१५ बैशाख २०८१, शनिबार

पौडेल पक्षद्वारा डडेल्धुरा वडा अधिवेशन अस्वीकार



धनगढी / नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले डडेल्धुरामा गत २५ गते भएको भनिएको वडा अधिवेशन अस्वीकार गरेको छ ।

वरिष्ठ नेता पौडेल पक्षका नेताहरुको सोमबार काठमाडौंमा बसेको बैठकले डडेल्धुरा पार्टी सभापति, वडा सभापतिहरु सहितका बहुमत पक्षको अनुपस्थितिमा राज्यसत्ता तथा शक्तिको दुरुपयोग गरेर वडा अधिवेशन गरिएकोले स्वीकार गर्न नसकिने ठहर गरेको जनाइएको छ ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले पार्टीको संस्थापन पक्षले प्रहरी प्रशासनको दूरुपयोग जबरजस्ती गरिएको वडा अधिवेशन अमान्य भएको बताए ।

डडेल्धुरामा प्रक्रियागत रुपमा जिल्लाबाट पठाइएका क्रियाशील सदस्यताको नामावलीबाट केन्द्रीय छानबिन समितिले करिब पांच सय जनाको नाम हटाएको र प्रक्रिया नपुगेका तीन सय बढीको नाम थप गरिएपछि विवाद चर्किएको थियो ।

डडेल्धुरा पार्टी सभापति कर्ण मल्ल सहित बहुमत पदाधिकारी, सदस्य र अधिकांस वडा र पालिका सभापतिहरुले क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान नभएसम्म वडा अधिवेशन स्थगित गर्ने निर्णय गरे पनि निर्वाचन अधिकृत सहित अर्को पक्षले २५ गते वडा अधिवेशन गरेको थियो ।

पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेल समूहले सभापति शेरबहादुर देउवालाई भेटेरै सदस्यता सम्बन्धी विवाद समाधान नभएसम्म वडा अधिवेशन रोक्न अनुरोध गरेको बताए ।

पौडेल पक्षबाट जारी विज्ञप्तीमा “भदौ २५ गते डडेल्धुरामा गरिएको वडा अधिवेशन एकतर्फी रुपमा धाधली र बलमिच्याईपूर्वक गरिएकोेले पुनः गरिनुपर्ने” उल्लेख छ ।

पौडेल समुहले डडेल्धुरामा भएको स्वेच्छाचारी प्रवृत्तिको पुनरावृत्ति २० जिल्लामा पनि हुनसक्ने भन्दै पार्टी नेतृत्वलाई खबरदारी गरेको छ ।
देशका ५६ जिल्लामा अहिलेसम्म वडा अधिवेशन भइसकेका छन् ।

डडेल्धुरा जिल्लामा वडा अधिवेशन विवादित छ । बाकी २० जिल्लामा अझैं वडा अधिवेशन भएका छैनन् । पटक पटक मिति परिवर्तन गर्दै बाकी २० जिल्लामा असोज पाच गते वडा अधिवेशनको मिति तय गरिएको छ भने भदौ २७ गते हुने भनिएको पालिका तह अधिवेशन असोज नौ गतेका लागि तय गरिएको छ ।

पौडेल पक्षले डडेल्धुरामा २५ गते भएको भनिएको वडा अधिवेशनहरुलाई मान्यता नदिन केन्द्रीय निर्वाचन समितिलाई पनि आग्रह गरिसकेको जनाएको छ ।

“जिल्लाबाट प्रक्रिया र विधि पुराएर केन्द्रमा सिफारिस गरिएका क्रियाशील सदस्यतामा केन्द्रबाट व्यापक हेरफेर गरिएको छ” बरिष्ठ नेता पौडेलले पत्रकार सम्मेलनमा भने– यस्तो क्रियाकलाप लोकतान्त्रिक पार्टी कांग्रेसमा हुनु गम्भीर हो । उनले सभापति देउवाले राज्यसत्ता तथा शक्तिको दुरुपयोग गरेर एकलौटी ढंगले वडा अधिवेशन गरेकाले स्वीकार्य नहुने बताए ।

उनले भने– डडेल्धुरामा जिल्ला कार्यसमिति र वडा सभापतिहरुको सहमति विपरित वडा अधिवेशन गरिएको छ । राज्यशक्ति, प्रहरी प्रशासनको चरम दुरुपयोग भएको छ ।

डडेल्धुराको घटनाले कांग्रेस महाधिवशेन निष्पक्ष र पारदर्शी हुन्छ भन्नेमा नै आशंका उब्जिएको छ । उनले सिंगो जिल्ला कार्यसमितिलाई बाहिर राखेर र पार्टी जिल्ला सभापति लगायतले भाग नलिए पनि वडा अधिवशेनको नाटक मञ्चन गरिएको टिप्पणी गरे ।

“वडा अधिवेशनको नाटक मञ्चन गरियो, यो घोर आपत्तिजनक छ” उनले भने– यसले सिंगो महाधिवेशन स्वच्छ र निष्पक्ष हुन्छ भन्नेमा गम्भीर आशंका पैदा भएको छ ।

पत्रकार सम्मेलन अघि सोमबार नै पौडेल पक्षका शिर्ष नेताहरुको बैठक बसेको थियो । बैठकमा बरिष्ठ नेता पौडेल, महामन्त्री डाक्टर शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु प्रकाशमान सिंह, रामशरण महत, अर्जुन नरसिंह केसी, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद वडु, कमला पन्त, शेखर कोइराला, गुरुराज घिमिरे, गगन थापा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार