देउवाले चाहेर पनि एमसीसी पास गर्न सक्दैनन्– महासचिव भट्ट

धनगढी / राष्ट्रिय जनमोर्चा (राजमो) ले प्रधानमन्त्री शेरबहादुर देउवाले चाहेर पनि मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्न नसक्ने बताएको छ ।
देउवा सरकार पाँच दलीय गठनबन्धनमा टिकेको हुनाले एक्लैले चाहदैमा एमसीसी पास नहुने बताएको छ ।
“यो (देउवा नेतृत्वको सरकार) पाँच दलीय गठबन्धनमा टिकेको छ” शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा राजमोका महासचिव मनोज भट्टले भने– प्रधानमन्त्री देउवा बाहेक उनकै दल शिर्ष नेताहरु र गठबन्धनमा रहेका दलका प्रमुख तथा प्रभावशाली नेताहरु सबै यसको विरुद्धमा भएकोले यो पारित हुदैन ।
उनले भारत लगायत विभिन्न विदेशी शक्तिहरु नेपालको गणतन्त्र, धर्मनिरपेक्षता, २०७२ को संविधान कमजोर पार्ने खेलमा रहेको आरोप लगाए । उनले भने– त्यसैले पनि मुलुकभित्रका अग्रगमनकारी, गणतन्त्रवादी, लोकतन्त्रवादी शक्तिहरुबीच एकता र सहकार्य अनिवार्य भएको छ ।
महासचिव भट्टले अहिलेको पाँच दलीय गठनबन्धन ओलीको नेतृत्वमा देशीविदेशी शक्तिहरुको प्रतिगमनकारी खेलको विरुद्ध बनेको दाबी गरे । भने– यो गठबन्धन कमजोर भयो भने मुलुकमा फेरि पनि प्रतिगमनकारी शक्तिहरु बलिया हुनेछन् । त्यसैले यसलाई निरन्तरता दिनु जरुरी छ ।
केन्द्रीय सदस्यसहित पाँच जना पार्टीबाट निष्काशित
राष्ट्रिय जनमोर्चाले पार्टी विरुद्ध गतिविधि गरेको आरोपमा एक केन्द्रीय सदस्य सहित पाँच जना नेताहश्रलाई पार्टीको साधारण सदस्यबाट अनिश्चितकालका लागि निष्काशन गरेको छ ।
पछिल्लो पटक भेला आयोजना गरेर समानान्तर प्रदेश कमिटी गठन गरेका राजमोका केन्द्रीय सदस्य लालबहादुर जाग्री सहित पाँच जनालाई पार्टीको साधारण सदस्यबाट अनिश्चितकालका लागि निष्काशन गरिएको राजमोले जानकारी दिएको छ ।
राजमोका सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टका अनुसार केन्द्रीय सदस्य जाग्रीका साथै केन्द्रीय सल्लाहकार सदस्य लोकेन्द्र लम्साल तथा केन्द्रीय पार्षदहरु लक्षीराम आचार्य, केशवनाथ योगी र गोविन्द विकलाई सबै पदबाट हटाउनुका साथै सदस्यताबाट समेत निष्काशन गरिएको छ ।
पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष नन्दराज भट्टले पार्टीको बिहीबार (भदौ १७ गते) को अनलाइन केन्द्रीय समितिको बैठकले “केन्द्रीय सदस्य जाग्रीसहित पाँच जनालाई फुटपरस्त गतिविधिमा संलग्न भएको पाइएकोले निष्काशन गर्ने निर्णय गरेको” जानकारी दिए ।
गत ८ र ९ गते केन्द्रीय सदस्य जाग्रीको अध्यक्षतामा भएको भेलाले लोकेन्द्र लम्सालको नेतृत्वमा छुट्टै प्रदेश समिति गठन गरेको थियो ।
“राजमोको विधानमा भेलाले कुनै पनि तहको कमिटि गर्न सक्ने व्यवस्था नै गरेको छैन” महासचिव मनोजले भने– यो हाम्रो पार्टीमा पनि फुटपरस्त तथा प्रतिगमनकारी तत्वहरुको गतिविधिको एउटा परिणाम हो ।




