२९ बैशाख २०८१, शनिबार

बालविवाह मुक्त वडा घोषणाका लागि प्रतिवद्धता



लम्की । कैलालीको लम्कीचुहा नगरपालिकाको वडा नम्बर १ लाई बालविवाह मुक्त वडा घोषणा गर्ने जनप्रतनिधिहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । जनप्रतिनिधिहरुले विभिन्न सामाजिक संघसंस्था, अभिभावक, आम नागरिकको सहयोग र समन्वयमा वडालाई बालविवाह मुक्त घोषणा गरिने बताए ।

लम्कीमा तीन दिनदेखि सञ्चालन भएको “बाल विवाह विरुद्धको कानून कार्यान्वयनको अवस्था, चुनौति र स्थानीय सरकारको आगामी रणनीति” विषयक कार्यक्रमको समापनका अवसरमा शुक्रबार वडा नम्बर १ का जनप्रतिनिधिहरुले बालविवाह पूर्ण रुपमा नियन्त्रण गर्न सबैसंग आग्रह गरे ।

कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष जनकबहादुर बमले भने– सामाजिक संघसंस्थाहरुको पहल र अभियानका कारण बाल विवाह रोकथाममा सहयोग पुगेको छ ।

तीन दिनदेखि सञ्चालन भएको गोष्ठीका सहभागीहरुले लम्कीचुहा नगरपालिकालाई नै बालविवाह मुक्त नगर घोषणाका लागि पहल हुनुपर्नेमा एकमत व्यक्त गरे ।

कार्यक्रम दलित अधिकार मञ्च, नेपाल कैलालीको आयोजनामा भएको थियो ।

सो अवसरमा संस्थाका अध्यक्ष सावित्रा घिमिरिले संस्थाले दुई वर्षदेखि कैलालीका आठ वटा स्थानीय तहमा किशोरी सशक्तिकरण कार्यक्रममार्फत बालविवाह रोकथामका लागि प्रयास भइरहेको बताइन् ।

राष्ट्रिय दलित आयोगका पूर्व सदस्य रमा बादी, कार्यक्रममा वडा नम्बर ४ का वडा सदस्य धनिराम जैशी, अधिकारकर्मी धनराज विक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाका अनुसार लम्कीचुहाका वडा नम्बर १, ३, ४, ६ र ८ मा किशोरी सशक्तिकरण कार्यक्रम कार्यक्रम लागु भएको छ । प्रत्येक वडामा २० जना किशोरीको समूह सहित एकसय जना किशोरीहरुलाई बाल विवाह विरुद्धको अभियानमा संगठित गरिएको संस्थाका सामाजिक परिचालक मिरा चौधरीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार