२० बैशाख २०८१, बिहीबार

गोदावरीमा पूर्वाधारको काम अघि बढाउ– नेकपा (एस) / माओवादी केन्द्र



मुख्यमन्त्रीले भने– जग्गा भोगाधिकार प्राप्त भएपछि काम अघि बढ्छ

धनगढी / सुदूरपश्चिम प्रदेशका सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा (एककिृत समाजवादी) ले गोदावरी, तेघरीमा प्रदेश राजधानी बनाउन भौतिक पूर्वाधार निर्माण लगायतका कार्य अघि बढाउन माग गरेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको व्यापक विरोधबीच प्रदेश सभाले २०७५ साल असोज १२ गते कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ र ४ को तेघरी वन क्षेत्रमा प्रदेशको राजधानी तोक्ने प्रस्ताव पारित गरेको थियो ।

तेघरीमा राजधानी घोषणा भएको तीन वर्षसम्म पनि पूर्वाधार निर्माणका कुनै पनि काम भने अघि बढाइएको छैन । अहिले सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र र सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले बिहीबार गोदावरीमा भौतिक संरचना निर्माण लगायतका कामहरू अघि बढाउन ज्ञापनपत्र बुझाएका छन ।

दुवै दलका प्रतिनिधिहरूले प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीलाई ज्ञापनपत्र बुझाउँदै प्रदेश राजधानी घोषणा भएको क्षेत्रमा नै यथाशिघ्र आवश्यक काम अघि बढाउन माग गरे ।

नेकपा (एकीकृत समाजवादी) का जिल्ला सदस्य खम्म बुढा र माओवादी केन्द्रका जिल्ला सदस्य तथा गोदावरी नगर संयोजक धर्मसिह कुँवरले बुझाएको ज्ञापनपत्रमा अत्तरिया बसर्पाकलाई प्रदेशस्तरीय बसपार्क बनाएर स्तरोन्नती तथा कालोपत्रेको काम अघि बढाउन पनि माग गरिएको छ ।

त्यस्तै, गोदावरी विकास बोर्ड गठन गर्न र गोदावरी नगरपालिका वडा नम्बर ६ को बिजौरादेखि बडैया जाने सडकलाई स्थानीयको भावनाअनुुसार निर्माण गर्न समेत माग गरिएको छ ।

सो अवसरमा मुख्यमन्त्री भट्टले जग्गाको भोगाधिकार प्राप्त नभएका कारण प्रदेश राजधानीमा भौतिक संरचना निर्माण लगायतका काम गर्न नसकिएको बताए ।

मुख्यमन्त्री भट्टले जग्गाको भोगाधिकारका लागि पठाएको प्रस्ताव तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले सात महिनादेखि थन्काएको बताए । उनले भने– जग्गा प्राप्त हुने बित्तिकै भौतिक संरचना निर्माणको काम अघि बढाइने छ ।

उनले राजधानी निर्माणका लागि डीपीआर निर्माणको काम भने चाडै अघि बढाइने बताए ।

प्रदेश सरकारले राजधानी पूर्वाधार विकास समिति गठन गरिसकेको छ । तर जग्गा प्राप्ती नभएकै कारण काम अगाडी बढाउन नसकिएको पूर्वाधार विकास समितिले बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार