७ जेष्ठ २०८१, सोमबार

आधा किलो सुन सहित तीन जना पक्राउ



धनगढी । अत्तरियाबाट महेन्द्रनगर तर्फ गइरहेको बसलाई चेकजाँच गर्दा प्रहरीले करिब आधा किलो सुन सहित तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शैलेश्वरी सुनचाँदी पसल अत्तरियाका सञ्चालक समिर सिजापती, सोही सुनचाँदी पसलमा कार्यरत सुनसरीका राजु बिक र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का भवानी घिमिरे ४४९ दशमलव ७७ ग्राम सुनसहित बुधबार पक्राउ परेका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, अपराध अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालय मालाखेतीको सयुक्त टोलीले काठमाडौबाट आएर महेन्द्रनगरतर्फ जाँदै गरेको ना ८ ख ८३४९ नम्बरको महाकाली यातायातको बसलाई चेकजाँच गर्दा सो बसका कण्डक्टर घिमिरेको साथबाट ४९ दशमलव ९५ ग्राम अवैध सुनको बाला र नगद २६ हजार बरामद गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

उनीहरुबाट ४९ हजार बढी नगद र ५ थान मोबाइल पनि बरामद गरिएको अधिकारीले बताए । उनले बसमा सवार राजु बिकबाट सुनको बाला र सिक्री गरी जम्मा ३४९ दशमलव ८७ ग्राम अवैध सुन बरामद गरेको बताए । उनीबाट ६ हजार ९ सय रुपैयाँ समेतबरामद गरिएको छ ।

उनीहरुसँग सोधपुछ गर्ने क्रममा सुन अत्तरियाका व्यवसायी समिर सिजापतीको खुलेपछि सिजापतीलाई पनि पक्राउ गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताए । सिजापतीको खान तलासी गर्दा उनीबाट ४९ दशमलव ९५ ग्राम अवैध सुनको बाला र १६ हजार तीन सय नगद बरामद भएको प्रहरीले जनाएको छ ।

भवानी घिमिरे र समिर सिजापतीको साथमा कतार दोहाको बिल रहेको तर किन्ने व्यक्तिको बिबरण फरक रहेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, कोहलपुर पठाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार