२३ बैशाख २०८१, आईतवार

सुत्केरीको मृत्यु घटना : अस्पताल प्रहरी सुरक्षा घेरामा



धनगढी / धनगढीस्थित नवजीवन अस्पतालमा उपचारका क्रममा सुत्केरी महिलाको मृत्यु भएको घटनापछि अस्पताललाई प्रहरीको सुरक्षाको घेरामा राखिएको छ ।

मृतकका आफन्तले चिकित्सको लापरवाहीका कारण सुत्केरीको मृत्यु भएको आरोप सहित बिरोध गरिरहेका छन् । अस्पताल प्रशासनले सो घटनामा चिकित्सकहरूको कुनै लापरबाही नरहेको भन्दै आइतबार स्पष्टीकरण दिइसकेको छ ।

अहिले नवजीवन अस्पताललाई प्रहरीको कडा सुरक्षामा राखिएको छ । अस्पतालमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको कैलाली प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) विश्व अधिकारीले जानकारी दिए । अस्पतालले अहिले अतिआवश्यक सेवा मात्रै संचालन गरिरहेको छ । सुत्केरी कल्पनाको मृत्यु भएको तीन दिनसम्म पनि आफन्तले अस्पतालबाट शव उठाएका छैनन ।

यस्तै, सो घटनामा मृत्यु भएकी कल्पना मल्लको न्यायको माग गर्दै प्रर्दशन गरिएको छ । सुदूरपश्चिमाञ्चल एकेडेमीका विद्यार्थीहरूले मुख्यमन्त्री कार्यालय अगाडि प्रर्दशन गरेका हुन् । नवजीवन अस्पताल तथा डाक्टरहरूको लापरबाहीले कल्पनाको अकालमा ज्यान गएको विद्यार्थीहरूको आरोप छ ।

‘कल्पनालाई न्याय दे’ ‘अस्पताल प्रशासन मुर्दाबाद’, ‘मेडिकल माफिया मुर्दावाद’ लगायतका नारासहित उनीहरूले ३० मिनेटसम्म सडकमा चक्काजाम समेत गरेका थिए ।

यसैबीच, मंगलबार अपराह्न नवजीवन अस्पताल प्रशासन र मृतकका आफन्तबीच सहमति जुटेको छ । अस्पतालले क्षतिपूर्ति दिने, शिशुको भरणपोषण गर्ने र मृतकको नाममा प्रतिष्ठान स्थापना गर्न सहमत भएपछि शव उठाइएको मृतक कल्पनाका देवर दीपेन्द्र मल्लले बताए ।

‘उहाँहरूले हाम्रो माग पुरा गर्छौ भनेपछि शव उठाएर अन्त्येष्टिका लागि धनगढीको बडहरामा ल्याइएको छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार