१४ बैशाख २०८१, शुक्रबार

कलुवापुर–बेलौरी सडक स्तरोन्नति लगभग पूरा



फाइल तस्बिर

कञ्चनपुर / सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत निर्माण भइरहेको कलुवापुर– बेलौरी सडक स्तरोन्नतिको कार्य ८० प्रतिशत पूरा भएको छ ।

दुई खण्डमा विभाजित गरेर सडकमा वेस राख्ने र कालोपत्र गर्ने कार्य भइरहेको छ । सडकको बेलौरीस्थित नेपाल–भारत सीमा क्षेत्रदेखि चाँनदेउसम्मको १४ किलोमिटर र चाँनदेउदेखि कलुवापुरसम्मको १४ किलोमिटर गरी २८ किलोमिटर क्षेत्रमा कालोपत्रको कार्य भइरहेको छ ।

पूर्वाधार विकास कार्यालयका प्रमुख दीपकसिंह नेगीका अनुसार हालसम्म जम्मा ११ किलोमिटर सडकमा कालोपत्र भएको छ । सडकको बाँकी भागमा कालोपत्र गर्ने कार्य भइरहेको छ ।

आव २०७२/७३ मा सन्तोषी थेगिम जेभीसंग रु १८ करोड २० लाखको लागतमा सडक कालोपत्र गर्न ठेक्का सम्झौता गरिएको हो । ठेक्का सम्झौता भए पनि निर्माण कम्पनीले कालोपत्र गर्ने कार्यमा विलम्ब गर्दा कार्य सुस्त हुँदै आएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने कालागौंडीदेखि चानदेवसम्मको करिब तीन किलोमिटर सडक कालोपत्र गर्ने कार्यका लागि बेस राख्ने कार्य पूरा भएको छ ।

निकुञ्ज कार्यालयले वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) प्रतिवेदन पेश नगर्दासम्म सडक कालोपत्र गर्ने कार्यअगाडि बढाउन दिएको छैन कार्यालय प्रमुख नेगीले भने, प्रतिवेदन तयार गरी पेश गर्नका लागि कार्य अगाडि बढेको छ । पुरानै सडकको मौजुदा संरचनाको स्तरोन्नति गरेर लैजा“दा निकुञ्जले अवरोध गरेको हो ।

जिल्लाको पुरानो सदरमुकाम बेलौरी हुँदादेखि नै पाँच दशकअघिदेखि चलनचल्तीको सडकका रुपमा यो सडक रहेको छ । विसं २०१९ मा बेलौरीदेखि महेन्द्रनगर सदरमुकाम सारिएको थियो । बेलौरी सदरमुकाम हुँदा सञ्चालनमा आएको सो सडक कालोपत्र निर्माण अहिलेसम्म पूरा हुन पाएको छैन ।

प्रमुख नेगीले सडक डिभिजन कार्यालयबाट हस्तान्तरण भएर आएपछि सडक निर्माण कार्यलाई प्राथमिकता दिइएको बताए । बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी सडक कालोपत्र गर्ने कार्यलाई जति सक्दो छिटो पूरा गर्नुपर्ने बताए ।

विगतको तुलनामा सडक कालोपत्र गर्ने कार्य सन्तोषजनक रुपमा अगाडि बढेको छ, उनले भने, निकुञ्जको अवरोधबारे प्रदेश सरकारलाई अवगत गराइसकेका छौ । सडक निर्माणसंगै बेलौरी बजार क्षेत्रमा नाली निर्माण गरिनुपर्छ भनेका छौं ।

सडक कालोपत्र भएमा छोटी भन्सार कार्यालयको राजस्व संकलनमा समेत वृद्धि हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार