१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिममा काँग्रेस अधिवेशन : तीन जिल्लामा अनिश्चित, दुई जिल्लामा मिति सारियो




धनगढी /
क्रियाशील सदस्यतासम्बन्धी चर्को विवादबीच आज (शुक्रबार) देखि देशैभरी नेपाली काँग्रेसको वडा अधिवेशन शुरु हुँदैछ । विधानतः चार वर्षमा हुनुपर्ने काँग्रेस महाधिवेशन यस पटक साढे पाँच वर्षपछि हुँदैछ ।

काँग्रेसले पटक पटक महाधिवेशनको मिति परिर्वतन गर्दै पछिल्लो पटक भदौ १८ गतेदखि वडा अधिवेशनहरू शुरु गर्ने निर्णय गरेको थियो । यस पटक पनि अधिवेशन नभए पार्टीको वैधानिकतामाथि नै प्रश्नचिन्ह लाग्ने सम्भावना थियो ।

चौधौं महाधिवेशनमा क्रियाशील सदस्यताको सबैभन्दा चर्को विवाद भएको छ । क्रियाशील सदसस्यता सम्बन्धी विवादका कारण नै महाधिवेशन प्रक्रिया शुरु हुने अघिल्लो दिन (बिहीबार) सम्म पनि केही जिल्लाहरूको क्रियाशील सदस्यताको अन्तिम टुंगो लागेको छैन ।

सुदूरपशिचम प्रदेशका कैलाली, डडेल्धुरा र बाजुरामा अझैंसम्म पनि क्रियाशील सदस्यताको टुंगो लागेको छैन । क्रियाशील सदस्यताको टुंगो नलागेका कारण ती जिल्लाको वडा अधिवेशन हालका लागि स्थगित भएको छ । डडेल्धुरा काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला हो ।

विभिन्न जिल्लाबाट प्राप्त जानकारी अनुसार सुदूरपश्चिम प्रदेशका चार जिल्लामा मात्रै तोकिएको मिति अर्थात १८ गतेदेखि वडा अधिवेशन शुरु हुन गइरहेको छ । कञ्चनपुर, डोटी, बझाङ र अछाममा समयमै वडा अधिवेशन हुने सम्बन्धित जिल्ला समितिले जनाएका छन् ।

काँग्रेस विधानको व्यवस्था अनुसार क्रियाशील सदस्य महाधिवेशनका सबैभन्दा महत्वपूर्ण मतदाता हुन । क्रियाशील सदस्यले पार्टी संरचनाको सबैभन्दा पहिलो जगका रुपमा रहेको वडा समिति र क्षेत्रीय प्रतिनिधिहरूको चयन गर्दछन् ।

वडा अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिहरू नै प्रदेश तथा संघीय क्षेत्रीय अधिवेशन, जिल्ला अधिवेशनका मतदाता हुने व्यवस्था गरिएको छ भने क्षेत्रीय प्रतिनिधिहरू नै महाधिवेशन, महासमिति सदस्य बन्नका लागि योग्य हुन्छन् ।

सबैभन्दा बढी संघीय पाँच संसदीय निर्वाचन क्षेत्र रहेको कैलाली तथा डडेल्धुरा र बाजुरामा क्रियाशील सदस्यताको विवाद अझैं नटुंगिएका कारण अधिवेशन अनिश्चित बनेको छ । दार्चुला र बैतडीमा भने पछिल्लो समय परेको भारी वर्षा, बाढी र पहिरोका कारण आवागमनमा समस्या भएपछि अधिवेशनको मिति केही दिन पर सारिएको छ ।

सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र बझाङका केही वडामा भने वडा अधिवेशनको अघिल्लो दिन नै सर्वसम्मत रुपमा क्षेत्रीय प्रतिनिधिहरू चयन भइसकेका छन् ।

सुदूरपश्चिम प्रदेशमा सात सय ३४ वडाहरू रहेका छन् । क्रियाशील सदस्यता सम्बन्धी विवाद नटुंगिएका कारण कैलाली, बाजुरा र डडेल्धुराका गरी २४७ वडाको अधिवेशन अनिश्चित बनेको हो ।

कैलालीमा सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा सबैभन्दा बढी क्रियाशील सदस्य (१८ हजार १३४) रहेका छन् । यो संख्यामा कैलाली क्षेत्र नम्बर १ को टीकापुर नगरपालिकाको वडा नम्बर १ को ५७६ जना नयाँ क्रियाशील सदस्य समावेश रहेको छैन ।

कैलालीको टीकापुर नगरपालिका, जानकी गाउपालिका र लम्कीचुहा नगरपालिकाका धेरै वडामा सबैभन्दा बढी क्रियाशील सदस्यतासम्बन्धी विवाद रहेको देखिएको छ । क्रियाशील सदस्यता विवाद समाधान गर्न दवावस्वरुप क्षेत्र नम्बर १ का सभापति भूवनेश्वर अधिकारी सहितका नेताहरू एक महिना बढी काँग्रेस केन्द्रीय कार्यालयमा धर्नामा बसेका थिए ।

क्रियाशील सदस्यता (नयाँ) थप्ने म्याद सकिएको लामो समयपछि महाधिवेशनको मुखैमा कैलालीमा राप्रपा र अन्य दल तथा केही नेताहरूबाट नयाँ क्रियाशील सदस्यता थप्ने प्रयास भइरहेको बताइन्छ ।

कैलाली काँग्रेसका सभापति नरनारायण शाह “मनु”ले भने– समायोजनका नाममा राप्रपा तथा अन्य दलबाट अहिले पनि नया“ क्रियाशील सदस्य थप्ने प्रयास भइरहेको सूचना पाएका छौं । त्यस्तै, केही केन्द्रीय नेताहरूबाटै नयाँ सदस्यता थप्ने कोशिस भइरहेको छ । यदि वडा, क्षेत्र र जिल्ला कार्यसमितिबाट सिफारिस नभएका, पहिले फाराम नै नभरेका, शुल्क नबुझाएका सदस्यहरू थप गरियो भने कैलाली काँग्रेसले कदापि स्वीकार गर्ने छैन ।

उनले महाधिवेशनको मुखमा कुनै पनि कारणले नयाँ क्रियाशील थप्ने कार्य सर्वथा गलत भएको बताए । भने– यस्तो भयो भने अधिवेशन नै प्रभावित हुने छ ।

कैलालीमा १२६ वडा छन् । सभापति शाहले क्रियाशील सदस्यताबारे टुंगो नलागेका कारण वडा अधिवेशन स्थगित गरिएको सूचना जारी भइसकेको बताए ।

पार्टी सभापति तथा प्रधानमन्त्री देउवाको गृह जिल्ला डडेल्धुरामा पनि वडा अधिवेशन अनिश्चित बनेको छ । डडेल्धुरामा पनि अहिलेसम्म क्रियाशील सदस्यता सम्बन्धी टुंगो लागेको छैन ।

डडेल्धुरा काँग्रेसका अनुसार डडेल्धुरामा पुरानो सदस्यता नविकरण र नयाँ गरी करिब पाँच हजार आठ सय बढी क्रियाशील सदस्यको सिफारिस गरिएको छ ।

डडेल्धुरा काँग्रेस स्रोतका अनुसार जिल्लाबाट सिफारिस भएका सदस्यताहरूमध्ये केन्द्रबाट पाँच सय ९८ जना हटाएर तीन सय ३८ जना थप गरिएको छ ।

नेपाली काँग्रेस डडेल्धुरा कार्यसमितिले बिहीबार विज्ञप्ती जारी तोकिएकै समय (भदौं १८ गते) मा वडा तहको अधिवेशन नहुने जानकारी दिएको छ ।

‘सातौ जिल्ला अधिवेशनलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि क्रियाशिल सदस्यताको नामावली प्राप्त भइसकेपछि केन्द्रीय निर्वाचन प्रतिनिधिको रोहबरमा जिल्लाको बैठक आयोजना गरिने छ’ काँग्रेस डडेल्धुराद्वारा जारी विज्ञप्तीमा भनिएको छ– सम्पूर्ण स्थानीय तह र वडा सभापतिहरूको उपस्थितिमा अधिवेशन सम्पन्न गर्नको लागि नेपाल शिक्षक संघबाट खटाइने निर्वाचन प्रतिनिधिहरूको सहभागितामा मिति तय गरिने छ ।

डडेल्धुरा जिल्ला कार्यसमितिले विधि र प्रक्रिया पुरा गरेर पाँच हजार आठ सय (नया“ तथा नविकरण) सहितको क्रियाशिल सदस्यको विवरण केन्द्रीय कार्यालयमा पठाएको जिल्ला पार्टी सभापति तथा प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले बताए । उनले भने– हामीले पठाएको सदस्यताको विवरणको अन्तिम नामावली आएको छैन ।

एक संसदीय निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा ५२ वटा वडा रहेका छन् । बाजुरामा पनि क्रियाशील सदस्यताको टुंगो लागेको छैन । सोही कारण वडा अधिवेशन अनिश्चित बनेको छ ।

पार्टी जिल्ला सभापति कविराज पण्डितले भने– बिहीबार साँझसम्म पनि क्रियाशील सदस्यको नामावली प्राप्त भएन । त्यसैले केन्द्रीय प्रतिनिधि सन्तोष भण्डारीको सहमतिमा हाललाई वडा अधिवेशन स्थगित गरेको सूचना नै जारी गरेका छौं । उनले थपे– क्रियाशील सदस्यता नामावली प्राप्त भएपछि मात्रै वडा अधिवेशन प्रक्रिया शुरु गर्नेछौं । एक संसदीय निर्वाचन क्षेत्र रहेको बाजुरामा ६९ वडाहरू रहेका छन् ।

दार्चुलामा वर्षा, बाढी र पहिरोका कारण आवागमनमा समस्या सिर्जना भएकोले वडा अधिवेशन चार दिन पछि सारिएको छ ।

गत १३ र १४ गतेको भारी वर्षा, बाढी र पहिरोका कारण केही वडाको आवागमन नै प्रभावित भएको छ । जिल्ला पार्टी सभापति ललितबहादुर बोहराले भने– वर्षाका कारण व्याँस र दुहुँ गाउँपालिका सदरमुकामसंग सम्बन्ध विच्छेद भएको छ । अन्यत्र पनि सहज ढंगले आवतजावत गर्न कठिनाई भइरहेको छ । त्यसैले बाध्य भएर मिति सारेका छौं ।

एक संसदीय निर्वाचन क्षेत्र र ६१ वडा रहेको दार्चुलामा नयाँ र पुरानो गरी काँग्रेसका चार हजार ६५० सदस्य रहेको सभापति बोहराले जानकारी दिए ।

उनले दार्चुला का“ग्रेसमा निकै सौहार्द वातावरणमा क्रियाशील सदस्यताको टुंगो लागेको बताए । भने– अन्य जिल्लाहरूमा सदस्यताका लागि मारामार भयो, तर दार्चुलामा सदस्यताको चार सय ५० फाराम नै बाँकी रहे ।

यसैबीच नेपाली कांग्रेस दार्चुलाले सातौ जिल्ला अधिवेशन सफल पार्न विभिन्न समितिहरू गठन गरेको जनाएको छ ।
मंगलबारबाट बसेको नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठकले अधिवेशन सम्पन्न गर्न मुल आयोजक समिति, प्रचार–प्रसार समिति र आर्थिक व्यवस्थापन समिति गठन गरेको सचिव हरकसिंह बिष्टले जानकारी दिए ।

बैठकले नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति ललित सिंह बोहराको संयोजकत्वमा पाँच सय एक सदस्यीय मुल आयोजक समिति गठन गर्ने निर्णय गरेको थियो ।

दार्चुलामा भदौ २२ गते वडा अधिवेशन, २७ गते पालिका अधिवेशन, असोज १ गते क्षेत्रिय अधिवेशन तथा असोज ५ गते खलंगामा जिल्ला अधिवेशन गर्ने कार्यतालिका रहेको छ ।

एक निर्वाचन क्षेत्र रहेको दार्चुलामा ६१ वडा रहेका छन । बैतडीमा पनि बाटोघाटोको कठिनाईले वडा अधिवेशन २१ गतेका लागि तय गरिएको छ । पार्टी जिल्ला उपसभापति चतुरबहादुर चन्दले भने– क्रियाशील सदस्या दुई दिन अघि मात्र प्राप्त भयो । टाढाटाढाका पालिका, वडामा सदस्यता नामावली, अन्य आवश्यक कागजात र प्रतिनिधिहरू पठाउन समय लाग्ने भएकाले २१ गतेसम्म सारेका छौं ।

एक संसदीय निर्वाचन क्षेत्र र ८४ वटा वडा रहेको बैतडीमा काँग्रेसका नयाँ र पुरानो गरी छ हजार ५७७ सदस्य रहेका छन् । उपसभापति चन्दका अनुसार जिल्लाबाट सिफारिस भएका सदस्यतामध्ये केन्द्रले १८ जनाको नाम हटाएको छ । उनले भने– यसबारे केन्द्रलाई समयमै जानकारी गराइसकेका छौं, हटाइएका नामहरू आउने विश्वास छ ।

उता, तीन संघीय निर्वाचन क्षेत्र र ९२ वडा रहेको कञ्चनपुरमा बिहीबार साँझसम्म २६ वडामा सर्वसम्मत ढंगले क्षेत्रीय प्रतिनिधिको चयन भइसकेको छ ।

पार्टी जिल्ला सभापति हरि बोहराले अरु वडाहरूमा पनि सर्वसम्मतीको प्रयास भइरहेको बताए । उनका अनुसार कृष्णपुर नगरपालिकाका तीन, शुक्लाफाँटा नगरपालिकाका चार, बेदकोट नगरपालिकाका पाँच, भीमदत्त नगरपालिकाका दुई र महाकाली नगरपालिकाका छ वडामा सर्वसम्मत रुपमा क्षेत्रीय प्रतिनिधिहरू चयन भइसकेका छन् ।

त्यस्तै, बेल्डाँडी गाउँपालिकाका एक, बेलौरी र पुनर्बास नगरपालिकाका दुई दुई र लालझाडी गाउपालिकाका एक वडामा पनि सर्वसम्मत रुपमा क्षेत्रीय प्रतिनिधि चयन भइसकेका छन् ।

बझाङमा पनि बिहीबार साँझसम्म छ वडामा सर्वसम्मत रुपमा क्षेत्रीय प्रतिनिधि चयन भइसकेका छन् । एक निर्वाचन क्षेत्र तथा ९४ वडा रहेको बझाङ जिल्ला नयाँ र पुरानो गरी काँग्रेसका छ हजार आठ सय बढी सदस्य रहेका छन् ।

जिल्ला सभापति हर्कजंगबहादुर सिंहले भने– निकै सौहार्दपूर्ण वातावरणमा वडा अधिवेशन हुँदैछन् । अहिलेसम्म छ वडामा सर्वसम्मती भइसकेको छ । बाँकी वडाहरूमा पनि सर्वसम्मतीको प्रयास गरिरहेका छौं । उनले महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत ढंगले नै चयन हुने विश्वास व्यक्त गरे ।

अछाममा पनि वडा अधिवेशन शुरु हुँदैछ । दुई संसदीय निर्वाचन क्षेत्र र ९१ वडा रहेको अछाममा नयाँ र पुरानो गरी ११ हजार बढी सदस्य रहेका छन् ।

पार्टीका सहसचिव तथा प्रवक्ता वेद तिमिल्सिनाका अनुसार विनायक पञ्चदेवल नगरपालिकाका वडा नम्बर १, २ र ४ तथा कमलबजार नगरपालिकाको वडा नम्बर ४ मा १३ औं महाधिवशेनका क्रियाशील सदस्यहरूले मात्र वडा अधिवेशनमा भाग लिन पाउने छन् ।

डोटीमा पनि तोकिएकै समयमा वडा अधिवेशन हुँदैछ । एक संसदीय निर्वाचन क्षेत्र र ६५ वडा रहेको डोटीमा एकैसाथ सबै वडामा अधिवेशन शुरु गर्न प्रतिनिधिहरू खटाइएको छ ।

काँग्रेस नेता तथा प्रदेश सभा सदस्य भरतबहादुर खड्काले केही वडामा क्रियाशील सदस्यता सम्बन्धी सामान्य विवाद रहे पनि तोकिएकै समयमा वडा अधिवेशन गर्ने गरेर प्रतिनिधि र नामावली पठाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार