१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेश सभामा नेकपा (एस) बन्यो सबैभन्दा ठूलो दल



माया तामाङ बोहराले पनि एमाले छोडिन

धनगढी / नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट फुटेर बनेको नवगठीत नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल बनेको छ ।

प्रदेश सभा सदस्य माया तामाङ बोहराले नेकपा (एस) का पक्षमा सनाखत गरेपछि सो दल सबैभन्दा ठूलो दल बनेको हो । तामाङ एमालेमा ओली – माधव विवादका क्रममा ओली समूहमा खुलेकी थिइन । आइतबारसम्म सो दलका पक्षमा १३ जनाले मात्र सनाखत गरेका थिए ।

निर्वाचन आयोगले भदौ २२ गते साँझ ५ बजेसम्म एमालेबाट अलग्गिनेहरुलाई दल छान्न पाउने समय दिएको छ ।

१४ जना नेकपा (एस) मा गएपछि अव एमालेसित १० जना प्रदेश सभा सदस्य मात्र रहेका छन् । एमाले फुट्नु अघि सो दलमा २५ जना प्रदेश सभा सदस्य रहेका थिए ।

२५ मध्येका एक जना अर्जुनबहादुर थापा सभामुख हुनुहुन्छ । कानुन अनुसार सभामुख कतै खुल्नु पर्ने वाध्यता छैन ।

सुदूरपश्चिम प्रदेश सभामा अव नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सबैभन्दा ठूलो दल, १३ सदस्यीय नेकपा माओवादी केन्द्र दोस्रो, १२ सदस्यीय नेपाली काङ्ग्रेस तेस्रो, १० सदस्यीय एमाले चौथो र २ सदस्यीय तत्कालिन राजपा पाँचौ दल बनेका छन् । फुटेको राजपा दुई प्रदेश सभा सदस्यहरुले कुन दल रोज्ने अझै स्पष्ट भएको छैन ।

५३ सदस्य रहने व्यवस्था रहेको सुदूरपश्चिम प्रदेश सभामा माओवादी केन्द्रले एकजना झपट बोहरालाई हटाएपछि ५२ सदस्यीय मात्र रहेका छ । बोहरा एमाले प्रवेश गरेपछि माओवादीले हटाएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार