७ बैशाख २०८१, शुक्रबार

‘प्रकाश मानव अधिकार पुरस्कार’द्वारा नागरिक अभियन्ता चौधरी सम्मानित



धनगढी । अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले नागरिक आन्दोलनका अभियन्ता तथा मानवअधिकारकर्मी फिरुलाल चौधरीलाई ‘प्रकाश मानव अधिकार पुरस्कार’ सम्मानित गरेको छ ।


इन्सेकले शनिबार धनगढीमा एक समारोह आयोजना गरी चौधरीलाई शोषण, विपन्नता, विभेद मुक्त समाज निर्माणको अभियानमा तीन दशकदेखि क्रियाशील रहेको भन्दै ‘२७ औँ प्रकाश मानव अधिकार पुरस्कार’ प्रदान गरेको हो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले चौधरीलाई माला, दोसल्ला र सम्मान पत्र सहित चौधरीलाई सम्मानित गरेका थिए ।

जानकी गाउँपालिकामा बस्ने चौधरीले परस्कार स्वरुप ५० हजार रुपैयाँको चेक समेत प्राप्त गरेका छन् । उनलाई इन्सेकका अध्यक्ष डा. इन्दिरा श्रेष्ठले इन्सेकको लोगो प्रदान गरी सम्मान गरेकी थिइन् ।

विपन्न परिवारमा जन्मेर कमैया जीवन समेत विताएका चौधरीले कमैयामुक्ति, २०६२/६३ जनआन्दोलन, मजदुरको ज्याला बढाउने आन्दोलनको नेतृत्व समेत गरेका थिए । उनले हुराट्स नाम संस्था स्थापना गरी मानवअधिकारको क्षेत्रमा समेत अग्रणी भूमिका निर्वाह गरेका छन् ।

‘आफ्ना लागि सबै प्राणीले गर्छ, महान त्यो मान्छे हो जसले अरुका लागि गर्छ,’ सो अवसरमा मुख्यमन्त्री भट्टले, ‘उहाँले समाजका लागि गर्नुभयो । आज सम्मानित हुनुभयो ।’ उनले सामाजिक न्यायमा अझै पनि सन्तोषजनक परिवर्तन हुन नसकेको बताए ।

‘बोल्न पाउने, रोजगारी, सम्मानको अधिकार जनताले पाउन सकेको छैनन्,’ उनले भने, ‘संविधानको मौलिक हकमा लेखेको कुरा सामान्य नागरिकले चाहन्छ । स्वतन्त्र भएर बाँच्न पाउने कुरा छदैछ । जनताले सरकारी सुविधा सहज रूपमा पाउने सकेका छैनन् ।’

उनले सरकारी निकायले जनअपेक्षा अनुसार सहज रुपमा सेवा दिन नसकेको बताउँदै विकासको कुरा भन्दा पहिले जनतालाई सहज सेवा चाहिरहेको बताए । ‘समाज सुधारमा हामी पछाडि छौ,’ उनले भने, ‘विकृति विसंगतिलाई अन्त्य गर्ने र समुन्नत समाज बनाउनेतिर हामी सबै लागौं ।’

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का र इन्सेकका पूर्व अध्यक्ष सुशील प्याकुरेलले पनि कार्यक्रममा बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा इन्सेकको द्वैमासिक बुलेटिन ‘प्राचि’ को १००औं अंक समेत सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार