१२ बैशाख २०८१, बुधबार

दार्चुला घटना बारे सत्यतथ्य जानकारी गराउन प्रशासनले भारतलाई पत्र पठायो



दार्चुला । दार्चुलाको व्यास गाउँपालिका २ मालघाटमा तुइन काटेर जयसिह धामी वेपत्ता भएको विषयमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय प्रशासनलाई पत्रचार गरेको छ ।जिल्ला प्रशासन कार्यालय दार्चुलाले डिएम कार्यालय पिथौरागढ र एसडिएम कार्यालय धारचुलालाई सत्यतथ्य छानबीन गर्न पत्रचार गरेको निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले बताइन् । 

भारतीय एसएसबीले तुइन काटेर नेपाली युवकको मृत्यु भएको भन्ने सन्दर्भमा सत्यतथ्य के हो भनेर जानकारी माग गरेको उनले बताइन् ।यस्तै घट्नाको विषयमा सत्यतथ्य पत्ता लगाउन सुरक्षाकर्मी खटाइएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले घट्नाबारे वास्तविकता खुल्न नसकेको बताए । 

व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले शुक्रबार तुइन काटिदिँदा ३५ वर्षीय जयसिंह धामी महाकालीमा बेपत्ता छन् । महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले बताए । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार