७ जेष्ठ २०८१, सोमबार

दार्चुला घटनाः छानविन समिति फर्कियो, ड्रोन उडाउन भारतको अनुमति कुर्दै



अझै भेटिएनन् महाकालीमा वेपत्ता भएका दार्चुलाको व्यास गाउँपालिका–२ मालगाउँका ३३ वर्षीय जयसहि धामी


दार्चुला / भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन फुकालिदिदा यहि साउन १५ गते महाकालीमा वेपत्ता भएका व्यास गाउँपालिका–२ मालगाउँका ३३ वर्षीय जयसहि धामीको घट्नाबारे छानविन गर्न दार्चुला पुगेको समिति सोमबार साँझ फर्किएको छ ।

१७ गते गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वमा गठित छानविन समिति आठ दिनको दार्चुला अध्ययनपछि फिर्ता भएको हो ।
समितिले बैतडी हुँदै महेन्द्रनगरसम्म घट्नाबारे जानकारी लिने र महाकाली नदीसँग सीमा जोडिएका जिल्लाहरुका सुरक्षा अधिकारीहरुसँग भेटघाट गरेर जयसिंहको खोजिका लागि समन्वय गर्ने जनाएको छ ।

जयसिहको खोजि गर्न ड्रोन क्यामरासहितको नेपाल प्रहरीको प्राविधिक टोली आइतबारदेखि दार्चुलामै छ । भारतीय पक्षले मंगलबारसम्म महाकालीमा ड्रोन क्यामेरा प्रयोगको लागि अनुमति दिने/नदिने बारेमा जवाफ नपठाएको कारण अहिलेसम्म ड्रोन क्यामरा प्रयोग नगरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

सीमा क्षेत्रमा ड्रोन क्यामरा प्रयोग गर्न दुबै देशको सहमती आवश्यक पर्छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय प्रशासनलाई महाकाली नदी क्षेत्रमा ड्रोन क्यामरा प्रयोगका लागि सहमति माग गरेपनि मंगलबारसम्म जवाफ प्राप्त भइनसकेको छानविन समिति सदस्य एवम् दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी जोत्स्ना भट्ट जोशीले बताइन ।

भारतीय पक्षले जवाफ नदिए ड्रोन क्यामरा नेपालतिरकै भू–भागबाट प्रयोग गर्ने नेपाली पक्षको तयारी रहेको प्रहरीले जनाएको छ । व्याँस गाउँपालिका–२ मालघाट देखि दार्चुला सदरमुकामको २५ किलोमिटर क्षेत्रमा ड्रोन क्यामरा प्रयोग गर्ने तयारी छ । व्यवहारीक रुपमा कुरा मिलाएर ड्रोन क्यामरा प्रयोग गर्ने प्रयास भइरहेको सुरक्षा स्रोतले जनाएको छ ।

सरकारले छानबीन समितिलाई १० दिन भित्र प्रतिवेदन बुझाउन समयसीमा दिएको थियो । समितिलाई दिइएको समय बुधबार सकिदैछ । तर प्रतिवेदन तयार पार्ने काम अझै नसकिएकोले निर्धारित समयमा प्रतिवेदन बुझाउने सम्भावना न्यून रहेको छ । प्रतिवेदन बुझाउन केहि दिन ढिलो हुनसक्ने समिति संयोजक जनार्दन गौतमले बताए ।

छानबीन समितिले दार्चुलामा बस्दा नेपाल र भारत दुवैतर्फबाट घट्नास्थलको निरीक्षण गर्नुका साथै जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, मानवअधिकारकर्मी, स्थानीयबासी, घट्नाका प्रत्यक्षदर्शी र सुरक्षा निकायसँग छलफल गरेर सूचना संकलन गरेको छ ।

पीडित परिवारलाई भेटेर समेत समितिले छलफल गरेको संयोजक गौतमले जानकारी दिए । सरोकारवालाहरुको सुझाव, सुरक्षाकर्मी र प्रत्यक्षदर्शीको बयानका आधारमा घटनाको बिश्लेषण गर्दै प्रतिवेदन तयार पार्ने काम भइरहेको उनले बताए ।

न्यायका लागि हस्ताक्षर संकलन
एसएसबीले तुइन फुकालिदिदा बेपत्ता भएका जयसिंह धामीको न्यायका लागि दार्चुलामा हस्ताक्षर संकलन अभियान शुरु भएको छ । मौलिक जरोकिलो पार्टीको आयोजनामा शैल्यशिखर नगरपालिकामा सोमबारबाट हस्ताक्षर संकलन अभियान शुरु भएको हो ।

बेपत्ता भएका धामीको न्यायका लागि ८ बुँदे माग राख्दै हस्ताक्षर संकलन अभियान शुरु गरिएको मौलिक जरोकिलो पार्टीका शैल्यशिखर संयोजक तोयराज जोशीले जानकारी दिए ।

दार्चुला सदरमुकाममा पनि हस्ताक्षर संकलनको तयारी भइरहेको र बैतडी, कञ्चनपुर लगायत विभिन्न जिल्लामा जयसिहको न्यायका लागि हस्ताक्षर संकलन भइरहेको उनको भनाई छ ।

मौलिक जरोकिलो पार्टीले घटनाको स्वतन्त्र र निष्पक्ष छानबीन हुनुपर्ने, छानविनमा स्थानीय जनता र सञ्चार माध्यमका आवाज समेट्नुपर्ने, घटनाका दोषीलाई कारवाहीका लागि कुटनीतिक पहल गर्नुपर्ने, झोलुंगे पुल निर्माण अलपत्र छोड्ने ठेकेदारलाई कारवाही हुनुपर्ने माग राखेको छ ।

यस्तै अबिलम्ब झोलुंगे पुल निर्माण हुनुपर्ने, तिंकर सडकलाई राष्ट्रिय गौरवको आयोजनामा राखी यथाशीघ्र निर्माण गर्नुपर्ने र सीमा क्षेत्रका नागरिकलाई गास, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहुलियत दिनुपर्ने माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार