१२ बैशाख २०८१, बुधबार

संसद खुलाउन सत्तापक्षले भूमिका खेल्नुपर्छ : एमाले उपाध्यक्ष रावल




मंगलसैन / नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले संसदको अवरोध खुलाउन सत्तापक्षले कुनै पहल नगरेको आरोप लगाएका छन् ।

वर्तमान सरकार तथा सात्ता साझेदारहरु संसदको अवरोध समाधान गर्नतर्फ भन्दा पनि पेलेरै अघि बढ्न खोजेको भन्दै नेता रावलले उचित समाधानका लागि सरकारको नेतृत्वकर्ताले कुनै पहल नगरेको उनले बताए ।

प्रेस चौतारी अछामले सदरमुकाम मंगलसैनमा गरेको पत्रकाल सम्मेलन कार्यक्रममा एमाले नेता रावलले नेपालको संविधान जारी भएयता नै देशमा स्थिरता हुन नसकेको भन्दै नेपाली जनताले निर्वाचित गरेको प्रतिनिधिको सार्वभौम थलो संसद भएको र यसले आफ्नो उपयोगितालाई सिद्ध गर्नुपर्ने बताए ।

प्रेस चौतारी अछामका अध्यक्ष टेकराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेता रावलले जनताप्रतिको उदासिनताकै कारण अहिले बजेट खर्च नपाउने अवस्था सिर्जना भएको बताए ।

नेपालको ईतिहासमै यो पहिलो पटक समस्या आएको भन्दै यस्तो हुँदा समेत सरकारको नेतृत्व गरिरहेकाहरुलाई कुनै चिन्ता नरहेको दाबी गरे । दुई महिना बितिसक्दा समेत मन्त्रीमण्डलले पूर्णता नपाउनु अर्को बिडम्बना भएको उनको भनाई छ ।

राजनीतिक दल विभाजित हुन नहुने भन्दै भएका नेता रावलले नेपालको संविधान जारी गर्दा निकै मेहनतका साथ राजनीतिक दल विभाजनका लागि केन्द्रीय कमिटी र संसदमा ४० प्रतिशत हुनुपर्ने व्यवस्था गरिएको स्मरण गरे ।

दुबैमध्ये कुनै एउटामा ४० प्रतिशत भए हुने अध्यादेश ल्याउँदा निकै विरोध गर्ने वर्तमान सत्ता साझेदार दलले अहिले कुनै एउटामा मात्रै २० प्रतिशत भए पार्टी विभाजन गर्न सकिने अध्यादेश ल्याएको भन्दै उनले त्यस्तो कामको निन्दा गरे ।

देशको स्वाधीनता तथा अखण्डता संकटमा परेको बेला वर्तमान सरकार चुपचाप बसेको नेता रावलको आरोप छ । “नेपालीलाई तुईन काटेर नदीमा फालियो, अनधिकृत रुपमा नेपाली आकाशमाथी हेलिकप्टर उडाईयो, एमसीसी पास गर्न दबाद दिँदै नेताको दैलो चहारियो तर यसका बिरुद्ध कुनै ठोस कार्य भएन” नेता रावलले थपे –“लिपुलेक लिम्पियाधुरा, कालापानीलाई सरकारले यो समस्या हो भन्यो ।” उनले यसबारे भारतसंग वार्ता गरी भूमि फिर्ता ल्याउन सुझाए ।

पार्टी विभाजनपछि पहिलोपटक गृहजिल्ला अछाम पुगेका नेता रावलले आफूलाई पार्टी एकताको जिम्मा दिई कार्यदल बनाएपछि निकै मेहनताका साथ १० बुँदे सहमति बनाईएको र यसकै आधारमा अघि बढ्नुपर्नेमा पार्टी विभाजन गरिएको बताए ।

एमाले र एमालेबाट अलग हुनेले पार्टी विभाजनको नमिठो स्वाद चाखिसकेकाले विभाजनले पार्टी, देश र जनता कसैको हीत नहुने उनले बताए । आफूले कामका आधारमा, विषय र प्रसंगका आधारमा बोल्ने गरेको भन्दै आफ्नो चिन्ता पार्टीको हीत र देशको भलाई नै रहेको दाबी गरे ।

एमाले २०७५ जेठ २ मा फर्किने कुरालाई पार्टीले निर्णय गरी यसको कार्यान्वयन भैसकेको अवस्थामा अब ढुलमुल हुने अवस्था नरहेको नेता रावलको भनाई छ । पार्टी विधान अनुसार आफू पार्टीको उपाध्यक्ष र सुदूपश्चिम संयोजक रहेको उनले बताए ।

पार्टी अध्यक्ष केपीशर्मा ओलीसंग पनि त्यही कुरा कुरा भएको र सुदूरपश्चिममा समस्या भएको अवस्थामा आफू सहित लेखराज भट्ट र कर्ण थापाको टोलीले सहजीकरण गर्ने निर्देशन आएको रावलको भनाई छ । सबै नेता कार्यकर्ताको प्रयासले एमाले पुरानै अवस्थामा आउने रावलको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार