२३ बैशाख २०८१, आईतवार

नेपाली १४ औं महाधिवेशन : बाजुरामा बुधबार वडा अधिवेशन, कैलालीमा अझै अनिश्चित



धनगढी / क्रियाशील सदस्यता विवादका कारण रोकिएको नेपाली काँग्रेस बाजुरामा बुधबार वडा अधिवेशन हुँदैछ ।

काँग्रेसले पछिल्लो पटक भदौ १८ गते देशभरी वडा अधिवेशनको मिति तोके पनि क्रियाशील सदस्यताको चर्को विवादका कारण ५६ जिल्लाको मात्र वडा अधिवेशन भएको थियो । सुदूरपश्चिम प्रदेशमा भदौ १८ गते कञ्चनपुर, डोटी, अछाम र बझाङमा मात्र वडा अधिवेशन भएको थियो ।

क्रियाशील सदस्ययताको टुंगो लागेको भए पनि बैतडी र दार्चुलामा वर्षा र बाढीपहिरोका कारण तीन दिनपछि वडा अधिवेशन भएका थिए ।
त्यस्तै, क्रियाशील सदस्यताको चर्को विवादबीच डडेल्धुरामा भदौ २५ गते अधिकांस वडामा अधिवेशन गरिएका थिए ।

डडेल्धुरामा जिल्ला पार्टी सभापति सहितको जिल्ला कार्यसमिति । वडा समितिहरूले क्रियाशील सदस्यता टुंगो नलागेसम्म अधिवेशन स्थगित गर्ने निर्णय गरे पनि अर्को पक्षले अधिवेशन गरेको थियो ।

पछिल्लो पटक बाजुरा र कैलालीको क्रियाशील सदस्यताको विवाद टुंगो लागेको भनिए पनि कैलालीको अझैं सार्वजनिक गरिएको छैन ।
बाजुरामा मंगलबार गर्ने भनिएको वडा अधिवेशन आवश्यक तयारीका लागि समय अभाव भएकोले बुधबार गर्ने जिल्ला समितिले निर्णय गरेको थियो ।

नेपाली काँग्रेस बाजुराका अनुसार वडा अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । सबै वडाहरूमा मतदान अधिकृतहरू खटाइएको छ । बाजुरामा आज नै सबै ६९ वडामा अधिवेशन गरिने बाजुरा काँग्रेसले जनाएको छ ।

बाजुरामा अधिवेशनका लागि खटिएका केन्द्रीय प्रतिनिधि सन्तोष भण्डारीका अनुसार जिल्लाभरी ६९ जना मतदान अधिकृत र ६९ जना सहायक मतदान अधिकृत खटाइएको छ ।

उनका अनुसार सबै नौ वटा पालिकाका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी १८ जना खटाइएको छ । त्यस्तै, प्रदेश निर्वाचन क्षेत्र (क) मा तीन र प्रदेश निर्वाचन क्षेत्र (ख) मा तीन जना निर्वाचन अधिकृत खटाइएको छ ।

बाजुरामा असोज ९ गते गाउँ तथा नगरपालिका अधिवेशन हुने छ भने असोज १२ गते प्रदेश निर्वाचन क्षेत्र अधिवेशन तथा असोज १६ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन हुने जनाइएको छ ।

नेपाली काँग्रेसको विधान अनुसार वडा अधिवेशन पार्टी संरचनाको सबैभन्दा पहिलो र बलियो जग हो । वडा समिति तथा क्षेत्रीय प्रतिनिधिहरूको चयन क्रियाशील सदस्यहरूको मतदानबाट हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार