२८ भाद्र २०८१, शुक्रबार

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसी



बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त भएका छन् । 

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार उनलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनले बिहीबार मध्यान्ह नियुक्तिपत्र बुझेको माओवादी प्रमुख सचेतक तुलाराम घर्तीले बताए । केसी रोल्पाको निर्वाचन क्षेत्र १ को ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

एमालेका तर्फबाट मुख्यमन्त्री बनेका शंकर पोखरेलको राजीनामासँगै प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार ३ बजेसम्म सरकार गठनको दाबी पेस गर्न आह्वान गरेका थिए । उक्त समयमा उनको मात्रै दाबी परेको थियो । लुम्बिनी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र सूर्य चिन्हबाट चुनाव लडेका एक सदस्यसहितको गठबन्धनको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।

मुख्यमन्त्री केसीको आजै शपथ हुँदैछ । अपरान्ह ४ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण कार्यक्रम आयोजना हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । उनको शपथलगत्तै सानो आकारको मन्त्रिपरिषद गठन हुनेछ । जसमा मुख्यमन्त्रीसहित ६ जना मन्त्री रहनेछन् ।

एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि केसीले बिहीबार बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार