६ बैशाख २०८१, बिहीबार

तुइन काट्न प्रयोग भएको आरी सार्वजनिक



तुइन काट्दा नेपाली युवक वेपत्ता घटना, प्रशासनको अपिल– संयम बनौ, भारतीय पक्षको दावी – हाम्रो संलग्नता छैन


धनगढी / दार्चुलाको ब्यास, मालघाटमा भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले तुईन काट्दा नेपाली युवक जयसिंह धामी महाकाली नदीमा खसेर वेपत्ता भएको घटनाको विरोधमा स्थानीयहरूमा आक्रोस बढ्न थालेको छ ।

घटनाको विरोधमा शनिबार सदरमुकाम खलंगामा युवाहरूले चर्को विरोध प्रदर्शन गरेका छन् । वेपत्ता जयसिंहका आफन्तहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषिलाई कारबाहीको माग गर्दै भारतीय पाँगल पुलिस थानामा आवेदन दिएका छन् ।

घटनाबारे विभिन्न समाचार माध्यम तथा सामाजिक सञ्जालहरूमा चर्को विरोध भइरहेको छ । राजनीतिक दलका कार्यकर्ता, नेताहरू एकअर्कामाथि आरोप लगाउने ध्याउन्नमा देखिएका छन् ।

दार्चुला प्रशासनले घटनाबारे घटनाबारे छानबिन भइरहेकोले भ्रामक तथा तथ्यहीन समाचार, सूचना प्रकाशन नगर्न अपिल गरेको छ ।

उता, भारतीय पक्षले तुइन काटिएर नेपाली युवा महाकालीमा खसेर वेपत्ता भएका घटनामा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेको छ ।
यसैबीच, तुइन काट्न प्रयोग भएको हाते आरीको तस्वीर सार्वजनिक भएको छ । आरी हातमा लिएका एसएसबीका एक जवानको तस्वीर सार्वजनिक भएको हो ।

दार्चुलाको ब्याँस गाउँपालिका वडा नम्बर २, मालका जयसिंह धामी तुइनबाट भारतको बाटो हुँदै दार्चुला सदरमुकाम आउने क्रममा मालघाटमा शुक्रबार बिहान एसएसबीका दुई जवानले तुइन काटेका थिए ।

तुइन काटिँदा जयसिंह तार सहित महाकाली नदीमा खसेर वेपत्ता भएका थिए । घटनापछि शुक्रबार दिउँसो नै दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले “घटनाको सत्यतथ्य छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन” भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाधिकारी (डीएम) लाई पत्राचार गरेका थिए ।

तर, जिल्ला प्रशासन कार्यालयले शनिबार साँझ विज्ञप्ती जारी गरी “दुई देशबीचको सम्बन्धमा खलल पार्ने कुनै पनि किसिमका भ्रामक, तथ्यहीन समाचार, सूचना प्रकाशन नगरिदिन” अनुरोध गरेको छ ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट (जोशी) द्वारा जारी विज्ञप्तीमा भनिएको छ– “घटनाका सम्बन्धमा वास्तविक सत्यतथ्य जानकारी गराई आवश्यक कारबाही अगाडी बढाउन भनि भारतीय समकक्षीलाई पत्राचार समेत गरिसकिएको र सो घटना छानबिन/अनुसन्धान कै क्रममा रहेकोले सत्यतथ्य पुष्टि नभइसकेको अवस्थामा दुई देशबीचको सम्बन्धमा खलल पार्ने किसिमका कुनै पनि तथ्यहीन भ्रामक समाचार/सूचना प्रकाशन नगरी दिन” अनुरोध छ ।

विज्ञप्तीमार्फत जिल्ला प्रशासन कार्यालयले सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका अधिकृतहरूको एक टोली घटनास्थलमा खटिएको र हालसम्म कुनै औपचारिक जानकारी प्राप्त हुननसकेको समेत जनाएको छ ।

तुइन काटिएर नेपाली नागरिक नदीमा वेपत्ता भएको घटनाबारे दार्चुलाबाट अनुमोदनसंग फोनमार्फत कुरा गर्दै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सिद्धराज जोशीले “घटनाबारे छानबिन भइरहेको सन्दर्भमा विभिन्न समाचार माध्यम र सामाजिक सञ्जालमा “अनर्गल” समाचार, सूचना प्रकाशन भइरहेको हुँदा संयम रहन अपिल गरिएको बताए ।

“कुनै राजनीतिक वा अन्य किसिमको दबावका कारण प्रशासनले विज्ञप्ती जारी गरेको त होइन ?” भन्ने अनुमोदनको प्रश्नमा प्रजिअ जोशीले भने– होइन । त्यस्तो कुनै दबावका कारण नभएर घटनाबारे धेरै अनर्गल कुराहरू आउन थालेकोले संयम रहन अनुरोध मात्रै गरिएको हो ।

उनले नेपाल र भारतका सरकारी अधिकारीहरूले घटनाबारे छानबिन गरिरहेको र आइतबार दिउसोसम्म सत्यतथ्य सार्वजनिक गरिने बताए ।
यसैबीच, तुइन काट्न एसएसबीले प्रयोग गरेको आरीको तस्वीर सार्वजनिक भएको छ । दार्चुला खलंगाका एक स्थानीयका अनुसार तुइन काटिँदा महाकालीमा जयसिंह खसेका वेला किनारामा रहेका उनका साथीहरूमध्ये एक जनाले सो आरीको तस्वीर खिचेका थिए ।

प्रत्यक्षदर्शीको भनाई उधृत गर्दै ती स्थानीयले भने– महाकाली नदीमाथि तुईन तरेर भारतको बाटो हुँदै दार्चुला (नेपाल) को सदरमुकाम खलंगा आउने क्रममा एसएसबीले तुइन काटेका हुन् । जयसिंहका दुई जना साथीहरू उनीभन्दा अगाडी तुइृन तरेर भारतको सडकमा पुगिसकेका थिए । जयसिंह तुइन तरेर भारतमा पुग्ने वेलैमा एसएसबीले काटेका थिए ।

महाकालीमा वेपत्ता भएका जयसिंह आफन्तहरूले घटनाबारे मुचुल्का उठाएर प्रारम्भिक अनुसन्धान रिपोर्ट (एफआइआर) बनाउन भारतको पाँगल प्रहरी थानामा उजुरी दिएका छन् । उनका आफन्त बहादुर सिंह धामी र जोगा सिंह धामीले थानामा पुगेर उजुरी दिएका छन् ।
तर, शनिबार साँझसम्म पाँगल प्रहरी थानाले घटनाबारे एफआइआर दर्ता गरेको छैन ।

त्यस्तै, ब्यास मालका स्थानीयले तुइन काटेका कारण जयसिंह महाकाली नदीमा वेपत्ता भएको घटनाका दोषिहरूलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

घटनाको विरोधमा शनिबार खलंगामा युवाहरूले चर्को विरोध गरेका छन् । खलंगाबाट पत्रकार प्रेम चुनाराले दिएको जानकारी अनुसार शनिबार अनेरास्ववियु र युथ फोर्समा आवद्ध युवाहरूले विरोध प्रदर्शन गर्नुका साथै नेपाल भारत जोड्ने पुलको छेउमा विरोध सभा समेत गरेका छन् ।

बझाङमा पनि नारा जुलुस
एसएसबीले तुईन काटेरपछि खसेर बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको न्यायका लागि बझाङमा पनि विरोध जुलुस प्रदर्शन भएको छ ।
शनिबार नेपाल कम्युनिष्ट पार्टी नेकपा (विप्लव) ले चैनपुरमा विरोध जुलुस प्रदर्शन गयो ।

भारतीय पक्षको दाबी– हाम्रो संलग्नता छैन
भारतीय पक्षले महाकाली नदीमा नेपाली युुवा जयसिंह धामी बेपत्ता भएको घटनामा एसएसबीको संलग्नता नरहेको दाबी गरेको छ ।

शुक्रबार दार्चुला जिल्ला प्रशासन कार्यालयले पठाएको पत्रको शनिबार साझ जवाफ फर्काउदै भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाका डीएम आनन्द स्वरुपले घटनामा एसएसवीको संलग्नता नरहेको दाबी गरेका छन् ।

भारतीय पक्षको दाबीलाई उधृत गर्दै दार्चुुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भने– तुुइन तर्न नसकेर जयसिंह आफैं खसेका हुुन् ।
नेपाली पक्षलाई पठाएको पत्रमा भारतीय पक्षले ‘घटनाको बेला एसएसबी मालघाट क्षेत्रमा ड्युटीमा खटिएको’ उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार