दार्चुला तुइन घटना : सरकारी टोलीले एकमहिनापछि प्रतिवेदन बुझायो

काठमाडौं / भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानहरूले तुइनको लठ्ठा चुँडालेका कारण दार्चुला ब्यास गाउपालिका, मालका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाको छानबिन गर्न गठित सरकारी टोलीले सरकारलाई प्रतिवेदन बुझाएको छ ।
सरकारी छानबिन टोलीले एक महिनापछि मंगलबार सो प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाँडलाई बुझाएको छ ।
गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा दार्चुला घटनाको छानबिन गर्न साउन १७ गते टोली बनाएको थियो ।
साउन १५ गते तुइन तरेर भारतको बाटो हुदै दार्चुला सदरमुकाम आउने क्रममा ब्यास गाउ“पालिका– २ मालका ३३ वर्षीय जयसिंह महाकालीमा खसेर बेपत्ता भएका थिए । प्रत्यक्षदर्शीले भारतीय सुरक्षा बल (एसएसबी) ले तुइनको लठ्ठा चुँडालेका कारण जयसिंह तुइनको तारसहित महाकाली नदीमा खसेर बेपत्ता भएका बताएका थिए ।
सो घटनाको छानबिन गर्न १७ साउनमा १० दिनको समय दिएर मन्त्रालयका सहसचिव गौतमको संयोजकत्वमा समिति गठन गरेको थियो ।
समितिमा नेपाल प्रहरीका सुदूरपश्चिम प्रमुख नायव महानिरीक्षक पुरुषोत्तम क“डेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य थिए ।
तोकिएको समयमा समितिले प्रतिवेदन तयार गर्न अनुसन्धान नसकेको भन्दै २५ साउनमा एक साता म्याद थपिएको थियो । त्यसपछि भदौ २ र भदौ ९ गते एक÷एक साताको समय थप गरिएको थियो । थपिएको समय (१७ भदौ) सकिनु दुई दिनअघि समितिले प्रतिवेदन बुझाएको हो । समितिले घटनाको स्थलगत निरीक्षण गरी प्रतिवेदन तयार पारेको जनाएको छ ।




