२३ बैशाख २०८१, आईतवार

नेपाली काँग्रेस महाधिवेशन : कैलालीको वडा अधिवेशन अझैं अनिश्चित



धनगढी / क्रियाशील सदस्यता सोमबार साँझसम्म पनि सार्वजनिक नभएपछि नेपाली काँग्रेस कैलालीको वडा अधिवेशन दोस्रो पटक पनि अनिश्चित बनेको छ ।

क्रियाशील सदस्यता छानबनिसम्बन्धी काँग्रेस केन्द्रीय टोलीले कैलाली लगायतका केही जिल्लाको क्रियाशिल सदस्यताको आइतबार नै टुंगो लगाएको बताए पनि सोमबारसम्म पनि सार्वजनिक भएको छैन ।

काँग्रेसले दोस्रो पटक असोज ५ गते वडा अधिवेशनहरू गर्ने समयतालिका बनाएको थियो । यसअघि भदौं १८ गतेदेखि २५ गतेसम्म ५६ जिल्लामा वडा अधिवेशन भइसकेका छन्् । डडेल्धुरा जिल्लामा वडा अधिवेशन भए पनि विवादित छ ।

क्रियाशिल सदस्यतासम्बन्धी विवादका कारण कैलाली भदौ १८ गते वडा अधिवेशन हुनसकेन । अहिलेसम्म क्रियाशिल सदस्यताको विवरण आएको छैन’ कैलाली का“ग्रेसका सचिव पूर्ण कुँवरले भने– त्यसैले असोज ५ गतेदेखि वडा अधिवेशन सम्भव भएन । अब केन्द्रले के निर्णय गर्छ । सोही अनुसार अघि बढ्छौं । अहिलेसम्म अधिवेशनको मिति अनिश्चित जस्तै छ ।

कैलालीमा सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा काँग्रेसका सबैभन्दा बढी क्रियाशील सदस्य रहेका छन्। जिल्लाबाट सबै प्रक्रिया पुराएर नविकरण र नयाँ गरी १८ हजार एक सय ३४ जना सदस्यको नामावली पठाइएको थियो ।

क्रियाशील सदस्यता छानबिन समितिले कैलाली क्षेत्र नम्बर १ को टीकापुर नगरपालिकाको वडा नम्बर १ का नयाँ ५७६ जनाको सदस्यता समावेश गरेको छैन ।

क्रियाशिल सदस्यता विवाद समाधान समितिले कैलाली जिल्लाको विवादका सम्बन्धमा निर्णय गरेको छ । कैलाली जिल्ला क्षेत्र नम्बर १ को टीकापुर नगरपालिका वडा नम्बर १ मा भने १३ औं महाधिवेशनमा सहभागी भएका क्रियाशील सदस्यहरूले मात्र १४ औ महाधिवेशनमा भाग लिन पाउने भएका छन्।

समितिले गरेको निर्णय अनुसार धनुषा जिल्लाका लागि भएको निर्णय कार्यान्वयन गर्न केन्द्रीय सदस्यद्वय आन्नद ढुंगाना र जीवन परियारलाई जिम्मा दिइएको छ ।

त्यस्तै, केन्द्रीय सदस्य परियार र योगेन्द्र चौधरीले कैलाली जिल्लाको विवाद समाधान गर्ने जिम्मेवारी पनि पाएका छन् ।

कैलालीमा १२६ वडा छन्् । जिल्ला सचिव कुँवरले केन्द्रिय कमिटिले क्रियाशिल सदस्यता सम्बन्धी विवाद समाधान गरिसकेको बताए पनि नामावली उपलब्ध नगराउदा अधिवेशन केही दिनलाई अनिश्चित बनेको बताए ।

काँग्रेस केन्द्रिय समितिले केही दिनअघि जारी गरेको विज्ञप्ती अनुसार विवादित जिल्लामा असोज ५ गतेदेखि वडा अधिवेशन, असोज ९ गते नगर/गाउँ सभा, असोज १२ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन र असोज १५ गतेदेखि प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।

क्रियाशिल सदस्य विवरण नआउँदा समयमै अधिवेशन शुरु गर्न नसकेको बाजुरा जिल्लामा पनि असोज ५ गते देखि वडा अधिवेशन नहुने जनाइएको छ ।

केन्द्रिय कार्यसमितिले मंगलबारदेखि नै अधिवेशन शुरु हुने बताए पनि बाजुरा जिल्लाका लागि खटिएको काँग्रेसको जिल्ला निर्वाचन समितिले असोज ६ गतेदेखि वडा अधिवेशन शुरु गर्ने जनाएको छ ।

निर्वाचन समितिले अन्य अधिवेशन भने केन्द्रिय समितिकै निर्णय अनुसार गर्ने निर्णय गरेको बाजुरा सभापति कविराज पण्डितले बताए । केन्द्रिय कार्यसमितिले असोज ५ गते भनेपनि दुर्गम क्षेत्र भएकाले सबै कुरालाई ध्यानमा राखेर हामीले छ गतेदेखि अधिवेशन गर्ने निर्णय गरेका छौं’ सभापति पण्डितले भने ।

एक संसदीय निर्वाचन क्षेत्र रहेको बाजुरामा ६९ वडाहरू रहेका छन् । सो जिल्लामा साढे छ हजार बढी क्रियाशिल सदस्य रहेका छन् ।
नौ वटा जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा चार वटा जिल्लाको अधिवेशन तोकिएकै समय भदौ १८ गतेदेखि शुरु भएको थियो । क्रियाशिल सदस्यको टुङ्गो लागेको बैतडी र दार्चुलामा भदौ २२ गतेदेखि अधिवेशन शुरु भएको थियो ।

सबैभन्दा विवादित बनेको डडेल्धुरामा भदौ २५ गतेदेखि वडा अधिवेशन भएको थियो ।

मंगलबार देशभरीका सात जिल्लामा वडा अधिवेशन– केन्द्रिय निर्वाचन समिति
नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये आज (मंगलबार) छ जिल्लामा अधिवेशन हुँदैछ । मंगलबार सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौ, कपिलवस्तु, बर्दिया र मोरङमा वडा अधिवेशन हुने बताइएको छ ।

काँग्रेस केन्द्रीय कार्यालयले २० जिल्लाको वडा अधिवेशन आज (असोज ५ गते) एकै दिन हुने गरी कार्यतालिका निर्धारण गरेको थियो । बाँकी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण समयमै समितिलाई प्राप्त हुन नसकेका कारण ती जिल्लामा भने वडा अधिवेशन निर्धारित समयमा नहुने देखिएको हो ।

१४ औं महाधिवेशनका लागि नविकरण र नयाँ गरेर नौ लाख बढी क्रियाशील सदस्य रहेका छन्। क्रियाशील सदस्य नै वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधिहरू चयन गर्छन् ।

क्षेत्रीय प्रतिनिधिबाट नै प्रदेश तथा संघीय क्षेत्रीय समिति, प्रदेश तथा महाधिवेशन प्रतिनिधिहरूको चयन हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार