२३ बैशाख २०८१, आईतवार

यसकारण मुख्यमन्त्री भट्ट झोलुंगे तरेर महाकाली पारीको नेपाली बस्तीमा पुगे (फोटो फिचर सहित)



महेन्द्रनगर / शनिबार सुदूरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट दोधार–चाँदनीको झोलुंगे तरेर महाकाली पारीको नेपाली बस्तीमा पुगे ।

सामाजिक सञ्जालमा पुलमा हिडेको विषयलाई लिएर आलोचना भएको भए पनि मुख्यमन्त्रीले स्थानीयबासीका वीचमा भनेका थिए झोलुंगे पुलको अवस्था कस्तो छ भनेर बुझ्नका लागि म हिँडेर आए ।

अरु भन्दा चलाख (चाँडो ) हिँडेका मुख्यमन्त्रीले झण्डै ३० मिनेटमा डेढ किलोमिटर लामो पुलको यात्रा पूरा गरेका थिए । फर्किदा समेत उनले सोही पुलको यात्रा रोजेका थिए ।

पुलमा प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीलाई हिँड्न कठिनाइ भएको थियो । चौधरी तराईमा जन्मेकोले पनि झोलुंगे पुलको यात्रा गर्न कठिनाइ भएको अनुमान यात्रामा सहभागीहरुले गरिरहेका थिए ।

राज्यमन्त्री मानबहादुर सुनार, सुदूरपश्चिम प्रदेशका मुख्य न्यायधिवक्ता कुलानन्द उपाध्याय र संविधान सभाका सदस्य हरि श्रीपाइलीले पनि सहजरुपमा झोलुंगे पुलको यात्रा गरेका थिए ।

राज्यमन्त्री सुनारले भारतीय बाटो हुँदै गाडीमै दोधारा –चाँदनी जाउँ भन्ने पटकपटकको प्रस्ताव मुख्यमन्त्री भट्टले अस्वीकार गरेका थिए ।

भारतीय अनुमतिको झंझट
मुख्यमन्त्रीले झोलुंगे पुलको यात्रा गर्नुको अर्को कारण भारतको बाटोबाट आफ्नो भूमिमा आउदा भोग्नु पर्ने झंझट पनि हो ।

भारतीय सडकबाट महाकाली पारी जानका लागि उनले संघीय सरकारको परराष्ट्र मन्त्रालय मार्फत भारतको अनुमति लिनु पर्ने झंझट व्यहोर्नु पर्ने थियो ।

संघ र प्रदेश सरकारका मन्त्रीहरुले सुरक्षा लगायतका कारण नेपाल सरकारलाई भारत जान थालेको जानकारी गराउनुका साथै नेपालको परराष्ट्र मन्त्रालय मार्फत भारतको अनुमति लिनुपर्छ । यस्तो अनुमति कहिले मौखिकले पनि चल्छ, कहिले लिखितरुपमै अनुमति लिनुपर्छ ।

आफू पुल तरेर गए पनि दोधारा – चाँदनीका बस्ती घुम्नका उनले भारतीय सडक घुमाएर आफ्ना गाडी मगाएका थिए । दोधारा–चाँदनी जानका लागि भारतको नियन्त्रणमा रहेको वनवासा पुल तारेर गाडी लैजानुपर्छ ।

नेपालले महाकालीमा बनाउन थालेको चार लेनको पुलको बालुवा बगेपछि नेपालीले कि झोलुंगे तरेर त कि वनबासाको पुल भएर दोधारा –चाँदनी जानुपर्छ ।

महाकालीमा चार लेनको पुल बनाउने काममा संलग्न मजदूरहरु बालुवा बगेको भागको नदी पार गर्ने क्रममा ।

के गरे मुख्यमन्त्रीले महाकाली पारी
जनताका समस्या बुझ्न पहिलो पटक महाकाली नदी पारीको दोधारा–चाँदनी नगरपालिकाका बस्ती पुगेका मुख्यमन्त्रीले महाकाली पुलमा निर्माणधिन रहेको चार लेनको पक्की पुल, सुख्खा बन्दरगाह बन्ने क्षेत्र, सुन्दरनगरमा प्रदेश सरकारले निर्माण गर्ने पक्कीपुल, महाकालीमा रहेको झोलुङ्गेपुल, मुख्यमन्त्री नमुना कृषि कार्यक्रम , शसत्र प्रहरीको विओपी लगायतका क्षेत्रको निरिक्षण गरे ।

उनले सीमामा विवाद भइरहने कुतियाकबर र अन्य क्षेत्रका सीमाको समेत निरीक्षण गरे । सो अवसरमा दोधारा–चाँदनी नगरपालिकाका प्रमुख वीरबहादुर सुनार लगायतले सो क्षेत्रका समस्या राखेका थिए ।

दोधारा चाँदनीमा वडा नम्बर १ देखि १० सम्म रहेको नदी कटानको समस्या समाधानका लागि विशेष योजना ल्याउन आग्रह गरेको नगर प्रमुख सुनारले बताए ।

उनले भने , ‘हामी नदी कटानको ठुलो समस्यामा छौ, एकातिर महाकाली नदी छ भने अर्कातिर जोगबुढा नदी छ, ती क्षेत्रमा तटबन्धका लागि आग्रह गरेका छौ, मुख्यमन्त्रीज्युले छिट्टै यसको समाधान गर्ने आश्वासन दिनुभएको छ ।’ उनले थपे , ‘जाईकाले महाकालीमा बनाएको बाँध जीर्ण भइसकेको छ, हामी खतरामा रहेका छौ ।’

यसैवीच अनुगमनका क्रममा मुख्यमन्त्री भट्टले महाकालीमा निर्माण भईरहेको चारलेनको पक्की पुललाई समयमै सक्न निमार्ण कम्पनी पिके कन्सट्रक्सनका सञ्चालक पिके श्रेष्ठलाई निर्देशन दिदै कुनै समस्या भए आफूले समाधानका लागि पहल गर्ने बताए ।

मुख्यमत्री भट्टले प्रदेश सरकार अन्र्तगतका योजनाको निरिक्षण गर्दे ती योजनालाई पूर्णता दिन लागिपरेको बताएका थिए । उनले भने, हामी स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार मिलेर दोधारा चाँदनी क्षेत्रलाई सम्बृद्ध बनाउँछौ । ‘प्रदेश सरकारले उत्पादनमुखी कार्यमा लगानी बृद्धि गरेको छ, उत्पादनमुखी कार्यक्रमहरु यस वर्ष अझ बढी दिन्छौ ’ उनको भनाइ छ ।

सो क्रममा सोनाहा समुदाय र मुक्त हलियाले समेत मुख्यमन्त्री भट्टलाई भेटेका थिए । सोनाहा समुदायले भेटका क्रममा आफ्नो जातिको सूचिकरणका लागि पहल गरिदिन माग गरेका थिए भने मुक्त हलियाले अझै आफूहरुको पुर्नस्थापना नभएको गुनासो गरेका थिए । उनीहरुले आफूहरुको पक्की घर निर्माण गरिदिन प्रदेश सरकारसंग माग गरेका थिए ।

मुख्यमन्त्रीलाई विद्यालय भवन निर्माण, सडकको मुआव्जा सम्वन्धी दर्जन बढी ज्ञापन पत्र बुझाइएको थियो । उनले महाकाली वारी भीमदत्त नगरपालिकामा रहेको नीजि क्षेत्रबाट सञ्चालित मुख्यमन्त्री कृषि कार्यक्रम अन्तरगतकै ड्रागन खेतीको पनि अवलोकन गरेका थिए ।

मुख्यमन्त्रीले झोलुंगे पुल, महाकाली किनार, विभिन्न ठाउँका स्थानीयसंग रमाउदै फोटो खिचाउन तयार भएका थिए ।

अनुगमनमा मुख्यमन्त्री भट्टको टोलीमा सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरी, राज्यमन्त्री मानबहादुर सुनार, सुदूरपश्चिम प्रदेशका मुख्य न्यायधिवक्ता कुलानन्द उपाध्याय र संविधान सभाका सदस्य हरि श्रीपाइली लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार