४ जेष्ठ २०८१, शुक्रबार

सडक बिग्रेको एक वर्ष पुग्दा पनि मर्मत भएन



धनगढी / डडेल्धुराका स्थानीय भीमबहादुर साउद सामान ढुवानी गर्न धनगढी–डडेल्धुरा–धनगढी आउजाउ गरिरहन्छन् । सो सडकखण्डमा यात्रा गरिरहदा उनलाई कति वेला कहाँ दुर्घटनामा परिने हो भन्ने भय लागिरहन्छ । ठाउँठाउँमा भत्किएका र भासिएका सडकखण्ड, कतिपय स्थानमा माटोको घेरबार, कतिपय ठाउँमा सडक भासिएका कारण एकतर्फी रुपमा मात्रै आवागमन चलाउनु पर्ने अवस्थाका कारण उनी सधैं सो सडकमा यात्रा गर्दा भयग्रस्त हुने गरेका छन् ।

धनगढी–डडेल्धुरा मार्गको गोदावरीदेखि माथि तीन किलोमिटर सडकखण्ड ठाउठाउमा भासिएको छ । गत वर्ष (२०७७ साल) साउनमा आएको भारी वर्षाका कारण सो सडकखण्डको तीन किलोमिटरको दुरीसम्म ठाउठाउमा सडक भा“सिएको थियो । त्यस्तै, सहजपुर–फल्टुडेसम्मको खण्डका विभिन्न स्थानमा पर्खालसमेत भत्किएका छन्।

सडक बिग्रेको एक वर्ष बढी भइसक्दा पनि मर्मतसम्भार हुनसकेको छैन । भीमबहादुरले भने– सो मार्गका तीन ठाउँ मा एकतर्फी रुपमा सवारी साधन चल्ने गरेको छ । त्यहा“ सवारी साधन चलाउँदा निकै डर लाग्छ ।

एक वर्षअघिको भारी वर्षाका कारण बिग्रेको सो सडक खण्ड यस वर्षको वर्षाका कारण झन् क्षतीग्रस्त भएको छ । यस वर्षको वर्षाले सो सडक खण्डका अरु स्थानमा पनि सडक भासिएका छन् । उनले भने– अरु ठाउँमा पनि सडक भा“सिएका छन् । सडक भास्सिएका स्थानमा माटोले घेरेर सुरक्षित बनाउने प्रयास गरिएको छ ।

धनगढी–डडेल्धुरा सडक सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्लाहरू जोड्ने मुख्य मार्ग हो । दिनरात यात्रुबाहक बस, मालबाहक ट्रक, जीप, मोटरकार, मोटरसाइकल चल्ने सो सडकमा दशैंतिहार नजिकिदै गर्दा सवारी साधनहरूको संख्या बृद्धि भइरहेको छ । दशैंतिहार लगायतका चाडपर्व शुरु हुदै गर्दा भारतका विभिन्न स्थानबाट नेपालीहरू घर फर्किने क्रममा बृद्धि हुने गरेको छ । त्यस्तै, पढाई, रोजगारी, व्यापारव्यवसायका लागि जिल्ला बाहिर गएकाहरू पनि दशैंतिहारमा घर फर्किने गरेका छन्।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख बामदेव गौतमले पछिल्ला केही महिनायता सवारी दुर्घटनाका घटनामा बृद्धि नभए पनि चाडबाडमा सवारी साधनको संख्या बढ्ने भएकाले सतर्क हुनुपर्ने बताउछन्।

प्रदेश ट्राफिक प्रहरी प्रमुख गौतमले दुर्घटना न्यूनिकरणका लागि बढि जोखिम क्षेत्रमा ट्राफिक चिन्ह राख्ने, क्षमताभन्दा बढी यात्रु बोक्नबाट नियन्त्रण गर्ने, ट्राफिक सचेतना कार्यक्रमहरू अघि बढाउने तयारी भइरहेको जानकारी दिए ।

उनले भने– हामीले आफैं सडक बनाउन सक्दैनौ । सडक बनाउने तथा मर्मत सम्भार गर्ने जिम्मेवारी सडक डिभिजन कार्यालयको हो । हामी सडक दुर्घटना न्यूनिकरण गर्न हरसम्भव प्रयास गरिरहेका छौं ।

उनले सडक डिभिजन कार्यालयले दुर्घटनाको बढी जोखिम हुने सडकखण्डहरूलाई लक्षित समयमै मर्मतसम्भार गर्नुपर्ने बताए । उनले भने– सडक डिभिजन कार्यालयलाई पनि तत्कालै बिग्रेभत्केका सडकहरू एकैचोटी पूर्ण रुपमा मर्मत सम्भार गर्न गाह्रो होला, तर चाडपर्वमा सवारी साधनको चापलाई ध्यानमा राखेर अल्पकालिन रुपमा व्यवस्थापन चाही गर्नैपर्दछ ।

सडक डिभिजन कार्यालय, महेन्द्रनगरका अनुसार कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ र चुरे गाउँपालिकाको वडा नम्बर ३ का विभिन्न स्थानमा भारी वर्षाका कारण धेरै स्थानमा सडक बिग्रेका छन्।

सडक डिभिजन कार्यालयले बिग्रेका सडकखण्डमा आवागमन सुरक्षित बनाउने प्रयास गरिरहेको जनाएको छ । चुरे गाउ“पालिका वडा नम्बर ३ का वडाध्यक्ष टेकबहादुर शाहले ‘बिग्रेका सडकखण्डहरूको तत्काल मर्मत सम्भार कार्य हुन नसकेपछि अहिले एकचोटी एउटा सवारी साधनलाई चलाउने गरी माटो भरेर सडक सञ्चालनमा ल्याइएको बताए ।

उनले सो सडकखण्डका ठाउँ–ठाउँमा चिरा परेको, खाल्डाखुल्डी भएको बताए । वडाध्यक्ष शाहले प्रदेशका पहाडी क्षेत्रमा पूर्वाधार विकास कार्यहरू बृद्धि भएकोले धनगढी–डडेल्धुरा मार्गमा ठूला सवारी साधनको चाप पनि बढ्दै गएको बताए ।

२०४९ सालमा निर्माण गरिएको धनगढी–डडेल्धुरा मार्गमा मालबाहक ट्रकहरूको संख्या पनि निकै बढेकोले बिगे्रका सडकखण्ड झनै जीर्ण बन्दै गएको उनी बताउँछन् । उनले भने– भौगोलिक रुपमै चुरे कमजोर क्षेत्र हो । यहाँ सामान्य वर्षा हुँदा पनि पहिरोको जोखिम हुने गरेको छ ।

सडक डिभिजन कार्यालय, महेन्द्रनगरका प्रमुख नरेन्द्र भट्टले भाँसिएको र पहिरोले क्षति पुर्याएको सडक छिट्टै मर्मत सम्भार गरिने बताए । उनले भने– गोदावरीदेखि फल्टुडेसम्मको सडक मर्मतका लागि पाँच करोड रुपैयाँ बढीको बजेट विनियोजन गरिएको छ । हामीले टेण्डर आह्वान समेत गरिसकेका छौं । दशैपछि ठेक्का सम्झौता र तिहारपछि मर्मतको कार्य अघि बढाउने तयारी गरेका छौं ।

उनले गोदावरीदेखि तीन किलोमिटर माथिसम्म भाँसिएको सडक मर्मतका लागि डेढ करोड रुपैया बजेट विनियोजन गरिएको बताए ।
सडक डिभिजन कार्यालयले गत वर्ष नै सो सडकखण्ड मर्मतका लागि सरकारसंग बजेट माग गरेको थियो । संघीय सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ मा सो सडकका लागि बजेट विनियोजन गरेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार