१३ बैशाख २०८१, बिहीबार

कर्णालीमा गाडी खस्दा बेपत्ता दम्पती भेटिएनन्



धनगढी । आफैले चलाएको गाडी कर्णाली नदीमा खस्दा बेपत्ता भएका दम्पती अझै फेला परेका छैनन् ।


नेपालगञ्जबाट उपचार गरेर घर फर्किने क्रममा चिसापानीको पिटमारीतिर घुम्न हिंडेका डोटीको आदर्श गाउँपालिकाका चन्द्रप्रकाश जोशी र उनकी श्रीमती रुपी कर्णालीमा बेपत्ता भएका छन् । शुक्रबार मध्यान्ह बेपत्ता भएका जोशी दम्पतीको खोजी तीन वटै सुरक्षा निकाय (प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना) ले गरिरहेको भएपनि साँझसम्म उनीहरु फेला नपरेको प्रहरीले जनाएको छ ।
उनीहरुले चढेको बा ११ च ९३८ नम्बरको गाडी कर्णालीमा खस्दा झाडीमा खसेका तीन जना बालबालिकाको प्रहरी उद्धार गरेको छ । गम्भीर घाइते रहेका उनीहरुलाई प्राथमिक उपचार पछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । जोशी दम्पतीका १२ वर्षीया छोरी लक्ष्मी, तीन वर्षीय छोरा भुवन र ५ वर्षीया छोरी सावित्रीको नेपालगञ्जमा उपचार भइरहेको छ ।
उनीहरुले चढेको गाडी कर्णालीमा भेटिएको छ । नदीमा भेटिएको गाडी निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार