१३ बैशाख २०८१, बिहीबार

जुवाडे भगाएर खालको पैसा प्रहरीले लिएपछि…




धनगढी /
धनगढी उपमहानगरपालिका–३ बडहरास्थित एएफसी रेस्टुरेन्टमा सोमवार दिउँसो जुवा खेलीरहेकाहरुबाट प्रहरीले पैसा असुलेर छोडेको छ ।

जुवा भैरहेको सूचना पाएर सिभिल पोशाकमा गएको प्रहरी टोलीले जुवाको खालमा रहेको रकम लिएर जुवाडेलाई छोडेको हो ।
जिल्ला प्रहरी कार्यालय र सुदूरपश्चिम प्रदेश अनुसन्धान समुह (आर आई टी) को संयुक्त टोलीले छापा मारेको थियो ।

प्रहरीले छापा मार्दा हजारौँ रुपियाँको बाजी राखेर जुवा भइरहेको थियो । प्रहरीले कुनै पनि जुवाडेलाई पनि समातेन । जुवाडेसँग भएको सबै पैसा लग्यो । रेस्टुरेन्टको काउन्टर समेत फुटायो एक प्रत्यक्षदर्शीले बताए ।

ती प्रत्यक्षदर्शीका अनुसार प्रहरीले जुवाडेसँग भएको सबै पैसा लिएर सबै जुवाडेलाई भगाएको थियो । सुरुमा भागेकालाई प्रहरीले बाहिरबाट समातेर भित्र ल्याएर पछि छोडेको दावी प्रत्यक्षदर्शीको छ ।

“भूतपूर्व सैनिकले संचालन गरेको रेस्टुरेन्टमा संचालकले मलाई दिउँसो खाना खान वोलाएका थिए, त्यहाँ सबै गरेर १२ जना जति थियौं । म त तास खेलिरहेको थिइन । एक्कासी प्रहरी आएपछि म भागेर पछाडितिर गए । पछाडि प्रहरीले घेरा हालिसकेको रहेछ, दुई जना प्रहरीले धकेल्दै भित्र नै पठाए ’उनले भने, ‘पछि प्रहरीले सबैलाई जान दिएपछि म पनि भागेर गए ।” ती प्रत्यक्षदर्शीको बताए ।

आफूसँग भएको पैसा लैजान र आफूहरुलाई छोडिदिन भनेर जुवाडेले आग्रह गरेपछि पैसाको प्रलोभनमा परेर जुवाडेलाई भगाएको छापा मार्न संलग्न एक प्रहरीले बताएका छन् । जुवाडे भगाइएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दानबहादुर रोकायको नेतृत्वमा मुचुल्का बनाउन प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले ८५ हजार मात्र फेला परेको मुचुल्का बनाएको छ । जवकी त्यहाँ ६–७ लाख बढीको जुवा भएको थियो । छापा मार्न संलग्न प्रहरीले ८५ हजार मात्र त्यहाँ छोडेर बाँकी आफैले लगेका थिए प्रहरी स्रोतकै भनाइ छ ।

प्रहरी नायव निरिक्षक केशव जोशीको नेतृत्वमा आर आईटीका तीन जना र जिल्ला प्रहरीका दुई जना गरेर पाँच जनाको टोली सिभिल पोशाकमा छापा मार्न गएको थियो । प्रहरी नायव निरीक्षक जोशीले भने आफू अलि ढिला पुगेको र त्यहाँ आफू पुगुन्जेल जुवाडे भागिसकेको बताए । छ लाख पैसा काउन्टरमा छ भनेर सूचना पाएपछि प्रहरी टोलीले काउन्टर समेत तोड्न लगाएको थियो ।

रेस्टुरेन्टको काउन्टरमा पैसा छ भन्ने सूचना पाए पनि काउन्टर तोड्दा पैसा नभेट्टाएको प्रहरीको दाबी छ । एक खुराक लागू औषधसहित एक जना पक्राउ परेपनि जानकारी सार्वजनिक गरेको प्रहरीले जुवामा छापा मारेको घटना गुपचुप राखेको थियो ।

जुवाडेलाई भगाएर पाँच लाख भन्दा बढी रकम प्रहरीले लिएको भन्ने कुरा जिल्ला प्रहरी कार्यालयका प्रहरीहरुकाबीचमा सनसनी फैलिएको छ । पैसा लिनमा संलग्न नभएका प्रहरीले सो घट्नामा असन्तुष्टी व्यक्त गरिरहेका छन् ।

ती जुवाडे सबैसंग एक लाख बढी नगद हुन्छ उनीहरुले चेक पनि बोकेका हुन्छन् ती प्रत्यक्षदर्शीको भनाइ छ त्यहाँ जुवा खेल्ने जुवाडे धेरै सम्पति भएका ठूला जुवाडे हुन ।

त्यहाँ ८५ हजार मात्र भेटियो भनेर भन्नु सरसर झुट कुरा हो एक प्रहरीले भने १२ जनामध्ये एक जना पनि पक्राउ नपर्नु नै रहस्यमयी छ ।
तर कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जुवा खेलिरहेकाबाट रकम लिएको भन्ने कुरा गलत भएको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार