४ जेष्ठ २०८१, शुक्रबार

बलात्कृत बालिका न्यायको प्रतिक्षामा



– डीएनए परीक्षण भएन – नवजात शिशुको स्वास्थ्य अवस्था नाजुक बन्दै


धनगढी /
कैलालीकी एक १३ वर्षीय बालिका गत वर्ष माघमा बलात्कृत भइन् । बलात्कृत भए पनि उनले डरका कारण कसैसंग पनि केही पनि भनिन् ।

केही सातापछि उनको पेट दुख्न थाल्यो । अभिभावकले उनलाई उपचारका लागि नजिकैको क्लिनिकमा लगे । चेकजाँचबाट उनको पेटमा गर्भ रहेको पाइयो । अभिभावकले धेरै सोधपुछ गरेपछि बल्ल बालिकाले आफूमाथि छिमेकी कालुरामले जबरजस्ती करणी गरेको खुलासा गरिन् ।

प्रहरीले बालिकामाथि बलात्कार गरेको आरोपमा बिसराम भनिने कालुराम थारुलाई पक्राउ गर्यो ।

कालुराम अहिले कैलाली जिल्ला अदालतको आदेशमा पूर्पक्षका लागि कैलाली कारागारमा बन्दी छन् ।

बलात्कृत बालिकाको छ जनाको परिवार छ । उनका बुबाको सानो काठको व्यवसाय छ । उनका अभिभावकहरू चाड मनाउन बाहिर गएको वेला कालुरामले उनीमाथि बलात्कार गरेको थियो ।

बालिका बलात्कृत भएको नौ महिना पुग्न लागेको छ । बलात्कार सम्बन्धी मुद्दा फागुन ३ गते अदालतमा दायर भएको थियो । पीडित बालिकाको परिवार अदालतको फैसलाको प्रतिक्षामा छ ।

पीडित बालिकाका बुबाले भने– हामीमाथि यत्रो पीडा दिने मान्छे मजासंग कारागारमा बसेको छ । हामीले अदालतमा बयान आदि दिन बारम्बार धाउनु परिराखेको छ ।

बालिकामाथि बलात्कारको मुद्दा अदालतमा दायर भएको आठ महिना भइसक्दा पनि फैसला नभएकोले उनको परिवार निकै खिन्न देखिन्छ । पीडित बालिकाका आफन्तहरू भन्छन्– चार पटक पेसी सरिसकेको छ । कहिले इजलास नै बस्दैन । कहिले वकिलको समय हुँदैन ।


कैलाली जिल्ला अदालतका अनुसार सो मुद्दाको पहिलो पेसी बैशाख ७ गते तोकिएको थियो । सो समयमा अदालतले विशेषज्ञसंग बुझन आदेश दिएको थियो । त्यसयता सो मुद्दाको पेसी तीन पटक सरिसकेको छ ।

गत असार २९ गते तोकिएको मुद्दाको पेसी कानुन व्यवसायी आउन नसक्ने भएपछि स्थगित गरेर साउन २७ गते तोकिएको थियो । तर, सो मितिमा बार इकाईको पत्रका कारण मुद्दाको पेशी फेरि साउन १६ गते तोकिएको थियो ।

त्यो दिन पनि इजलास नबसेका कारण पुनः असोज १९ गते तोकिएको छ । आफन्त शंका गर्छन्– अझै कुनै कारण देखाएर पेसी पो सारिने हो कि ?

पीडितका आफन्तहरू भन्छन्– यदि ऊ (पीडक) दोषी हो भने छिटो कानुन अनुसार सजाय दिनुपर्यो । होइन निर्दोष हो भने छोड्नुपर्यो । यसरी कति दिनसम्म हुन्छ ?

डीएनए परीक्षण भएन
ती बालिकामाथि बलात्कारको आरोपमा पक्राउ परेपछि पीडित परिवारले डिएनए परीक्षणको माग गरे । तर, अहिलेसम्म डीएनए परीक्षण भएको छैन । पीडक पक्षले सहमति नगरेका कारण अहिलेसम्म डीएनए परीक्षण हुन नसकेको बताइन्छ ।

पीडितकी आमाले भनिन्– छोरीले बच्चा पनि जन्माइसकेकी छे । बच्चा र अभियुक्त कालुरामको डीएनए परक्षण गराउनु पर्यो भनेर बारम्बार माग गर्यों, तर कसैले पनि सुन्दैन । उनले शंका व्यक्त गरिन्– कतै यस्तै गरेर अभियुक्तलाई उम्काउने प्रयास त भइरहेको छैन ?

पीडित बालिकाका आफन्तहरूका अनुसार पीडक पक्षले मुद्दा मिलाउनका लागि विभिन्न प्रलोभन दिएका थिए । उनीहरूका अनुसार पीडक पक्षले २० लाख रुपैयासम्म रकम दिने प्रलोभन देखाएर मुद्दा मिलाउन दबाव दिएको थियो ।

नवजात शिशुको स्वास्थ्य अवस्था नाजुक बन्दै
बलात्कृत बालिकाले गत साउन २६ गते धनगढीस्थित एउटा नीजि अस्पतालमा छोरी जन्माएकी थिइन् । उनका आफन्तहरूका अनुसार नवजात शिशुको स्वास्थ्य दिनप्रतिदिन बिग्रिदै गएको छ ।

आफन्तले भने– जन्मिदा शिशुको तौल तीन किलो थियो । अहिले घटेर साढे दुई किलोमा झरेकोे छ । आमाको राम्ररी दूध आउदैन । बाहिरबाट किनेर दूध खुवाउने आर्थिक अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार