७ बैशाख २०८१, शुक्रबार

बाढी/पहिरो पीडितलाई तत्काल राहत दिन्छौ : मुख्यमन्त्री




धनगढी / सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले दार्चुलाको दुहुका बाढी/पहिरो पीडितका लागि तत्काल राहत र दीर्घकालका लागि समाधान खोज्न लाग्ने बताएका छन् ।

शनिबार बाढी/पहिरो पीडितको पुनस्थापनाको माग राख्दै दिइएको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री भट्टले तत्काल मृतकका परिवारलाई सहज तरिकाले राहत दिन लगाउने, घरबार विहिनलाई अस्थायी बसोबासका लागि आवश्यक सामाग्री सहयोग गर्ने बताए ।
उनले भने, बस्ती स्थानान्तरणका लागि जग्गा दिने अधिकार प्रदेश सरकारसँग नरहेकोले संघ सरकारसित समन्वय गरेर अघि बढ्ने समेत बताए ।
मुख्यमन्त्री भट्टले राहत वितरणमा देखिएका बाधा, अड्चन फुकाउन तत्कालै मन्त्री परिषदको बैठक बसेर आवश्यक निर्णय गर्ने बताए ।
बाढी/ पहिरोले घर भत्केकालाई अर्को घर बनाउन १५ हजार कम हुने भएकोले सो रकम पनि बढाउने गरेर गृहकार्य भइरहेको उनको भनाइ थियो ।
सो अवसरमा नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेशका सहचन्चार्ज लक्ष्मणदत्त जोशी, प्रदेश सभाका उपसभामुख निर्मला जोशी, प्रदेश सभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति कुमारी नन्दा वम, जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करवीर कार्की र दुगु गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्की लगायतले मुख्यमन्त्रीलाई बाढी/पहिरो पीडितका समस्या र समाधानका उपाय सुझाएका थिए ।

सार्वजनिक लेखा समितिका सभापति वमको घर समेत क्षति भएको थियो । सभापति वमको घर दुहु गाउँपालिका १ दल्यामा पर्छ । वडा नम्बर १ मा दुई जनाको ज्यान गएको थियो ।

गत भदौ १३ गते दुहु गाउँपालिकाका विभिन्न ठाउँमा आएको बाढी/पहिरोमा परेर पाँच जनाको ज्यान गएको थियो । बाढी/पहिरोले ६४ परिवार पूर्णरुपमा विस्थापित भएका, ९५ घर उच्च जोखिममा र ११५ घरमा आंशिक क्षति भएको दुहु गाउँपालकाको तथ्यांकमा उल्लेख छ ।

यस्तै गरेर पाँच माइक्रो हाइड्रो, छ झोलुंगे पुल, एउटा मोटरेवल पुल पूर्णरुपमा क्षति भएको अध्यक्ष कार्कीले बताए । यस्तै गरेर तीन किलोमिटर सडक, दर्जन बढी खानेपानी आयोजना, कुलो, सामुदायिक र विद्यालय भवनमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार