७ जेष्ठ २०८१, सोमबार

घुराहामा पुल उद्घाटन



धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले घुराहा नदीमा पक्की पुल उद्घाटन गरेका छन् ।


कैलारी गाउँपालिका वडा नम्बर ६ निर्माण भएको सो पुल मन्त्री सोडारीले आइतबार उद्घाटन गरेका हुन् । उनले निर्माण सम्झौता भएको १७ महिनामै पुल निर्माण सम्पन्न गरी पुर्वाधार विकास निर्माणको कामलाई तीब्रता दिएको प्रमाण दिएको बताए ।

उनले प्रदेश सरकार खोज्नेलाई जवाफ दिन घराहा पुललाई तिब्रगतिमा निर्माण गरेको दावी गरे । ‘संघीयता मन नपराउनेहरूले खै प्रदेश सरकार भनेर कराइरहेका छन्,’ मन्त्री सोडारीले भने, ‘हामीले घुराहा पुल बनाएर हेर्नुस् प्रदेश सरकार जनताका काम गर्दै छ भनेका छौं ।’

राजिपुर, गदरिया, फुलबारी जोड्ने सो पुल निर्माणका लागि भौतिक पुर्वाधार विकास कार्यालयले आर्थिक वर्ष २०७६÷०७७ मा २ बर्ष काम सम्पन्न गर्ने गरी ठेक्का लगाएको थियो । एक सय ८ मिटर लम्बाई रहेको सो पुल १३ करोड ५२ लाखमा रसुवा जयविष्णु जेभीले निर्माण गरेको पुर्वाधार विकासका कार्यलय कैलालीका प्रमुख सिनियर डिविजनल ईञ्जिनियर श्याम खड्काले जनाए ।

पुल उद्घाटन प्रदेश सभाको प्रदेश मामिला तथा विधायन समितिका सभापति नेपालु चौधरी, प्रदेश सभा सदस्य सुशिला बुढाथोकी, कैलारी गाउपालिका अध्यक्ष लाजुराम चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार