२२ बैशाख २०८१, शनिबार

सङ्घीय गणतन्त्र आएपछि विकासको गति बढेको छ– सभामुख थापा



धनगढी / सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र लागू भएपछि नेपालमा विकासको गति बढेको बताएका छन् ।

सभामुख थापाले गणतन्त्रपछि नै रोजगारीका अवसरहरु पनि निकै सिर्जना भएको दाबी गरे । धनगढी उपमहानगरपालिका वडा नम्बर १९ फूलवारीमा सोमबार आयोजित “सभामुख र सांसदसंग जनताको प्रत्यक्ष कार्यक्रम” मा सभामुख थापाले संघीय गणतन्त्र आउनु अघि र आएपछि विकासको अवस्थाको तुलना गर्न पनि आग्रह गरे ।

उनले भने– केही कमीकमजोरी भएका छन् भने सच्चाउन सकिन्छ, तर सानातिना कुरालाई आधार बनाएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र नै गलत हो भन्नु उचित हुदैन ।

ससभामुख थापाले जनताले चुनावपछि पनि आफ्ना जनप्रतिनिधिहरुलाई घच्घच्याइरहनु पर्ने बताए । उनले भने– जनता आफूले पहल नगर्ने, तर यो भएन, ऊ भएन भनेर मात्रै गुनासो गर्नु उचित हुदैन ।

संवाद कार्यक्रममा सहभागीहरुले उठाएका सवालबारे सभामुख थापाले भने– विकास निर्माणको काम गर्दा कुनै उपभोक्ता समितिका पदाधिकारीहरुले घुस दिएर काम गराए भनेर योजनाबाट रकम असुल्न खोज्छ भने त्यस्तालाई फेरि उपभोक्ता समितिमा आउनन दिने वातावरण बनाउनुपर्छ ।

उनले सुदूरपश्चिम प्रदेशको राजधानी नमुना र पर्यटकीय हिसावले सुन्दर बनाउनु पर्ने बताए । सहभागीहरुले “तीन वर्षअघि प्रदेश सभाले प्रदेशको राजधानी गोदावरी तेघरीमा राख्ने प्रस्ताव पारित गरेको भए पनि अझसम्म पनि किन पूर्वाधार निर्माणको काम अघि नबढाइएको ? भन्ने सवालमा उनले भने– यसमा प्रदेश सरकार नै बढी तात्नु पर्ने हो ।

कार्यक्रममा स्थानीय रमेश बस्नेत, राधाकुमारी चौधरी लगायतले प्रदेश सभाले बनाउने ऐन/कानुन विद्यालय तथा क्याम्पसको भौतिक पूर्वाधार, जनशक्ति, सीमा समस्या, पुलपुलेसा, तटबन्धन कार्यक्रम आदि बारे जिज्ञासा राखेका थिए ।

सो अवसरमा प्रदेश सभा सदस्यद्वय नेपालु चौधरी र सुशीला बुढाथोकीले जनगुनासाको जनताले उठाएका सवालहरुको जवाफ दिदै आफूहरुले प्रदेश सभा, प्रदेश सभाका समितिहरु र सरकारसंग गरेका समन्वयबारे जानकारी दिएका थिए ।

त्यस्तै, धनगढी वडा नम्बर १९ का वडा अध्यक्ष तिलुराम चौधरीले पनि सहभागीहरुले उठाएका सवालको जवाफ दिएका थिए ।

कार्यक्रम संयुक्त राष्ट्र सङघीय विकास कार्यक्रमको संसद सहयोग परियोजनाको सहयोगमा आइटलाइन मिडिया काठमाडौले आयोजना गरेको थियो ।

कार्यक्रमको आउटलाइन मिडियाका निर्देशक सरोज दाहालले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार