१ जेष्ठ २०८१, मंगलवार

कैलाली र कञ्चनपुरमा सीसीटिभी जडान



धनगढी / सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा सीसीटिभी क्यामेरा जडान गरेको छ ।

राजमार्ग तथा अन्य मुख्य सडक र स्थानमा अपराधिक गतिविधि नियन्त्रण गर्न, सडक दुर्घटना न्युनिकरण सहित अपराध अनुसन्धानमा सहयोग पुगोस् भन्ने उद्देश्यले सीसीटिभीहरू जडान गरिएको सरकारले बताएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक करोड ७३ लाख रुपैयाँ लागतमा सीसीटिभी क्यामेरा खरिद गरेको जनाएको छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीका अनुसार कैलालीको पूर्वी क्षेत्र चिसापानीदेखि पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको गड्डाचौकी नाकासम्म र कैलालीको अत्तरिया बजारदेखि मोहना अत्तरिया छ लेन सडकअन्तर्गत त्रिनगर नाकासम्म एक सय ३८ स्थानमा सीसी क्यामेरा जडान गरिएका छन् ।

मन्त्री जोशीले कैलाली–कञ्चनपुरका विभिन्न स्थानमा गरी एक सय ३८ ठाउँमा सीसी क्यामेरा जडान गरिएको जानकारी दिइन् । आपराधिक क्रियाकलाप नियन्त्रण, सवार दुर्घटना न्यूनीकरण र सवारी दुर्घटनाका दोषी पक्राउ गर्न सहज हुुने अपेक्षा सहित मन्त्रालयले सीसी क्यामरा जडान गरेको मन्त्री जोशीको भनाई छ ।

सीसी क्यामेरा कैलाली कञ्चनपुरको बजार क्षेत्र, दुर्घटनाको जोखिम बढी भएको ठाउँ, राजमार्गमा धेरै व्यक्ति जमघट हुने चौराहा, दोबाटो, सार्वजनिक सम्पत्ति रहेको क्षेत्र, सरकारी कार्यालय रहेका क्षेत्रमा जडान गरिएको छ । कैलाली कञ्चनपुरको १२ स्थानमा सीसी क्यामेरा निगरानी स्थलसमेत तयार गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्री जोशीले मन्त्रालय सम्हाले लगत्तै असार २८ गते पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलाली जिल्लाको चिसापानीदेखि कञ्चनपुर गड्डाचौकी र अत्तरियादेखि धनगढी मिलनचोक सम्म जडान हुने सीसी क्यामरा जडान कार्यको प्रगति बारे स्थलगत निरिक्षण समेत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार