२८ भाद्र २०८१, शुक्रबार

धनगढीमा भारी वर्षा



धनगढी । कैलालीको धनगढीमा भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा धनगढीमा एक सय ४३ दशमलब आठ मिलिलिटर वर्षा भएको छ ।

एक घण्टामा ६० मिलिलिटर, ३ घण्टामा ८० मिलिलिटर, छ घण्टामा एक सय मिलिलिटर, १२ घण्टामा एक सय २० मिलिलिटर र २४ घण्टामा एक सय ४० मिलिलिटरभन्दा बढी वर्षा भए सर्तकता तह मानिन्छ । धनगढीमा छ घण्टामा ६९ दशमलब ८ मिलिलिटर, १२ घण्टामा एक सय २९ दशमलब दुई र २४ घण्टामा एक सय ४३ दशमलब आठ मिलिलिटर वर्षा भएको छ ।

धनगढीमा भारी वर्षा भएपछि धनगढीका अधिकाँस क्षेत्र जलमग्न भएको छ । धनगढीको मुख्य सडक चौराहदेखि क्याम्पसरोडमध्ये लक्ष्मीनारायण चौकदेखि पार्कमोडसम्मको सडक जलमग्न भएको छ । जलमग्नका कारण केही पसलभित्र पानी पसेको स्थानीयले बताए ।

यस्तै, सुदूरपश्चिम प्रदेश सभा सचिवालयको प्रवेश गेटपनि जलमग्न भएको छ ।

भर्खरै निर्माणाधिन चटकपुरदेखि क्याम्पसरोड सडक पनि जलमग्न भएको छ । नाली निर्माण भइरहेकाले निकास नहुँदा सो सडकमा पानी जमेको र यात्रा गर्न कठिनाई भएको छ । सो सडकका कारण त्यस क्षेत्रका केही घरमा पानी पसेको छ ।

धनगढीमा सबैभन्दा बढी एलएनचोक, शिवनगर, पार्कचोक, विशालनगर, मिलनचोक, चौराह, उत्तरबेहरीलगायतका अधिकांश क्षेत्र जलमग्न भएका हुन्। यस्तै वडा नं १, ३, ४ लगायतका वडामा केही घर तथा पसलमा पानी पसेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले विभिन्न क्षेत्र जलमग्न भएको बताए। उनका अनुसार जिल्ला प्रहरी कार्यालयको परिसर पनि जलमग्न भएको छ।

वडा नम्बर २ वाट पानी निकास भइरहेपनि अहिले विद्युत प्राधिकरण धनगढी शाखाको प्रांगण पनि जलमग्न भएको छ । भारी वर्षाका कारण सबैभन्दा बढी वडा नम्बर २ प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार