११ श्रावण २०८१, शुक्रबार

डडेल्धुरा काँग्रेसमा सदस्यता विवाद : वडा सभापतिले गरे काँग्रेसकै किरिया



धनगढी / डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ९ का नेपाली काँग्रेसका सभापति नरबहादुर पालले काँग्रेसको किरिया गरेका छन् ।
उनी दुई पटक नेपाली कांग्रेसको वडा सभापतिमा निर्वाचित भएका थिए ।

सातौ जिल्ला अधिवेशनका लागि आइतबार सार्वजनिक गरिएको कांग्रेसको क्रियाशील सदस्यता सूचीमा उनको नाम हटाइएको आक्रोसमा उनले किरिया गरेका थिए ।

१४ वर्षको उमेरदेखि पार्टीमा सक्रिय वडा सभापति पालले केन्द्रीय छानबिन समितिले बदनियपूर्वक आफ्नो क्रियाशील सदस्यता खारेज गरेको प्रतिक्रियास्वरुप सो काम गरेका छन् ।

‘लामो समयदेखि कांग्रेसमा काम गर्दै आए । अहिले मलाई थाहा नै नदिई सदस्यताको सूचिबाट नाम हटाइयो’ वडा सभापति पालले भने– कलिलो उमेरदेखि पार्टीमा लागे । आज एक्कासी मेरो सदस्यता नै खारेज गरेपछि निकै दुःखि भएको छु ।

उनले आफ्ना लागि काँग्रेस मरिसकेको प्रतिक्रिया दिए । भावुक हुँदै उनले भने– समय आएपछि इटको जवाफ पत्थरले दिनेछु ।
सदस्यताको सूचिबाट नाम हटाइएपछि उनी कपाल खौरेर किरियामा बसेका छन् । उनले १० दिनसम्म किरियामा बस्ने बताए ।

उनले भने– पार्टीले मैरो सक्रियता देखेन । आजदेखि मेरा लागि काँग्रेस मर्यो । नेपाली काँग्रेसको किरियाको मेरो पहिलो दिन’ सोमबार कपाल खौरेको दुईवटा फोटो सामाजिक सञ्जालमा राख्दै उनले लेखेका पनि छन् ।

आफूले गरेको कामको मूल्यांकन नभएपछि भावुक हुँदै फेसबुकमा फोटो हालेको उनले बताए । नेपाली काँग्रेसमा मन लागेकालाई हटाउने र राख्ने भइसकेको उनले बताए ।

सार्वजनिक भएको क्रियाशील सदस्यको नामावलीमा धेरै सदस्यको नाम हटाइएको काँग्रेस डडेल्धुराले जनाएको छ । वडा, पालिका, प्रदेशसभा क्षेत्र र जिल्ला कार्यसमितिबाट निर्णयसहित अनुमोदन गरिएका ४०० भन्दा बढी सदस्यको नाम हटाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार