१० श्रावण २०८१, बिहीबार

बिन्धेबासिनी सरानीको पहिरोग्रस्त क्षेत्रमा भूगर्भविद्को टोली



धनगढी / अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ५, विन्धेवासिनीको सरानी गाउँको पहिरोग्रस्त क्षेत्रमा भू–गर्भविद्को टोलीले अध्ययन सुरु गरेको छ । जलस्रोतविद् हाइड्रोलोजिस्ट इन्जिनियर राजेन्द्र शर्मासहितको टोलीले पहिरो गएको क्षेत्रको अध्ययन शुरु गरेको बताइएको छ ।

भूगर्भविद्को टोलीले साविकको स्थानमा बस्न मिल्ने/नमिल्ले अवस्थाको अध्ययन गरेको गाउँपालिकाका अध्यक्ष लोगबहादुर बोहराले जानकारी दिए । सो टोलीले विस्तृत अध्ययनपछि प्रतिवेदन गाउँपालिकालाई हस्तान्तरण गर्ने उनले बताए ।

‘सो प्रतिवदेनका आधारमा प्रभावित परिवारलाई अन्यत्र सार्ने कि ? के गर्ने ? भन्ने बारेमा गाउ“पालिकाले निर्णय लिने छ’ अध्यक्ष बोहराले भने– बस्ती नै सार्नुपर्ने भए एकीकृत बस्ती बसाइने छ ।

उनले बस्ती बसाउने काम आगामी असोज १ गतेबाट सुरु गरिने गाउँपालिकाको सोच रहेको बताए । सरानीखोलादेखि सुरु भएको पहिरो बस्तीमै पुगेको छ ।

पहिरोका कारण ५१ परिवार घर छोडेर पालमुनी सडकमा बसिरहेका छन् । गाउँको तलबाट पहिरो खसेपछि गाउँ नै जोखिममा परेको छ ।

एक सय सात घरपरिवारको बसोबास रहेको सरानीमा ५३ घरधुरी उच्च जोखिममा छन् । पहिरो र गाउँको दूरी करिब सय मिटरको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार