१२ बैशाख २०८१, बुधबार

प्रदेश सरकारले आफ्नै विश्वविद्यालय चलाउँछ : मन्त्री खड्का



धनगढी / सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले प्रदेश सरकारले आफ्नै विश्वविद्यालय सञ्चालन गर्ने तयारी गरिरहेको जनाएका छन् ।

४२ औं सामाजिक सेवा दिवसको अवसरमा शुक्रबार धनगढीमा आयोजित अन्तरक्रियामा मन्त्री खड्काले उच्च शिक्षा सुधारका लागि कार्य दल नै गठन गरेर काम अगाडि बढाएको जनाएका हुन् । उनले सो कार्य दलले प्रदेश सरकारको मातहत रहने गरी छुट्टै विश्वविद्यालय सञ्चालनको लागि समेत अध्ययन गरिरहेको बताए ।

उनले विश्वविद्यालयबाट कृषिलाई मुल प्राथमिकतामा राखेर प्राविधिक शिक्षा समेत दिने बताए । उनले प्राविधिक शिक्षा लिएर बेरोजगार रहेका युवाको संख्या समेत बढिरहेको बताउँदै प्राविधिक शिक्षा सहित व्यवसायिकता समेत सिकाइने बताए ।

‘प्राविधिक शिक्षासंगै व्यवसायिकता समेत सिकेकाले स्वरोजगार गर्न सक्छन्,’ मन्त्री खड्काले भने, ‘प्राविधिक शिक्षासंगै व्यवसायिकता समेत सिकेका युवालाई स्वरोजगारका लागि उनीहरुको सर्टिफिकेटको आधारमा विना धितो सहुलिय ऋण दिने व्यवस्था गरिरहेको छ ।

न्युन व्याजमा ऋण दिने व्यवस्था गर्न लघुवित्त कम्पनीसंग प्रदेश सरकारले सम्झौता गरेको छ । ’मन्त्री खड्काले मध्यम वर्गीय मानिसहरुकै बालबालिकाहरु दुव्र्यसनीमा परिरहेको बताउँदै त्यस्ता क्रियाकलाप रोक्न समेत सामाजिक क्षेत्रको भूमिका अहम रहने बताए ।

उनले प्रहरीले हालसम्म लागुऔषध प्रयोगकर्तालाई पक्राउ नगरेको र ओसारपसारमा संलग्नलाई मात्रै पक्राउ गरेको बताउँदै लागुऔषध प्रयोगकर्तालाई पक्राउ गर्न राख्ने ठाउँ नपुग्ने बताए ।

उनले अझै पनि कम उमेरमा बच्चा जन्माउने किशोरीको संख्या बढिरहेको बताउँदै त्यस्ता क्षेत्रमा समेत सामाजिक क्षेत्रमा काम गर्ने संघसंस्थाले ध्यान दिनुपर्ने बताए । कम उमेरमा बच्चा जन्माउँदा कुपोषणको समस्या निम्त्याइरहेको बताउँदै उनले पोषणको क्षेत्रमा समेत काम गर्नुपर्ने देखिएको बताए ।

उनले देशमा रोजगारको अवसरहरु पर्याप्त नहुँदा रोजगारका लागि भारत जाने क्रम नरोकिएको बताउँदै प्रदेश सरकारले सोको लागि समेत अध्ययन गरिरहेको बताए ।

‘हामीले रोजगारीको लागि भारत जानेहरुको तथ्यांक राख्ने व्यवस्था गर्न लागेका छौं,’ मन्त्री खड्काले भने, ‘त्यसको लागि सामाजिक क्षेत्रलाई अध्ययनको जिम्मेवारी दिएका छौं । कम्तिाको को कहा गयो, के का लागि गयो, कति महिनाका लागि गयो भन्ने तथ्यांक व्यवस्थित गर्ने व्यवस्था गर्छौ ।’ सुदूरपश्चिमबाट बैदेशिक रोजगारमा जानेहरु मध्ये ९० प्रतिशत मानिसहरु भारत जाने गरेको समता नेपालको एक अध्ययनले देखाएको छ ।

गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेश, अन्तराष्ट्रिय गैरसरकारी संस्था संघ सुदूरपश्चिम प्रदेश लगायतले आयोजना गरेको ‘हानीकार सांस्कृतिक अध्यासको अन्त्य र दीगो विकास लक्ष्यमा सामाजिक क्षेत्रको योगदान’ विषयक अन्तरक्रियामा गैसस महासंघकी केन्द्रिय सदस्य तथा दलित महिला अधिकार मञ्चकी अध्यक्ष सावित्रा घिमिरेले हानीकार सांस्कृतिक अध्यास अन्त्य गर्न सामाजिक क्षेत्रले गरेका भूमिका, चूनौति र सरोकारवालाहरुको अब गर्नु पर्ने भूमिकाको विषयमा प्रस्तुती गरेकी थिइन् भने अन्तराष्ट्रिय गैरसरकारी संस्था महासंघको तर्फबाट विनय बरालले राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले कोभिड १९ नियन्त्रण तथा व्यवस्थापनमा गरेको भूमिकाको विषयमा प्रस्तुती गरेका थिए ।

गैसस महासंघका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम ईञ्चार्ज भवराज रेग्मीको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा विभिन्न गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले सुझाव राखेका थिए । कार्यक्रम सञ्चालन गैसस महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष देवी खनालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार