१० श्रावण २०८१, बिहीबार

मन्त्री सोडारीद्धारा मोहना नदी कटान क्षेत्र निरिक्षण




धनगढी / सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीले मोहना नदीको कटान रोक्नका लागि आवश्यक पहल गर्ने बताएका छन् ।

धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३, चटकपुरदेखि कञ्चनपुरको कृष्णपुर नगरपालिकाका वडा नम्बर ९, राजघाट जोड्ने पक्की पुल वरपर नदी कटानले सरकारी कार्यालय र स्थानीयको जग्गा कटान गर्न थालेको छ ।

स्थानीयले सो कटान रोक्न माग गरेपछि मन्त्री सोडारीले शुक्रबार स्थलगत निरीक्षण गर्दे कटान रोक्न पहल गर्ने बताए ।

निर्माण शुरु भएको ७ वर्ष पुरा भए पनि पुल भने अझै अधुरो छ । पुलकै कारण मोहना नदीले धार परिवर्तन गर्दा वडा नम्बर ३ को वडा कार्यालय, स्वास्थ्य चौकी, गौशाल र स्थानीयको जग्गा कटान गर्न थालेको छ ।

संघ सरकारको आठ करोड ४२ लाख लगानीमा बन्न थालेको पुलले आवातजावतमा सजिलो होला भनेको एकातिर पुलै बनेन अर्कोतिर धार परिवर्तनले जग्गा कटान हुन थाल्यो स्थानीयबासिन्दा तथा माओबादी नेता निर्मल शाहले बताए ।

धनगढी र कृष्णपुरबासीलाई सो पुलबाट आवतजावत गर्न सजिलो हुने अपेक्षा गरिएको छ । सो पुल बन्दा कञ्चनपुरको बाइसेविछवाबासीहरु १० मिनेटमा धनगढी पुग्न सक्ने हुन्छ । पुल नहुँदा त्यहाँका बासिन्दाले गुलरिया, अत्तरिया हुँदै धनगढी आउनु पर्ने बाध्यता छ ।

निरिक्षणमा मन्त्री सोडारीसंगै माओवादी नेता रमेश धामी, वडा सदस्य ओम चन्द, युवासंघका नेता बाबुराजा श्रेष्ठ लगायतको टोली मोहना पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार