२२ बैशाख २०८१, शनिबार

आन्तरिक राजश्व : लक्ष्यभन्दा २३ प्रतिशत बढि संकलन



धनगढी । आन्तरिक राजश्व कार्यालय धनगढीले गत आर्थिक वर्ष २०७७/७८ मा लक्ष्य भन्दा २३ प्रतिशत बढि राजश्व संकलन गरेको छ ।

गत आर्थिक वर्षका लागि चार अर्ब ५० करोड १० लाख ५४ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएकोमा पाँच अर्ब ५३ करोड छ लाख ३० हजार रुपैयाँ (१२२.८७ प्रतिशत) राजश्व संकलन भएको छ । आन्तरिक राजश्व कार्यालयका प्रमुख चन्द्रकुमार श्रेष्ठले अधिल्लो वर्ष कोरोना महामारीका कारण उठ्न नसकेको र वक्यौता रहेको राजश्व आर्थिक वर्ष २०७७÷७८ मा उठेकोले आन्तरिक राजश्व लक्ष्यभन्दा बढि संकलन भएको बताए ।

उनका अनुसार एक अर्ब ४१ करोड २२ लाख १२ हजार आयकर उठाउने लक्ष्य निर्धारण गरिएकोमा एक अर्ब ८३ करोड एक लाख ६८ हजार (१२९.६० प्रतिशत) संकलन भएको छ ।

त्यसैगरी, तीन करोड पाँच लाख ३२ हजार रुपैयाँ ब्याज संकलनको लक्ष्य राखिएकोमा तीन करोड १० लाख १८ हजार (१०१.९६ प्रतिशत), आन्तरिक मुल्य अभिबृद्धि कर ९५ करोड ९१ लाख ४७ हजार उठाउने लक्ष्य राखिएकोमा एक अर्ब ४३ करोड चार लाख सात हजार (१४९.१३ प्रतिशत), आन्तरिक एक्साईज एक अर्ब ९० करोड १६ लाख २६ हजार उठाउने लक्ष्य राएकोमा दुई अर्ब पाँच करोड ६० लाख १४ हजार (१०८.१२ प्रतिशत) र स्वास्थ्य सेवा कर छ करोड ४५ लाख ८४ हजार उठाउने लक्ष्य राखिएकोमा ११ करोड ३८ लाख ४५ करोड रुपैयाँ (१७६.२७ प्रतिशत) संकलन भएको छ ।

घरभाडा कर र शिक्षा कर भने लक्ष्यभन्दा कम संकलन भएको आन्तरिक राजश्व कार्यालय धनगढीले जनाएको छ । सरकारले शिक्षा कर हटाइसकेको भए पनि पहिलेकै तुलनामा लक्ष्य राखिएको हुनाले कम उठेको कार्यालय प्रमुख श्रेष्ठले बताए । उनले शिक्षा कर पुरानो बक्यौता रहेको मात्रै उठ्ने गरेको बताए । उनका अनुसार ७४ लाख ९२ हजार शिक्षा कर उठाउने लक्ष्य राखिएकोमा दुई लाख २७ हजार रुपैयाँ (३.०४) प्रतिशत संकलन भएको छ ।

त्यसैगरी, घर बहाल कर स्थानीय तहहरुले उठाउने गरेको भएपनि सरकारी कार्यालय र सरकारी स्वामित्वको सार्वजनिक संस्थानहरुले आन्तरिक राजश्व कार्यालयमा सो कर तिर्ने गरेका छन् । गैरसरकारी संस्था र निजी क्षेत्रले घर बहाल कर स्थानीय तहमा तिर्ने गरेका छन् । तर पुरानै लक्ष्य अनुसार घर बहाल कर संकलन गर्ने लक्ष्य निर्धारण गरिएकोले सो करको लक्ष्य पनि पुरा नभएको कार्यालय प्रमुख श्रेष्ठले बताए । उनले १२ करोड ५४ लाख ५९ हजार घर बहाल कर उठाउने लक्ष्य निर्धारण गरिएकोमा छ करोड ८९ लाख ५० हजार (५४.९६ प्रतिशत) राजश्व संकलन भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार