नसकेको बताए । उनले सरकारी निकायले एकलौटी रुपमा अनुगमन गर्ने गरेको र मुल्य नियन्त्रणमा ध्यान नदिएको आरोप लगाए ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा रहेको बजार अनुगमन समितिमा बाणिज्य कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, कैलाली उद्योग बाणिज्य संघ र उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार