२ जेष्ठ २०८१, बुधबार

घरबार बगायो, कहाँ जाउँ ?



चुरे (कैलाली) । कैलालीको चुरे गाउपालिका वडा नम्बर ५ काफलगैराका कमल तामाङको घरको आँगनमै ठुल–ठुला ढुङ्गा र माटोको भेल बगिरहेको छ । टीनले छाएको घर । नजिकै पहिरो । पहिरोले कमलको खेत बगाएको छ । मकैबाली पुरै नष्ट भएको छ ।

‘घरको पछाडीको दायाँ–बायाँ दुबैतर्फबाट पहिरो आएको थियो’ कमलले भने– यहाँका बस्ती पहिरोको उच्च जोखिममा छन् ।
पहिरोको जोखिम भएपछि अहिले कमलको परिवार सडकमा त्रिपाल टाँगेर बसेको छ ।

‘भदौ ९ र १० गते भारी वर्षा भयो । हामी घरमा सुतिरहेको थियौं । ११ गते बिहान ४ बजे उठ्दा घर नजिकै माटोका भेल थियो । खेती पुरै नष्ट गरेको छ’ कमलबहादुरले भने– घरको आँगनमै माटोको भेलले घर नै विस्थापित गर्ने देखेपछि अहिले हामी माथि सडकमा पाल टाँगेर बसेका छौं ।’

सोही बस्तीका ५८ वर्षिय भीमबहादुर तामाङ पनि वडा नम्बर ५ स्थित बेल्चाप्लानको सडक छेउमा त्रिपाल लगाएर बसेका छन् । ४८ सालदेखि काफलगैरा वस्तीमा बस्दै आएका उनी ११ गतेको अविरल वर्षापछिको पहिरोले सडकमै पाल टाँगेर बस्न बाध्य बनाएको बताउँछन् । ‘पहिरोको डर छ । उब्जाउ जमिन नष्ट गरिसकेको छ । अब त्यहाँ बस्न सक्ने अवस्था छैन’ उनले भने ।

भदौ ९ र १० गते भारी वर्षाका कारण चुरे गाउँपालिका वडा नम्बर ५ का गोपाले, काफलगैरा, माल, निङ्गलाडीकाफलगैरा बस्ती प्रभावित भएको छ । घर, गोठ जमिन चर्किनुका साथै सो बस्ती पहिरोको उच्च जोखिममा रहेको वडा कार्यालयले जनाएको छ ।

वडा नम्बर ५ का वडा अध्यक्ष नरबहादुर तामाङका अनुसार गोपाले तीन र काफलगैराका आठ गरी ११ घरधुरी उच्च जोखिममा रहेका छन् । पहिरोबाट प्रभावित भई अहिले २४ घरधुरी विस्थापित भएका छन् । वडा अध्यक्ष तामाङले भने– विस्थापित भएका घरधुरीलाई अहिले त्रिपाल दिएर सडकमै व्यवस्थापन गरेका छौं ।’

राहतका नाममा त्रिपाल
दैनिक मजदुरीले जिविकोपार्जन गर्दै आइरहेका काफलगैराका मिनबहादुर तामाङको घर पहिरोको उच्च जोखिम छ । सडक छेउमा त्रिपाल भित्र बसिरहेका उनले भने– गाउँपालिका, वडा कार्यालय र नेपाल रेडक्रस सोसाइटीबाट यही त्रिपालमात्र पाएको छु ।’

उनले सडकमा बसेपछि खान, बस्न पनि समस्या रहेको बताए । उनले भने– अन्नपात छैन । पानी पनि मुहानको प्रयोग गरिरहेका छौं । कहिबाट केही पाएको छैन ।’

उनीमात्र होइन सडक छेउमै बसेका अन्य घरपरिवारको पनि समस्या यही हो । पहिरो प्रभावित कमलबहादुरले भने– केही दिनअघि नेपाली काँग्रेस गाउँपालिका समितिले चामल, दाल राहत उपलब्ध गराएको थियो । अहिले त्यही खाएर बसेका छौं ।’ उनले आम्दानीको स्रोत पनि नहुँदा छोराछोरीले चाहे अनुसारको पोषण पनि खुवाउन नसकेको बताए ।

‘दूधे बालबालिका छन् । हामीले जे पकाएका छौं । त्यही खुवाउनु परिरहेको छ’ छोरा काखमा राखी बोल्दै थिए पहिरो प्रभावित गंगाराम थापा– यसले हाम्रा छोराछोरीमा कुपोषीत बनाउँछ की भन्ने चिन्ता छ ।’

शौच गर्न जंगल
घर फर्कने अवस्था नभएपछि २४ घण्टा त्रिपालमुनि सडक छेउमै बसेका पहिरो प्रभावितहरू शौच गर्न जंगल पस्ने गरेका छन् । ‘यहा“ सार्वजनिक शौचालय पनि छैन । शौचमात्र गर्न पहिरोले जोखिम पुर्याएको घर जान सकिदैन’ स्थानीय भुवन रानामगरले भने– दिसापिसाव लागे जंगलभित्र पस्छौं ।’

उनले वडा कार्यालय र गाउँपालिकासंग शौचालयको व्यवस्था गरिदिन पटक–पटक अनुरोध गरेको बताए । उनले भने– खुल्ला ठाउँमा दिसापिसाव गर्दा हामी बसेको क्षेत्र पनि दुर्घन्धित बन्छ । त्यसैले गाउँपालिकासंग शौचालयको व्यवस्था गर्न अनुरोध गरेपनि सुनुवाई भएको छैन ।’ उनले आफु बसेको क्षेत्र सरसफाई राखेमा घरभित्रका सदस्यहरू पनि रोगी हुनबाट जोगिने बताए । उनले भने– जथाभावी दिसापिसाव नगरिए वातावरण पनि स्वच्छ हुन्छ ।’

“सुरक्षित बसोबासको व्यवस्था गर”
पहिरोबाट प्रभावित घरपरिवारहरूले सरकारले सुरक्षित स्थानको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

‘अन्नपात लगाउने जग्गा पहिरोले क्षति गर्यो । बाँसका लागि बनाइएको घर उच्च जोखिममा छ’ पहिरोको जोखिममा रहेको आफ्नो घर देखाउँदै ललित तामाङले भने– यस्तो घरमा कसरी बस्ने होला ? सरकारले हाम्रा लागि सुरक्षित घरको व्यवस्था गर्नुपर्छ ।’ उनले बस्ती स्थानान्तरण गर्नमा कुनै पनि सरकारले ध्यान नदिएको बताए ।

‘हामीलाई कतै जग्गा सरकारले व्यवस्था गरिदियोस भनेर कति पटक वडा कार्यालयलाई भने केही भएको छैन । यही त्रिपालमा कति दिन बस्ने होला । हाम्रा समस्या कस्ले सुन्ने ?’ उनले भने ‘गत वर्ष पनि पहिरोले यही वडाका केही वस्ती विस्थापित भएका थिए । उनीहरू पनि सडकमा त्रिपाल लगाएर महिनौ बसे । अहिलेसम्म उनीहरूको पनि पुर्नस्थापना हुन सकेको छैन ।’

वडा कार्यालयका अनुसार पटक–पटकको पहिरोका कारण वडाभित्रका तीन सय २४ घरधुरी विस्थापित भएका छन् । वडा अध्यक्ष नरबहादुर तामाङले भने– गत वर्षसम्म तीन सय घरधुरी विस्थापित भएका थिए । अहिलेको पहिरोले थप २४ घरधुरीलाई विस्थापित बनाएको छ ।’ उनले तीन सय घरको पुनस्र्थापना गर्न जिल्ला विपद् व्यवस्थापन समितिलाई पत्र पठाएको बताए । उनले भने– हामीसंग पुनस्र्थापना गर्ने अधिकार छैन । हामीले सिफारिस गर्छौ तर, कार्यान्वयनमा कुनै निकायले जोड दिँदैनन ।’

उनले प्रदेश सरकारलाई पनि पटक–पटक समस्या व्यक्त गरेको बताए । उनले भने– पहिरो प्रभावितको पुनस्र्थापनामा न संघिय सरकारले ध्यान दिएको छ न त प्रदेश सरकारलेनै केही गर्न सकेको छ ।’

त्रिपालभित्रै पढ्छन् बालबालिका
सरकारले भदौ १७ गते भौतिक रुपमै विद्यालय सञ्चालन गर्ने गरि निर्णय गरेको थियो । सोही आदेश अनुसार चुरे गाउँपालिकाका संस्थागत तथा सामुदायिक विद्यालय पनि सञ्चालन भएका छन् ।

विद्यालय शुरु भएपछि गंगा थापाका छोरा पनि पठनपाठनका लागि जान्छन् । उनका छोरा विद्यालयबाट फर्केर त्रिपालभित्रै पढाई गरिरहेका थिए । उनका छोरा त्यही कापी किताव समातेर पठनपाठन गरिरहेका थिए ।

उनले भने– त्रिपालभित्र बालबालिकाका कापि किताव पनि सुरक्षित राख्न सकिदैन ।’ सबै परिवार एकै त्रिपालमा बस्छौं । अन्न कता राख्ने, लुगा कपडा कसरी व्यवस्थापन गर्ने अनि बालबालिकाका कापी किताव कहा“ राख्ने भन्ने हो ।’

प्रदेश सरकारको जोड दार्चुला
यस वर्षको बाढी पहिरोका कारण कैलालीसहित सुदूरपश्चिमका नौ वटै जिल्ला प्रभावित भए । वैशाख यता प्रदेशमा ५० वटा बाढी पहिरोका घटना भएकोमा १४ जनाको मृत्यु भएको छ भने दुई जना वेपत्ता र नौ जना घाइते भएका छन् ।

प्रदेशमा सबैभन्दा बढी मानविय क्षति भएको जिल्ला दार्चुला हो । दार्चुलामा १६ वटा घटना भएकोमा आठ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले भदौ १३ गते आएको बाढीले प्रभावित भएका दार्चुला दुहुका नागरिकहरूलाई हेलिकप्टरमार्फत खाद्यान्न पुर्याइएको छ । निजाङ खोलामा आएको बाढीले एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको थियो । बाढीमा बेपत्ता भएका दुई जना अझै फेला परेका छैनन् । घटनाबाट करिब एक सय बढी नागरिक विस्थापित भएका छन् ।

उनीहरूलाई अहिले प्रदेश सरकारको पहलमा स्थानीय तह र जिल्ला प्रशासनले हेलिकप्टरबाट खाद्यान्न पुर्याइरहेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।

‘पहिलो चरणमा दुहूमा खाद्य संकट नहोस् भन्नको लागि ८० क्वीन्टल बढी चामल पठाएको छ,’ मन्त्री जोशीले भनिन्, ‘अहिले नेपाली सेनाको हेलिकप्टरले बाढी प्रभावित क्षेत्रमा खाद्यान्न पुराइरहेको छ । प्रदेश सरकारले यस अघि नै विपद् व्यवस्थापनको लागि रकम दार्चुला पठाइसेको थियो ।’ प्रदेश सरकारले पठाएको रकमबाट अहिले स्थानीय तहले खाद्यान्न खरिद गरेर बाढी प्रभावित क्षेत्रमा पुर्याउने काम भइरहेको छ ।

बाढीबाट दूहू वडा नम्बर १ र ५ का ठूलो क्षति पुर्याइएको थियो । जिल्ला प्रशासन कार्यालय दार्चुलाको तथ्यांक अनुसार अहिले ३० घर पूर्ण रुपमा क्षति भएको छ भने ७० घर बस्न नमिल्ने अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार