१६ चैत्र २०८०, शुक्रबार

सीमामा खटिएका स्वास्थ्यकर्मीहरूले पाएनन जोखिम भत्ता



धनगढी । कोरोना महामारीको पहिलो लहरदेखि नै कैलाली र कञ्चनपुरसंग जोडिएको गौरिफण्टा नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा खटिएका छन्, स्वास्थ्यकर्मी गणेशबहादुर साउँद ।

२०७६ साल चैत महिनाको दोस्रो सातादेखि भारतबाट घर फर्किने नेपालीहरूको कोरोना परीक्षण गर्न पुनर्बास नगरपालिकाले उनीसहित दुई जना स्वास्थ्यकर्मीलाई सिमानाकामा खटाएको थियो । मुखमा मास्क, ज्वरो नाप्ने (थर्मल गन), एन्टिजेन किटबाट आगन्तुकको कोरोना परीक्षण गर्दै उनी नाकामा खटिएको एक वर्षभन्दा बढी भयो । तर, सरकारले दिने भनेको जोखिम भत्ता उनले झैं पुनर्बास नगरपालिकाबाट पाएका छैनन् ।

‘५० प्रतिशत जोखिम भत्ता दिने भनेकोमा अहिलेसम्म केही पनि पाइएको छैन’ स्वास्थ्यकर्मी साउदले भने– कोरोना महामारीको पहिलो लहरमा तीन महिना सिमानाकामा खटिएर काम गरे । त्यो बेला पनि दिएनन् । दोस्रो लहरसम्मै यही नाकामा खटिएको छु ।

गणेशले कोरोनाको पहिलो लहरमा खटिएको बेला जोखिम भत्ता नपाए पनि निराश नभएको बताए । उनले भने– तर, दोस्रो लहरमा पनि नगरपालिकाले भत्ता उपलब्ध नगराउँदा धेरै दुःख लागेको छ ।

गौरिफन्टा सीमानाकामा कैलालीको धनगढी उपमहानगरपालिका र स्वास्थ्य कार्यालय कैलालीले पनि स्वास्थ्यकर्मीहरू खटाएका थिए । धनगढी उपमहानगरपालिका र स्वास्थ्य कार्यालयबाट खटिएका स्वास्थ्यकर्मीहरूले भने दुबै पटक जोखिम भत्ता पाएका छन् । पुनर्बास नगरपालिकाले कोभिड अस्पतालमा खटिएका स्वास्थ्यकर्मीहरूलाई दुबै पटक जोखिम भत्ता दिएको जनाइएको छ ।

गणेशले भने– सिमानाकामा संगै खटिएका सहकर्मीहरूले जोखिम भत्ता पाउने, तर हामी पुनर्वास नगरपालिकाबाट खटाइएका कसैले पनि नपाउनु विभेद हो ।

सीमानाकामै पुनर्वास नगरपालिकाबाट खटिएकी कमला ऐरले पनि अहिलेसम्म जोखिम भत्ता पाएकी छैनन । उनले भनिन्– नपाउने निश्चित त होइन । दिने भन्नु भएको छ । अब पाउँछ पाउँदैन थाहा भएन ।

कमला कोरोनाको दोस्रो लहरको सुरुवातदेखि गौरिफन्टा सिमानाकामा खटिएकी हुन् ।

‘गौरिफण्टाजस्तो सिमानाकामा खटिएर काम गर्दा गाह्रो र जोखिम त हुने नै भयो’ उनले भनिन्– काममा खटिएका सबैलाई समान हिसाबले राज्यले सेवा सुविधा उपलब्ध गराउनुपर्छ ।

उनले केही समयमा आइसोलेसनमा खटिएर काम गरेका व्यक्तिले जोखिम भत्ता पाएको, तर आफुहरू निरन्तर नाकामा खटिएर काम गर्दा पनि नदिएकोमा आक्रोस व्यक्त व्यक्त गरिन् । कोरोना संक्रमणकोे पहिलो लहरमा पुनर्बास नगरपालिकाले तीन जनालाई गौरिफन्टा सिमानाकामा खटाएको थियो । भने दोस्रो लहरमा थप छ जनालाई खटाएको छ । अहिले दोस्रो लहरमा सिमानाकामा खटिएका कुनै पनि स्वास्थ्यकर्मीलाई जोखिम भत्ता नदिएको पुनर्बास नगरपालिका प्रमुख जीवन थापाले बताए । उनले भने– हामीले कोभिड अस्पतालमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई जोखिम भत्ता दिइसकेका छौं । सिमानाकामा खटिएका छ जना कर्मचारी करारमा भर्ना गरेकोले तलबबाहेक भत्ता दिइने गरेको छैन ।

नर प्रमुख थापाले कोरोनाको पहिलो लहरमा खटिएका तीन जना स्वास्थ्यकर्मीहरूलाई नियमअनुसार भत्ता उपलब्ध गराइने बताए ।

नगरपालिकाले के–कति स्वास्थ्यकर्मीहरूलाई जोखिम भत्ता उपलब्ध गराएको छ भन्ने तथ्यांक माग्दा पुनर्बास नगरपालिकाको कार्यालयले उपलब्ध गराउन आनाकानी गरेको छ । नगरपालिकाको स्वास्थ्य शाखाबाट सो तथ्यांक माग्दा त्यहाँ भएका कर्मचारीहरूले शाखा प्रमुख नभएको हुँदा आफुहरू सोबारे जानकारी नभएको प्रतिक्रिया दिए ।

पुनर्बास नगरपालिकाका सूचना अधिकारी धौलराम सार्कीले स्वास्थ्य कार्यालयसंग विवरण माग्न भनेर पन्छिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार