५ पुष २०८२, शनिबार

नेकपा (एस) बन्यो सुदूरपश्चिम प्रदेश सभाको प्रमुख दल



मन्त्री सोडारी पूर्व प्रमुख सचेतक तामाङ र प्रदेश सरकारका पूर्व राज्यमन्त्री रावलले पनि छोडे एमाले

धनगढी / नेकपा (एमाले ) छोडेर थप तीन जनाले सनाखत गरेसंगै नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभाको प्रमुख दल बनेको छ ।

आइतबार नेकपा (एस) का पक्षमा भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, एमालेका पूर्व प्रमुख सचेतक तारा लामा तामाङ र प्रदेश सरकारका पूर्व राज्यमन्त्री प्रकाश रावलले निर्वाचन आयोग नेपालको, प्रदेश कार्यालय, धनगढीमा गएर सनाखत गरेपछि सो दल प्रमुख दल बनेको हो । सोडारी र तामाङ नेकपा (एमाले ) का निर्वाचित अध्यक्ष पनि थिए ।

यसअघि एमालेका १० जनाले मंगलबार नेकपा (एस) का पक्षमा सनाखत गरेका थिए । सनाखत पछि प्रतिक्रिया दिदै मन्त्री सोडारीले आफूहरु प्रमुख दल बनाउनका लागि प्रयासरत रहेको बताए । निर्वाचन आयोगले भदौ २२ गतेसम्म सनाखत गर्ने समय दिएको छ ।


पार्टी ०७५ जेठ २ मा फर्किएको भनिएको तर त्यस्तो निर्देशन आएन सनाखत पछि प्रतिक्रिया दिदै अर्का प्रदेश सभा सदस्य तामाङले भने, हामी विनाकै एमाले बनाउन खोजिएपछि हामी प्रतिगमन विरुद्ध उभिएका सबै जना नेकपा (एस) खुलेका हौ ।

समाजवादीमा खुलेका पूर्व राज्यमन्त्री रावलले पनि आफूहरु केपी ओलीको प्रतिगमन विरुद्ध रहेकोले सो दल त्यागेर नेकपा (एस ) मा सामेल भएको प्रतिक्रिया दिए ।

नेकपा (एस) का पक्षमा अव १३ जना प्रदेश सभा सदस्य भएका छन् । अव नेकपा (एस) र नेकपा माओवादी केन्द्र दुई दल समान हैसियतका प्रमुख दल बनेका हुन । माओवादीका पनि १३ जना प्रदेश सभा सदस्य छन् ।

प्रदेश सभामा अव नेपाली काँग्रेसका १२, एमालेका ११ र तत्कालिन राजपाका दुई जना प्रदेश सभा सदस्य रहेका छन् । तत्कालिन राजपा पनि फुटेपछि दुई जना प्रदेश सभा सदस्य कता खुल्ने निश्चित भएको छैन ।

सुदूरपश्चिम प्रदेश सभामा ५३ जना प्रदेश सभा सदस्य रहने व्यवस्था छ । एमाओवादीले एमाले प्रवेश गरेका कारण एक जना झपट बोहरा हटाएपछि अब ५२ जना छन् ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार