१२ पुष २०८१, शुक्रबार

एक्सिस विद्याश्रमले स्वर्गिय पत्रकार जेपी जोशीकी छोरीलाई निःशुल्क पढाउने



पूजा भन्छिन हामी जस्तै अन्यायमा परेकालाई सहयोग गर्न कानून विषय छाने


अज्ञात समूहद्धारा मारिएका पत्रकार जेपी जोशीकी छोरी पूजा जोशीलाई निशुल्क पढाउने घोषणा कार्यक्रम । तस्बिर : प्रकाशविक्रम शाह

धनगढी / अज्ञात समूहद्धारा मारिएका पत्रकार जेपी जोशीकी छोरी पूजा जोशीले आफू जस्तै अन्यायमा परेकाहरुका पक्षमा लड्न आफूले कानून विषय पढन थालेको बताएकी छन् ।

धनगढीको एक्सिस विद्याश्रमले १४ वर्ष अघि मारिएका जोशीको छोरी पूजालाई निशुल्क पढाउने घोषणा गरेको कार्यक्रममा आइतबार उनले भनिन म र मेरो परिवारले जस्तै अन्याय भोग्नु नपरोस त्यस्ता असाहय परिवारलाई साथ दिन सकु त्यसैले कानून विषय छाने । उनले भनिन आमाले मान्नु भएको थिएन अहिले मनाएरै छोडे ।

यसैवर्ष ३.५ जिपिए ल्याएर एसीइ पास गरेकी जोशी एक्सिसमा कानून संकायमा पढ्ने भएकी छन् । हामी अभिभावकविहिन, विपन्न र जेहेन्दारलाई पढाउदै आएका छौ त्यसैमा नेपाल पत्रकार महासंघको आग्रहमा पूजालाई पनि पढाउने भएका हौ एक्सिसका सञ्चालक अनिता पन्तले बताइन ।

सञ्चालक पन्तका अनुसार अहिले कानून पढ्नेको संख्या बढेको छ । पन्तले भनिन कानून पढ्दा आत्मवल बढने विश्वास विद्यार्थीमा छ । पन्तले आफ्नै छोरीलाई पनि एक्सिसमा नै कानून पढाइरहेकी छन् ।

पूजालाई कक्षा ११ र १२ पढ्न झण्डै एक लाख खर्च हुने स्थिति थियो उनले कानून नै पढ्ने भनेपछि हामीले एक्सिसलाई आग्रह गरेर निशुल्क पढाउने व्यवस्था गरेका हौ पत्रकार महासंघका केन्द्रीय सदस्य भरत शाहले बताए । एक्सिसले नै धनगढीबाट झण्डै २० किलोमिटर टाढा रहेको जोशीको घर मालाखेतीबाटै ल्याउने र लैजाने व्यवस्था गर्ने भएको छ ।

सो अवसरमा महासंघका केन्द्रीय सचिव हेमकर्ण विक र जिल्ला अध्यक्ष हिमालय जोशीले पूजालाई निशुल्करुपमा पढ्ने व्यवस्था गरेकोमा आभार व्यक्त गरे ।सो अवसरमा धनगढीका सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

आर्थिकरुपमा विपन्न स्वर्गिय पत्रकार जेपीका दुई छोरीहरुलाई पत्रकार महासंघले नै विभिन्न निकायलाई आग्रह गरेर निशुल्करुपमा पठनपाठन गराइरहेको छ ।

स्वर्गिय जोशीकी अर्की छोरी गीता जोशीलाई अत्तरियास्थित एभरेष्ट बोर्डिङ स्कुलले निशुल्क पढाउने व्यवस्था गरेको प्रिन्सिपल स्माइल चौधरीले बताए ।

जोशी ०७४ पुसमा अत्तरियाबाट बेपत्ता भएका थिए भने त्यसको एक महिनापछि उनको कंकाल अत्तरिया नजिकैको जंगलमा भेटिएको थियो । यद्यपी उनको डिएन टेस्ट मिलेको छैन ।

धनगढीको एक्सिस विद्याश्रमका सञ्चालक अनिता पन्त र आमा बसन्ती जोशीसित पूजा जोशी । तस्बिर : प्रकाशविक्रम शाह


प्रतिक्रिया दिनुहोस्
विशेष समाचार