प्रदेश सरकारले हलियाका समस्या समाधान गर्छ– मुख्यमन्त्री
संविधान सभा सदस्य श्रीपाइली र मुख्य न्यायधिवक्ता उपाध्याय सम्मानित
धनगढी / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले हलिया पुनस्र्थापना लगायत सबै कामलाई प्राथमिकताका साथ पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
१३ औ हलिया मुुक्ति दिवका अवसरमा सोमबार कञ्चनपुरको पुनर्बास नगरपालिका–९ सीतावस्तीमा आयोजित विशेष कार्यक्रममा मुख्यमन्त्री भट्टले मुक्त हलिया सहित सिमान्तकृत वर्ग र समुदायको हकअधिकारको लागि प्रदेश सरकार गम्भीर रहेको बताए ।
उनले मुक्त हलिया, मुक्त कमैया, दलित, विपन्न वर्गको उत्थानका लागि प्रदेश सरकारले छिट्टै कानुन ल्याउने बताए । उनले भने– अझै पनि धेरै मुक्त हलियाहरुको पुनस्र्थापना भएको छैन । कतिपयले परिचयपत्र नै पाएका छैनन् ।
उनले प्रदेश सरकारले मुक्त हलियाको पुनस्र्थापना, परिचयपत्र वितरण सहित रोजगारी शिक्षा, स्वास्थ्य, आवास लगायतका काम पुरा गर्न पहल गरिरहेको बताए ।
कार्यक्रममा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री मानबहादुर सुनारले सरकार मुक्त हलियाका समस्याबारे गम्भीर भएको बताए ।
हलिया अधिकारको क्षेत्रमा लामो समय काम गर्दै आएका संविधान सभाका सदस्य हरि श्रीपाइलीले लामो संघर्षपछि हलिया मुक्त भए पनि पूर्ण रुपमा पुनस्र्थापना नहुन्जेल लडाई जारी रहने बताए ।
कार्यक्रममा हलिया आन्दोलन तथा अधिकारका लागि योगदान गरेवापत संविधान सभा सदस्य श्रीपाइली र प्रदेश सरकारका मुख्य न्यायधिवक्ता कुलानन्द उपाध्यायलाई सम्मान गरियो ।
राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालका केन्द्रीय अध्यक्ष ईश्वर सुनारको अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।