२० बैशाख २०८१, बिहीबार

अछामका सबै वडामा काँग्रेसमा सर्वसम्मत



खुला सदस्यको मात्र निर्वाचन भएकोमा तुर्माखाँद गाउँपालिका-४ मा गाउँपालिका उपाध्यक्ष अमृता बुढा वडामै पराजित

नेपाली काँग्रेस ढकारी गाउँपालिका–२ हिच्माको वडा अधिवेशनका क्रममा चयन भएका पदाधिकारी र प्रतिनिधि । तस्बिर सौजन्यः टंकप्रसाद रिमाल

अछाम / नेपाली काँग्रेसले दश स्थानीय तहका ९१ वटै वडामा सहमतिबाट नयाँ कार्यसमिति चयन गरेको छ ।

१४ औं महाधिवेशनका क्रममा सबै वडा सभापति र प्रतिनिधि सहमतिकै आधारमा छनौट गरिएको नेपाली काँग्रेस अछामका सहसचिव तथा प्रवक्ता वेदप्रकाश तिमिल्सैनाले जानकारी दिए ।

तुर्माखाँद गाउँपालिकाका–४ मा खुला सदस्य प्रतिनिधि छनौट बाहेकका सबै वडामा सर्वसम्मत प्रतिनिधि छनौट गरिएको बताइएको छ । कमलबजार नगर र ढकारी गाउँ सभापतिमा सहमतिका आधारमा नेतृत्व चयन गरिएको छ ।

कमलबजार नगर सभापतिमा पदमबहादुर भण्डारी र ढकारी गाउँ सभापतिमा गाउँपालिका अध्यक्ष धनबहादुर बुढा सर्वसम्मत चयन भएको प्रवक्ता तिमिल्सेनाको भनाइ छ ।

अन्य स्थानीय तह, प्रदेश र जिल्ला कार्यसमितिको अधिवेशनमा सहमति गर्ने बताइएको छ । सहमतिका आधारमा प्रतिनिधि छनौट गरिएपनि जिल्ला कार्यसमिति सदस्य पूर्णबहादुर रावल प्रतिनिधि आउनबाट रोकिएका छन् ।

खुला सदस्यको मात्र निर्वाचन भएकोमा तुर्माखाँद गाउँपालिकामा उपाध्यक्ष अमृता बुढा वडामै पराजित भइन । यस्तै पूर्वसांसद अक्कलबहादुर विष्ट खुलामा आउने अवस्था नभएपछि आरक्षणबाट प्रतिनिधि चयन भए ।

वडा समिति र प्रतिनिधिमा छनौट भएकामा अधिकाँश युवापंक्ति रहेको बताइएको छ । “पछिल्लो समय यूवाहरुको जवरजस्त उपस्थिति रहेको छ भने प्रतिनिधिमा ५० प्रतिशत भन्दा बढी यूवा छनौट भएको” प्रवक्ता तिमिल्सेनाको भनाइ छ ।

सहमतिका आधारमा पुराना र यूवाको मिश्रित कार्यसमिति बनाउँदै जाने काँग्रेस अछामको योजना रहेको छ । मंगलसेन नगरपालिका–११ बान्नातोलीमा २२ वर्षीया युवती सर्वसम्मत वडा सभापतिमा चयन भएकी छन् ।

९१ वटै वडामा सौहार्द र शान्तिपूर्ण रुपमा वडा अधिवेशन सम्पन्न भएको भन्दै काँग्रेस अछामका सभापति भरतकुमार स्वाँरले धन्यवाद दिँदै अगामी दिनमा समेत सर्वसम्मत नेतृत्व चयनका लाग्न आग्रह गरे ।

एक वडाबाट कम्तिमा १६ जना प्रतिनिधि छनौट भएका व्यक्तिले अछामका दश स्थानीय तह, चार प्रदेशस्तर, दुई निर्वाचन क्षेत्र र एक जिल्ला कार्यसमितिको नेतृत्व छनौट गर्ने छ ।

अछाममा जिल्ला कार्यसमिति निर्वाचनका क्रममा लगभग १५ सय जना प्रतिनिधि सहभागी हुने आँकलन गरिएको छ । नेपाली काँग्रेस अछाममा ११ हजार बढी क्रियाशील सदस्यता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार