७ बैशाख २०८१, शुक्रबार

जेष्ठ नागरिकको घरमा सांकेतिक चिन्ह



धनगढी / कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर १५ ले वडामा ज्येष्ठ नागरिकहरूका घरमा सांकेतिक चिन्ह राख्ने कार्य शुरु गरेको छ ।

ज्येष्ठ नागरिकहरूका लागि एकीकृत सेवा प्रवाह गर्न सहज बनाउन सांकेतिक चिन्ह राख्ने कार्य शुरु गरिएको वडा कार्यालयले जनाएको छ ।

फाया नेपालको सहकार्यमा तथा राष्ट्रिय मानवअधिकार आयोग र वेहडाबाबा ज्येष्ठ नागरिक समाजको सहयोग एवं वडा नम्बर १५ कार्यालयको आयोजनामा शुक्रबारदेखि सो अभियान शुरु भएको छ ।

३१ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सो अभियान शुरु गरिएको वडाध्यक्ष फूलराम चौधरीले बताए । वडाध्यक्ष फूलरामले ७० वर्षभन्दा माथि उमेर समुहका ज्येष्ठ नागरिकको घरमा सांकेतिक चिन्ह राखिने बताए ।

उनले अधिकांस मानिसले अक्षरभन्दा सांकेतिक चिन्हबाट बढी जानकारी लिनसक्ने भएकाले वडा कार्यालयले सो अभियान शुरु गरेको बताए । शुरुमा हामीले ७० वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकको घरमा रातो चिन्हअंकित झण्डा राख्छौं । त्यसबाट आएको सुधारका आधारमा वडा कार्यालयले अन्य उमेर समुहको पहिचान गरि अन्य सांकेतिक चिन्ह राख्छौं उनले भने ।

वडा अध्यक्ष फूलरामले ६० देखि ६९ उमेर समुहका घरमा हल्का रातो अंकित झण्डा राख्ने, सुत्केरी तथा गर्भवती महिलाका घरमा सिमित अवधी तोकेर हरियो रंगको झण्डा राख्ने योजना रहेको बताए ।

‘विपद जुनसुकै समयमा पनि आउन सक्छ । सो समयमा सबैभन्दा बढी प्रभावित हुने भनेको ज्येष्ठ नागरिकहरू नै हुन । विपदका वेला उनीहरू स्वास्थ्य, सुरक्षित बास तथा अन्य सरकारी सेवाबाट बञ्चित हुने गर्दछन् ’ वडाध्यक्ष फूलरामले भने– हामीले ज्येष्ठ नागरिकलाई घरमै सेवा उपलब्ध गराउन सहज होस भनेर नै सांकेतिक चिन्ह राख्न लागेका हौ ।

नगर प्रमुख वडले भने– हरेक वडामा ज्येष्ठ नागरिक आवास गृह
धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले नगरका हरेक वडामा एक आवास गृह निर्माण गरिने बताएका छन् ।

‘ज्येष्ठ नगारिकहरू अहिले एक्लो बन्दै गएका छन् । बालबच्चाहरू विद्यालय जान्छन् । युवायुवतीहरू रोजगारीमा हुन्छन् ।

घरमा जेष्ठ नागरिकहरूको हेरचाह गर्ने कोही हुँदैनन्’ कार्यक्रममा उनले भने– ज्येष्ठ नागरिकको स्याहार तथा सहायता गर्न हरेक वडामा आवास गृह आवश्यक छ । सोही अनुसार सबै वडामा एउटा जेष्ठ नागरिक आवास गृह बनाउने योजना छ ।

नगर प्रमुख वडले अहिले धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा खाजासहितको आवास गृह सञ्चालनमा रहेको बताए । नगर प्रमुख वडले भने– वडा नम्बर १४ मा प्रदेश स्तरकै आवासगृह सञ्चालनको अन्तिम अवस्थामा पुगेको छ । कोभिड महामारीका कारण आवास गृहका कार्यक्रम प्रभावित भएका छन् ।

राष्ट्रिय मानवअधिकार आयोग, सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख मोहनदेव जोशीले आयोगले ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर कार्यक्रम गरिरहेको बताए । उनले ज्येष्ठ नागरिकले घण्टौंसम्म कुर्नुपर्ने, नागरिकता नहुँदा भत्ता नपाइने, घरभित्रै अवहेलना सहनुपर्ने लगायतका समस्या रहेको बताए ।

उनले भने– ज्येष्ठ नागरिकको बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्न सरकारले विभिन्न ऐन, कानुन र नीति निर्माण गरेको छ । कुनै बहानामा घर निकाला गरे फौजदारी अपराध अन्र्तगत कारबाहीको पनि व्यवस्था गरेको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष लक्ष्मीनारायण चौधरीले पुर्खौदेखिका सीप, कला, परम्परा, संस्कार, संस्कृति लगायतका कुरा हराउ“दै गएको बताए । उनले भने– आजका युवायुवतीले ज्येष्ठ नागरिकसंग कुराकानी र अनुभव लिन छोडिसकेका छन् । यसले गर्दा हाम्रा पुर्खौका सीप, संस्कृति लोप हुँदै गएका छन् ।

उनले युवायुवतिले आफु पनि ज्येष्ठ नागरिक बन्ने हेक्का राखी उनीहरूको सेवा गरेमा ज्येष्ठ नागरिकले सम्मानजनक रुपमा बाँच्ने बताए ।

वडा नम्बर १५ का वडाध्यक्ष फूलरामको अध्यक्षतामा कार्यक्रम भएको थियो । वडा सचिव मेखराज भट्टले स्वागत गरेको कार्यक्रमको सञ्चालन फाया नेपालका पूर्व अध्यक्ष शेरबहादुर बस्नेतले गरेका थिए ।

दिवसको अवसरमा विभिन्न व्यक्तिलाई सम्मान
ज्येष्ठ नागरिक दिवसको अवसरमा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको छ । ज्येष्ठ नागरिकका अधिकारका लागि आवाज उठाउँदै आएका तथा सामाजिक सेवामा क्रियाशिल व्यक्तीहरूलाई सम्मान गरिएको हो ।

बेहडाबाबा ज्येष्ठ नागरिक समाज गठनका लागि पहल गरेका स्वर्गीय गंगाराम रानासहित विभिन्न व्यक्तिलाई दोसल्ला ओढाएर सम्मान गरियो ।
स्वर्गीय गंगारामका आफन्तलाई पाच हजार रुपैयासहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरियो ।

सो अवसरमा नगर प्रमुख वड र वडा नम्बर १६ का अध्यक्ष लक्ष्मीनारायणले ज्येष्ठ नागरिकको हकहितमा योगदान पुर्याउने व्यक्तिहरूका साथै भलमन्साहरूलाई दोसल्ला ओढाएर सम्मान गरे ।

त्यस्तै, राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख जोशीले ७० वर्ष उमेर बढीका ज्येष्ठ नागरिकलाई छडी वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार