६ चैत्र २०८०, मंगलवार

फिरुलाल चौधरीले ‘प्रकाश मानव अधिकार पुरस्कार’ पाउने



धनगढी । कैलालीका सामाजिक अभियन्ता तथा मानव अधिकारकर्मी फिरुलाल चौधरी ‘प्रकाश मानव अधिकार पुरस्कार’ पाउने भएका छन् ।


अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले शोषण, विपन्नता, विभेद मुक्त समाज निर्माणको अभियानमा तीन दशकदेखि क्रियाशील रहेको भन्दै चौधरीलाई ‘२७ औँ प्रकाश मानव अधिकार पुरस्कार’ बाट सम्मानित गर्ने निर्णय गरेको छ । इन्सेकका महासचिव रुद्रबहादुर चर्मकारको संयोजकत्वमा गठन भएको तीन सदस्यीय पुरस्कार छनोट समितिले साउन ४ गते जानकी गाउँपालिका बस्ने फिरूलाल चौधरीलाई पुरस्कार दिने सिफारिस गरेको थियो ।


इन्सेकले शनिबार धनगढीमा एक समारोह आयोजना गरी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको प्रमुख आतिथ्यमा सो पुरस्कार वितरण गर्ने जनाएको छ । अभियन्ता चौधरीले पुरस्कार स्वारुप नगद ५० हजार र सम्मान पत्र पाउने इन्सेकका अध्यक्ष इन्दिरा श्रेष्ठले प्रेस विज्ञप्ति जारी गरेर जनाएकी छन् ।


इन्सेकले इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा थाई एयर दुर्घटनामा निधन भएपछि सो पुरस्कार स्थापना गरेको थियो । नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा स्वर्गीय काफ्ले पु¥याएको योगदानको स्मरणलाई चीरस्थायी बनाउने उद्देश्यले इन्सेकले “प्रकाश मानव अधिकार पुरस्कार”को स्थापना गरेको विज्ञप्तिमा जनाइएको छ । नेपालको मानव अधिकार, राजनीति, शिक्षा, स्वास्थ्य तथा सामाजिक लगायतका क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्तित्वलाई “प्रकाश स्मृति दिवस”को अवसर पारेर पुरस्कृत गर्ने गरिएको छ । सो पुरस्कारबाट यसअघि २६ जना सम्मानित भइसकेको इन्सेकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार