४ जेष्ठ २०८१, शुक्रबार

पहिरो पीडित बस्तीमा उपसभामुख, हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी



दार्चुला / दार्चुलाको बाढी पहिरो प्रभावित दुहुँ गाउँपालिका र तुइन हटाएपछि खाद्यान्न अभाव सिर्जना भएको व्यास गाउँपालिकामा नेपाली सेनाको हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गरिएको छ ।

भदौ १३ गते राती आएको बाढी र पहिरोबाट पीडित बनेका दुहुँका नागरिक र माल घट्नापछि खाद्यान्न अभाव भएको व्यास–२ माल, कोठेरधार र खाङदाङका बस्तीका लागि सेनाको हेलिकोप्टरले खाद्यान्न ढुवानी गरेको हो ।

बाढी, पहिरोका कारण क्षतविक्षत बनेको दुहुँ गाउँपालिका र समस्यामा परेका त्यहाँका नागरिकका लागि अहिले सरकारी, गैरसरकारी र व्यक्तिगत पहलमा विभिन्न क्षेत्रबाट राहत संकलन तथा वितरण भइरहेको छ ।

सुदूरपश्चिम प्रदेश सभाका उपसभामुख निर्मला बडाल जोशी, संविधान सभाका सदस्य एवम् नेकपा माओबादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सह–इन्चार्ज लक्ष्मणदत्त जोशी सहितको टोली बाढी पहिरो पीडितका कुरा सुन्न र राहतका लागि पहल गर्न बाढी/पहिरो प्रभावित क्षेत्रमा पुगेकी छन् ।

गाउँगाउँमा दर्जनौँ पहिरो गएर दुहुँवासी बिचल्लीमा परेको भन्दै पीडितको अवस्था बुझ्नका लागि आफुहरु पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा आएको उपसभामुख जोशीले बताइन ।

हेलिकोप्टरले व्यासको माल, कोठेधार र खाङदाङ बस्तीका लागि ५० क्वीन्टल चामल र दुहुँ गाउँपालिकाका बाढी र पहिरो पीडित परिवारका लागि एक सय क्वीन्टल चामल, तीन क्वीन्टल दाल, तेल र नून, तीन हजार पाँच सय मिटर खानेपानीको पाइप ढुवानी गरिएको नेपाली सेनाले जनाएको छ ।

व्यासमा ढुवानी गरिएको चामल त्याहाका ८२ परिवारलाई वितरण गरिएको ब्याँस गाउँपालिकाका अध्यक्ष दिलिपसिंह बुढाथोकीले जानकारी दिनुभयो । नेपाल खाद्य संस्थानको अरुवा मोटो चामल स्थानीयलाई वितरण गरिएको हो ।

दुहुँ र व्यास गाउँपालिकामा खाद्यान्न ढुवानीका लागी नेपाल सरकार र सुदूरपश्चिम प्रदेश सरकारले नेपाली सेनासंग समन्वय गरेर हेलिकोप्टर दार्चुला पठाएको थियो ।

बाढी र पहिरोले दुहुँ र व्यास क्षेत्रलाई जोड्ने सडक भत्काएपछि पहिरो प्रभावित क्षेत्रमा हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गरिएको प्रदेशसभाका उपसभामुख जोशीले बताइन । महाकाली नदीमाथि लगाइएका तुइन भारतीय एसएसबीले काटिदिएपछि व्यासमा खाद्यान्न अभाव भएको स्थानीय हरकसिंह कार्कीले बताए ।

गत साउन १५ गते माल घट्नामा एसएसबीले तुइन काटिदिदा मालगाउँका ३३ वर्षीय जयसिंह धामी महाकालीमा बेपत्ता भएका थिए । सरकारले घटनाका दोषीलाई कार्वाही र पीडितलाई उचित राहतको व्यवस्था अहिलेसम्म छैन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार