डडेल्धुरा काँग्रेसमा क्रियाशील सदस्यता विवाद
सभापति मल्लले क्रियाशील सदस्यतामा भएको गलत कार्य कुनै पनि मूल्यमा स्वीकार नगरिने बताए

धनगढी / वडा अधिवेशनको मुखैमा सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लामा नेपाली काँग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवाद चर्किएको छ ।
काँग्रेस केन्द्रीय कार्यालयले आइतबार सा“झ डडेल्धुराको क्रियाशील सदस्यता सार्वजनिक गरेको थियो । प्रकाशित नामावलीमा वडा तहहुँदै जिल्ला कार्यसमितिले प्रक्रिया अनुसार सिफारिस गरेर पठाइएका सदस्यता नामावलीमा केन्द्रीय छानबिन समितिले व्यापक फेरवदल गरिएको भन्दै व्यापक विरोध भइरहेको छ ।
डडेल्धुरा काँग्रेसका सभापति कर्णबहादुर मल्लले वडा समितिहुँदै, पालिका, क्षेत्र तथा जिल्ला कार्यसमितिबाट विधि र प्रक्रिया सहित सिफारिस गरेर केन्द्रमा पठाइएका क्रियाशील सदस्यहरुको नामावलीमा व्यापक हेरफेर भएको बताए ।
उनले भने– प्रक्रिया अनुसार सिफारिस गरेर पठाइएका नामहरुमा व्यापक फेरवदल गरिएको छ । पाँच सय बढीको नाम हटाइएको छ । केन्द्रबाटै तीन सय बढी सदस्यता थपिएको छ । यो त अति नै भयो । वास्तवमा यस्तो राजनीतिक अपराध कहिल्यै पनि भएको थिएन, हुँदैन पनि ।
आइतबार प्रकाशित क्रियाशील सदस्यताको नामावलीमा पार्टीका पूर्व सभापति तारासिंह बोहरा, जिल्ला समित सदस्य कमला बिष्ट, जिल्ला पार्टी कार्यालय सचिव राम बिष्ट, स्ववियु सभापति लोकराज भट्ट, अमरगढी नगरपालिका–९ का सभापति नरबहादुर पाल, राजबहादुर ऐर लगायतका सदस्यताको नाम काटिएको बताइएको छ ।
काँग्रेस डडेल्धुराका उपसभापति करुणाकर भट्टले पनि केन्द्रीय छानबिन समितिले पूर्वाग्रहका आधारमा नामहरु हटाउने र कुनै पनि तहबाट सिफारिस नभएकाहरुको नाम थप्ने काम गरेको बताए ।
उनले भने– केन्द्रीय छानबिन समितिले पूर्वाग्रहका आधारमा सदस्यता हटाउने र थप्ने काम गरेको छ । परशुराम नगरपालिकाको वडा नम्बर १२ मा मात्रै ८६ जनाको नाम केन्द्रबाटै थपिएको छ ।
कुनै वडामा जिल्लाबाट पठाइएको नामावलीको संख्या दुरुस्त राखिएको छ, तर नामहरु भने व्यापक मात्रामा फेरवदल गरिएको छ । कतिपय वडामा आदिवासी जनजातिको क्लष्टर नै सून्य हुनेगरी उनीहरु सबैको नाम नै हटाइएको छ ।
उनले केन्द्रीय छानबिन समितिले क्रियाशील सदस्यताबारे वितण्डा नै मच्याएको आरोप लगाए । भने– कहिलेकाही सामान्य त्रुटी हुनु एउटा कुरा हो, तर यो त सिमाभन्दा बाहिरको बेइमानी हो ।
जिल्ला सभापति मल्लले क्रियाशील सदस्यतामा भएको गलत कार्य कुनै पनि मूल्यमा स्वीकार नगरिने बताए । उनले भने– भोली (मंगलबार) सबै वडा, पालिकाका सभापति, पदाधिकारीहरुको बैठक बोलाएका छौं । सोही बैठकबाट ठोस निर्णय हुने छ ।
काँग्रेस जिल्ला सचिव लक्ष्मी अवस्थीले जिल्ला कार्यसमितिको बैठकबाट वडा अधिवेशनको मिति तय गरिने बताए । उनले क्रियाशील सदस्यतामा कुनै विवाद नभएको दाबी गरे ।
सचिव अवस्थीले भने– कुनै विवाद होइन । सिफारिस भएका नामहरु नै आएका छन् । समायोजनमा आएका एक हजार एक सय सात सदस्यको मात्रै धेरै नाम काटिएको छ ।
उनले केन्द्रले नीति अनुसार नै सदस्यताको टुंगो लगाइएको हुनसक्ने बताए । उनले भने– केन्द्रीय छानबिन समितिले प्रक्रिया अनुसार नै टुंगो लगाएको होला । सिफारिस नभएकाहरुको नाम थप्ने भन्ने कुरा हुदैन ।




